Comments Add Comment

समाजमा पुरुषका व्यथा !

घरेलु हिंसा (कसुर र सजाय) ऐन–२०६६ को दफा २ को खण्ड “क” मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनालाई बुझाउँछ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्‍याउने अन्य कार्यलाई समेत जनाउँछ भनेर घरेलु हिंसालाई परिभाषित गरिएको छ ।

यो परिभाषालाई हेर्दा घरेलु हिंसा महिलामाथि मात्र हुँदैन पुरुषमाथि पनि हुन सक्छ भन्ने संकेत कानुनले नै गरेको देखिन्छ । लैङ्गिक हिंसाका घटनालाई आमरुपमा त महिलामाथि हुने हिंसाको रुपमा बढी बुझ्ने गरेको पाइन्छ । महिलाहरू नै बढी पीडित हुने भएकोले यो बुझाइलाई सर्वथा गलत भन्न त मिल्दैन तर लिङ्गकै आधारमा गरिने हिंसाका कारण महिलाबाहेकका पनि पीडित हुने गरेका छन् ।

हामी विभेदरहित समाजको परिकल्पना गरिरहेका छौं । विभिन्नखाले विभेदमध्ये लैङ्गिक विभेद एउटा जटिल विभेद हो । हाम्रो समाजलाई नजिकबाट नियाल्ने हो भने पुरुष र महिला बीचको ठूलो विभेदको खाडल अझै पनि यथावत नै देखिन्छ । लिङ्गका आधारमा हुने हिंसाको चपेटामा सिङ्गो मुलुक परेको छ । यद्धपि तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषभन्दा महिला हिंसा बढी हुने गरेको छ । तर भएका पुरुष हिंसा पनि गुपचुपमै राखिन्छ सतहमा ल्याइँदैन ।

पितृसत्तात्मक धरातलबाट आएको हाम्रो समाजमा तुलनात्मक रुपमा पुरुषभन्दा महिला हिंसा बढी हुने गरेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने दिनहुँ बलात्कार र कुटपिटका घटनाहरू सुन्न पाउँछौं । तर पुरुषमाथि हुने गरेका घटनाहरू सुन्नमा आउँदैनन् । शारीरिक रुपमा महिला कमजोर हुने हुँदा महिलामाथि हुने हिंसा मानसिकको साथमा शारीरिक पीडा दिने खालका हुन्छन् भने पुरुषमाथि भएका हिंसा प्रायः मानसिक तनाव दिने खालका हुन्छन । महिलाले रोई कराई गरी आफूमा भएको हिंसाको खुलेर प्रतिवाद गर्न सक्छिन भने पुरुष स्वभावैले बलियो हुने र लोग्ने मान्छे भएर रुनुहुँदैन भन्ने सोचले गर्दापनि आफूमाथि परेको पीडा कुनै माध्यमबाट देखाउन सक्दैनन् । देखाउन नसक्ने पीडाले मानसिक रोगी बनाउँछ । अझ पुरुषमाथि हुने गरेका यस्ता हिंसाका घटनालाई खासै गम्भीरताका साथ लिएको देखिँदैन । आखिर हिंसा त हिंसा नै हो यसले महिला होस् या पुरुष पीडितलाई विक्षिप्त बनाएको हुन्छ ।

पितृसत्तात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चली आएको महिलाप्रतिको भेदभावपूर्ण व्यवहार नेपाली यथार्थ हो । यस्तो समाजमा पुरुष हिंसाको कुरा गर्दा अचम्म लाग्न सक्छ । एउटा पितृसत्तात्मक पुरुषप्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भनेर कसैले कल्पना समेत गर्नसक्दैन, तर हिंसा बढ्दै गएका छन् । यो मनगणन्ते कपोकल्पित नभई नेपाली समाजमा लुकेर रहेको एउटा तीतो यथार्थ हो । यो वास्तविकतालाई नकार्न सकिँदैन ।

महिलासँगै पुरुष पनि घरेलुहिंसाबाट पीडित हुन्छन् भन्ने विभिन्न समयमा भएका अध्ययनहरूले देखाएका छन् । पुरुष हिंसा पनि समाजमा बढिरहेको छ । तर प्रकाशमा आएको छैन वा ल्याउन चाहेका छैनन् । पीडित स्वयंले आफू पुरुष भएर पनि एउटी महिलाबाट अन्याय अत्याचार सहेर बस्नु परेकोमा आफैँलाई खेद हुने तथा परिवार, समाज र साथीभाइले के भन्लान् भन्ने संकोच र डरले गर्दा चुपचाप बस्ने गरेका छन् । पुरुष हिंसालाई बढावा दिनमा पुरुषमा रहेको पुरुषवादी सोचले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ ।

आफ्नो पुरुषार्थमै समाजले ठूलो प्रश्न चिह्न लगाइदेला कि वा नामर्दको उपमा पो दिने हो कि भन्ने डरले गर्दा एउटा पुरुष हिंसाबाट ग्रसित भएर बस्नु परेको अवस्था छ । कसैले उजुरी दिएमा त्यो केवल हाँसोको पात्र बन्छ । उसलाई विभिन्न उपमा दिएर खिल्ली उडाइन्छ । संविधान तथा कानुनले पनि महिला हिंसालाई मात्रै बढी महत्व दिएको पाइन्छ ।

नयाँ मुलुकी ऐनले महिलालाई मात्रै नभएर पुरुषलाई पनि सम्बन्धविच्छेदको हक प्रदान गरेको छ । हक प्रदानपश्चात केही समयमै सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन आउने पीडित पुरुषहरूको संख्या बढ्दै गएको छ । यसबाट प्रष्ट हुन्छ कि यहाँ पुरुषहरूबाट मात्रै महिलाहरू हिंसामा परेका छैनन्, पुरुषहरू पनि महिलाबाट प्रताडित भएका छन् ।

महिला सशक्तीकरणका लागि बनाइएका महिलामैत्री कानुनको गलत प्रयोग गर्ने महिलाहरूको संख्या बढ्दै गएको छ । कतिपय त आधा सम्पत्ति पाउने लोभले प्रेमको नाटक गरी बिहे गर्छन् र पछि सम्बन्धविच्छेद गरी सम्पत्तिको हक खोज्छन् । संविधानले दिएको महिलाको हकको दुरुपयोग गर्दै विवाहजस्तो पवित्र सामाजिक बन्धनलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गर्दै हिँड्ने महिलाहरू पनि देखिन्छन ।

पुरुष र स्त्रीसँगको मित्रवत् व्यवहार र प्रेमको इन्द्रेणी धमिलो हुँदै जान थालेको छ । यो परिस्थितिमा सुधार नआउने हो भने सामाजिक जीवनमा नै असर पर्न जाने देखिन्छ । महिला र पुरुषबीचको माया र विश्वासमा संकटको अवस्था आउनेछ र समाज झनै असुरक्षित हुनेछ । महिला पुरुष बराबरी बन्ने होडबाजीमा कतै महिलाहरू हिंसाको मामलामा बराबर हुन खोजेका त होइनन् ? प्रश्न उब्जेको छ । महिला हिंसाको मारमा केही अपवादबाहेक धेरैजसो चेतनास्तर कम भएका ग्रामीण, गरिब, निरक्षर आफ्नो हक अधिकारको विषयमा जानकार नभएका, पूर्णरुपमा श्रीमानसँग आश्रित महिलाहरू परेका हुन्छन् भने अधिकांश पुरुष हिंसाको मारमा चेतनशील, धनाढ्य, साक्षर र सक्षम परिवारका व्यक्तिहरू बढी परेका हुन्छन् ।

हामी सधैं घरमा आमाको आंशुको कुरा गर्छौ तर खेतको आलीमा कोदाली बिसाएर बुबा रोएको कुरा कहिले गर्दैनौं । कहिलै हामीले बुबालाई सहानुभूति पनि राखेनौं । आमाले भान्सामा मीठो पकाएको देख्यौं तर भान्साको जोहो कसरी भयो त्यसलाई बुझ्दैनौं । पुरुषले सधैं ५० डिग्रीको तापक्रममा उसिनेर घरमा पैसा पठाएका छन् र पत्नीलाई भनिरहेका छन् तिमीे दुःख नगर, तिमी कमजोर छौ, आफ्नो र बालबच्चाको ख्याल गर, तिमीलाई के चाहिएको छ, तिम्रो रहर के छ, म पूरा गर्छु तिमी आनन्दले बस । तर, विडम्बना केही महिलाहरू विदेशबाट पतिले कमाएर पठाएको पैसाले मोजमस्ती गर्ने र परपुरुषसँग सम्बन्ध बनाई आफ्ना घर बर्बाद बनाएका छन । परिवारलाई बिचल्ली बनाएका छन् । तर पनि महिलालाई सधैं बिचरी बनाउन छोडेनौं । यस्तै, हिंसाका कुराले पुरुषमाथि परेका कयौं व्यथा नलेखिने कथा बनेका छन् समाजमा ।

महिला र पुरुष एकै घरमा बस्ने, एकै समाजमा हुर्किने भएकाले एक अर्कासँग परस्पर, अन्योन्याश्रित सम्बन्ध छ । स्वभावैले मान्छे कसै न कसैमाथि शासन गर्न चाहन्छ । शासन कसमाथि गर्नेभन्दा जो आफ्नो नजिक छ, जो नभई आफ्नो अस्तित्व रहँदैन र जो आफूजस्तै छ, त्यसैमाथि शासन गर्ने हो । पुरुषले आदिकालदेखि विभिन्न तवरले शक्ति सञ्चय गर्‍यो र त्यही शक्तिको आडमा आजसम्म पनि महिलामाथि शासन गरिरहेको छ । समाज निर्माणको क्रममा धर्मसंस्कार संस्कृति रीतिथिति, भगवान्, पद र भाषाको निर्माण र विकास हुँदै गए । यी सबै पुरुष अनुकूल बने÷बनाइए । समाजका अनेकन नियम कानुन र धर्मको जालझेलका माध्यमबाट महिलामाथि पुरुषले शासन गर्दै आयो । यद्यपि त्यो शासनको स्वरुप भने समय र परिस्थितिअनुसार फरक फरक छ, ढाँचा र शैली फरक छ । अहिलेको समयमा सोच परिवर्तन भएको छ । मानिसको जीवनशैली फेरिएको छ त्यसै अनुरुप हिंसाका पक्ष फेरिएका छन् ।

प्रकृतिले सिर्जना गर्दा नै महिला र पुरुषको हिसाबमा मानिसको सिर्जना गरेको छ । अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिँदैन ।

हामी आफैँले दुःख निम्ताइरहेका छौं, गलत बाटो हामी हिँडिरहेका छौं, आफँैलाई खाडलमा राख्ने संस्कार, चलन, व्यवहार हामीले नै अँगालिरहेका छौं, रोजगारीका नाममा मृत्यु, बदनामी, रोग, बिछोड, रोजिरहेका छौं । पैसा कमाउने होडबाजीमा हामीले अपनत्व बिर्सेका छौं, माया ममता बिर्सेका छौं, अस्तित्व बिर्सेका छौं ।

यसरी राज्यले नै महिला हिंसाको विषयमा प्राथमिकता दिइरहँदा पुरुषमाथि हुने हिंसाको विषयमा समाज भने गौंण छ । महिलामाथि हिंसा भयो भने सुनिदिने निकाय थुप्रै छन् । तर पुरुषका विषयमा नत पुरुष खुलेर आउन सक्छन्, नत पुरुष अधिकारको विषयमा आवाज उठाउने त्यस्ता संघसंस्था नै छन् । नेपालमा पुरुष शारीरिक रुपमा भन्दा पनि मानसिक रुपमा महिलाबाट पीडित हुनेगरेको पाइएको छ ।

महिलाहरू सबै एकैनासका हुँदैनन्, न त पुरुषहरू नै एकनासका हुन्छन् । आजको समाजमा नैतिकताको खडेरी परेको छ । हिजोको दिनमा महिलाहरूलाई मात्र हिंसा हुन्छ भनेर भनिरहँदा आजको दिनमा पुरुषहरूले पनि आफूमाथि भएको हिंसाबारे समाजमा कुरा हुनुपर्ने आवाज उठाउँदै आएका छन् । पुरुष र महिलाका बीचमा पनि फरक विचार तथा चेतनाका धर्काहरू कोरिएका छन् । ती धर्काहरू मेटाउन हामीले कहिल्यै आवाज उठाएनौं । हाम्रो समाजको चेतनास्तर कति छ हामी आफैँ नापौं । आखिर समस्या कहाँ छ ? सोचाइमा ? नीतिमा या नियतमा ? चित्र या चरित्रमा ? बनेका कानुनी व्यवस्था र हकअधिकारका कुरालाई झरीमा घुम र घाममा छाता ओढेझैं आफ्ना आवश्यकता अनुकूलको व्याख्या नगरौं ।

(बन कृषि विकास बैङ्क बुटवल शाखाकी वरिष्ठ शाखा प्रवन्धक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment