+
+
Shares

काभ्रेमा जेनजी आन्दोलनका क्रममा भागेका ५२ जना कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते ९:२०

३ कात्तिक, काभ्रेपलाञ्चोक । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५२ जना फरार कैदी, थुनुवा तथा बालबिजाइँकर्ताहरू काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न १३ वटा मुद्दा शीर्षकका ५२ जना कैदी, थुनुवा तथा बालबिजाइँकर्ताहरु पक्राउ गरिएको जानाकारी दिए ।

उनका अनुसार पक्राउ परेका बाल बिजाइँकर्ताहरुलाई बाल सुधार गृह भक्तपुर र अन्यलाई जिल्ला कारागार काभ्रेपलाञ्चोकमा राखिएको छ ।

५२ जना मध्ये केन्द्रीय कारागारबाट फरार २४ जना, नख्खु कारागारबाट फरार १८ जना, कारागार कार्यालय सिन्धुलीबाट फरार ३ जना, झुम्का कारागार सुनसरीबाट फरार २ जना, डिल्लीबजार कारागारबाट फरार १ जना, बाल सुधार गृह भक्तपुरबाट फरार १ जना, नेपालगञ्ज बालसुधार गृहबाट फरार १ जना, मानव वेचविखन अनुसन्धान व्यूरोको हिरासतबाट फरार १ जना र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट फरार १ जना गरी ५२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ परेका मध्ये जबरजस्ती करणीका १४ जना, कर्तव्य ज्यानका १२ जना , लागू औषधका ७, चोरीका ४, सवारी ज्यानका ३, मानव वेचविखनका ३, अपहरण तथा शरीर बन्धक २ जना, ठगी २ जना, खोटा चलन १ जना, वन्यजन्तु चोरी पैठारी १, सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणका १ जना, अध्यागमन ऐन विरुद्धको कसूर १ जना ९विदेशी नागरिक०, जबरजस्ती करणी उद्योगमा १ जना गरी ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी शाहले जानकारी दिए ।

जेनजी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी सिन्धुपाल्चोकको इन्द्रावती–३ का ३५ वर्षीय रविन आचार्यलाई बनेपा ६ बुडोलबाट सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर पाँचखालबाट खटिएको टोलीले पक्राउ गरेको छ । काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा.प्र.००१ ज ३८६ नं को ईभी गाडीमा सवार उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विभिन्न कारागारबाट भाग्ने कैदीहरुमध्ये काभ्रेको मात्र ९० जना

गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।

कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो । सार्वजनिक सूची अनुसार जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारमा रहेका काभ्रे जिल्लाका मात्र ९० जना कैदी फरार भएका छन् ।

प्रहरीले सार्वजनिक गरेको फरार लिष्टमा काभ्रेको मात्र ९० जना देखिएका छन् । पालिकागत रुपमा सबै भन्दा धेरै भुम्लु गाउँपालिकाका फरार छन् ।

काभ्रेको भुम्लु गाउँपालिकाका १४, चौरीदेउराली गाउँपालिकाका १२, रोशी गाउँपालिकाका १०, पाँचखाल नगरपालिकाका ९, मण्डनदेउपुर नगरपालिकाका ८, महाभारत गाउँपालिका ७, नमोबुद्ध नगरपालिकाका ६, खानीखोला गाउँपालिकाका ६, धुलिखेल नगरपालिकाका ६, पनौती नगरपालिकाका ५, बनेपा नगरपालिकाका ४, बेथान्चोक गाउँपालिकाका र तेमाल गाउँपालिकाका २/२ जना कैदी फरार छन् ।

सार्वजनिक सूची अनुसार पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् । अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।

कारागार प्रशासनले भागेका कैदीहरु हालसम्म जेलमा नफर्केपछि नामावली सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?