Comments Add Comment

हावार्डको अनुसन्धानले भन्छ-चीनमा कोरोना भाइरस अगस्टदेखि नै फैलिएको थियो

२७ जेठ, काठमाडौं । हावार्ड मेडिकल स्कुलको एक अनुसन्धानले कोरोना भाइरस चीनमा अगस्टदेखि नै फैलिन सुरु भएको पाइएको दाबी गरेको छ । अस्पताल भ्रमणको प्याटर्नको स्याटेलाइटको फोटो र सर्च इञ्जिनको डेटाको आधारमा उक्त अनुसन्धान गरिएको बताइएको छ ।

अनुसन्धानकर्ताले वुहानको अस्पतालमा पार्किङको हाइ रेजुलेसनको स्याटेलाइटको फोटोको प्रयोग गरेका थिए । साथै, सर्च इञ्जिनमा मानिसहरूले खोजेको रोगको लक्षणसम्बन्धी गरेको खोजीलाई आधार बनाइएको थियो । जसमा धेरैजसोले खोकी र पखालाको लक्षण भएको रोगको खोजी गरेका थिए ।

अनुसन्धानमा अस्पतालमा बढेको सवारी चाप र वुहानको सर्चइन्जिनमा यो रोगको लक्षणबारे सन् २०१९ को डिसेम्बरभन्दा पहिला नै खोजी सुरु भएको पाइएको थियो । यद्यपि वुहानको अस्पतालमा देखिएको चहलपहल र मानिसहरूले इन्टरनेटमा गरेको खोजी कोरोना भाइरससँग नै सम्बन्धित छ भन्ने कुरा भने आफूहरूले पुष्टि नगरेको अनुसन्धानकर्ताले बताएका छन् । आफूहरूको अध्ययनले वुहानको समुद्री खानाको बजारमा कोरोना भाइरस फेला पर्नुभन्दा पहिला नै यो भाइरस उत्पत्ति भइसकेको उनीहरूले बताएका छन् । अनुसन्धानले कोरोना भाइरस प्रयोगशालामा बनाइएको नभई प्राकृतिक रुपबाट आएको देखाएको छ ।

सन् २०१९ को अगस्टमा वुहानका अस्पतालमा सवारीको चाप उल्लेख्य रुपमा बढेको थियो । साथै, सोही महिना पखालाको बारेमा खोजी गर्नेको संख्यामा पनि अत्यधिक मात्रामा वृद्धि भएको थियो । यो संख्यामा कुनै पनि रुघाखोकीको मौसममा पनि खोजी भएको थिएन ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment