Comments Add Comment

अमेरिकाको जस्तै निर्मम घटना भारतमा पनि, प्रहरी दमनको विरोध

२५ जेठ, काठमाडौं । जर्ज फ्लोयड नामका एक अश्वेत व्यक्तिको प्रहरी अधिकारीबाटै हत्या भएपछि अमेरिका यतिबेला अशान्त छ । फ्लोयडलाई प्रहरी अधिकारीले घाँटीमा घुँडा राखेर मारेका थिए, जुन भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ ।

सो घटनाको विरोधमा केवल अमेरिका मात्रै नभएर विश्वका अरू मुलुकहरूमा समेत प्रदर्शन चलिरहेको छ । अमानवीय हत्याको विरोधमा विश्व आक्रोशित भइरहेको बेलामा भारतमा पनि यस्तै किसिमको घटनाको भिडियो भाइरल बनेको छ ।

राजस्थान प्रदेशको जोधपुर जिल्लामा प्रहरीले एक व्यक्तिको घाँटीमा घुँडाले थिचेर घाइते बनाएको भिडियो सामाजिक सञ्जालमा भारइल भएको छ ।

सो भिडियोमा उक्त प्रहरीले एक व्यक्तिको गर्धनमा घुँडाले थिचेर कुटपिट समेत गरेको देखिन्छ । जोधपुरका प्रहरी कमिस्नर प्रफुल्ल कुमारले ड्युटीमा रहेका आफ्ना दुई प्रहरी अधिकारीहरू यो घटनामा संलग्न रहेको बताएका छन् । अहिले घटनामा संलग्न दुवै प्रहरीमाथि राजकार्यमा बाधा पुर्‍याएको विषयमा मुद्दा चलाइएको उनले जानकारी दिए ।

को हुन् प्रहरीद्वारा निर्मम ढंगले पिटिएका व्यक्ति ?

प्रहरीद्वारा निर्मम ढंगले पिटिएका व्यक्तिको नाम मुकेश प्रजापत हो । उनका पिता महादेव प्रजापतका अनुसार प्रहरीले नै उनलाई चौकीमा बोलाएको थियो । उनका अनुसार मुकेशसँग भेट्न जाँदा कपडामा रगत लतपतिएको र हात पनि फर्किएको थियो । तर उनले प्रहरीलाई अनुरोध गर्दा उनको एक्स रे समेत नगराएको मुकेशका पिताको भनाइ छ । अहिले उनलाई अस्पताल भर्ना गरिएको भए पनि परिवारसँग भेट्न नदिइएको महादेवको गुनासो छ । आफूहरूसँग खानेकुरासम्म नभएकोले केही गर्न नसकेको उनले सुनाए ।

विवाद के थियो ?

मुकेश बिहीबार मजदुरीका लागि घरबाट निस्किएका थिए । मास्क नलगाएको आरोपमा प्रहरीसँग उनको झगडा भएको भिडियो बाहिरिएको थियो । यद्यपि, भाइरल भएको भिडियोभन्दा पहिले प्रहरीले नै बनाएको भिडियोमा भने उनले मास्क लगाएको देखिन्छ ।

मुकेशका पिता भने ‘मास्क लगाएको भए पनि मुकेशसँग प्रहरीले पैसा मागिरहेका थिए ।’ त्यसपछि रिसाएका मुकेशले प्रहरीसँग विवाद गरेका थिए । त्यसपछि दुई प्रहरी मिलेर उनलाई कुटपिट गरेका थिए ।

मुकेशको घरमा उनकी पत्नी र तीन बालबच्चा छन् । मुकेशकी पत्नी एक होस्टेलमा खाना बनाउने काम गर्छिन् । उनको सबैभन्दा ठूलो छोरा ११ कक्षामा पढ्छन् र एक होटलमा काम पनि गर्छन् ।

मुकेशका छोरा ऋषिका अनुसार अहिले मुकेशको परिवारमा कुनै काम नभएको कारण आर्थिकस्थिति सही नभएकाले पत्नीको आग्रहमा मुकेश मजदुरीको लागि निस्किएका थिए ।

प्रहरी को हुन् ?

अमेरिकामा जस्तै एक व्यक्तिलाई भुइँमा लडाएर उनको गर्धनमा घुँडाले थिच्ने प्रहरी प्रतापनगर थानाका कन्स्टेबल हनुमान गोदारा हुन् । यस विषयमा गोदारासँगको कुराकानीमा उनले मुकेशले मास्क नलगाई आएकाले उनको फोटो लिने क्रममा उनले विवाद गरेको र आफूले भिडियो बनाउन खोज्दा मुकेशले मोबाइल खोसेको उनको भनाइ छ । गोदाराका अनुसार फोन फिर्ता लिने प्रयासको क्रममा मुकेश भुइँमा लडेको र अझै पनि फोन दिन इन्कार गरेपछि उक्त फोन उनको हातबाट छुटाउने क्रममा सो घटना भएको बताए । मुकेशले आफ्नो साथीको बर्दी च्यातिदिएको ती प्रहरीले आरोप लगाए । आफूलाई समेत आँखा फुटाइदिने धम्की दिएपछि यस्तो घटना घटेको गोदाराले बताए ।

‘मुकेशले पिताको पनि आँखा फुटाएका थिए’

प्रहरी चौकीका प्रमुख देवनग सोमकरणले मुकेशलाई अहिले न्यायिक हिरासतमा राखिएको र उनलाई १५ दिनको हिरासतमा राख्न अदालतसँग अनुमति मागिएको बताएका छन् । उनले मुकेशले यसअघि पनि आफ्नै पिताको आँखा फुटाइदिएका थिए, जसका कारण उनको पिताको एउटा आँखाको ज्योति सधैंका लागि गुमेको बताए । यद्यपि मुकेशका पिताले भने छोराले आफूमाथि आक्रमण गरेको अस्वीकार गरेका छन् ।

उनका अनुसार आठ महिनाअघि आफ्ना दुई छोराहरूको बीचमा भनाभन चलिरहँदा आफूले बीचमा छुट्याउन खोज्दा मुकेशको औंलाले आँखामा लागेको थियो । रिसमा उनले मुद्दा दर्ता गरे पनि पछि फिर्ता लिएको बताएका छन् ।

भिडियो भाइरल भएसँगै प्रहरीको कार्यप्रति धेरै प्रश्न उठेका छन् । साथै, मानिसहरूले यो घटनालाई अमेरिकाको प्रहरीको घटनासँग जोेड्न थालेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment