Comments Add Comment

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा स्वर्ण जित्दा आफैँ ‘सरप्राइज्ड’ दावा

२६ जेठ काठमाडौं । अरू दिन बेलुका ९ बजे सुत्ने दावा शेर्पा गत शनिबार भने दिउँसै सुते । उनलाई पर्खाइ थियो, ‘कोभिड-१९ भर्चुअल इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ को ।

दुई दिनअघि नेपालका लक्ष्मण ऐरले उक्त च्याम्पियनसिपमा स्वर्ण जितिसकेका थिए । कोरोना भाइरस महामारीले विश्वभर त्रास फैलिरहेका बेला युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिका तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डले संयुक्त रुपमा च्याम्पियनसिप आयोजना गरेका थिए । यसमा तेक्वान्दोको पुम्से विधा समावेश थियो ।

कोरोनाभाइरस महामारीले गर्दा विश्वभर खेलकुद गतिवधि रोकिएको बेला तेक्वान्दोको पुमसे विधाको अनलाइन प्रतिस्पर्धा गरिएको हो । पछिल्लो भर्चुअल च्याम्पियनसिपमा दावाले पनि नाम रजिस्ट्रर गराएका थिए ।

अमेरिकामा रहेको मिनु कार्कीको सहयोग र नेपालबाट लक्ष्मण ऐरले व्यवस्थापन गरेपछि दावाको नाम दर्ता भएको थियो । शनिबार दावासहित नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै थिए ।

१८ वर्षीय दावाले अहिलेसम्म राष्ट्रिय प्रतियोगितामा भाग लिएका छैनन् । स्थानीय प्रतियोगिता मात्र खेलेका छन् । लकडाउनका कारण एसईई परीक्षा रोकिएर फुर्सदिलो बनेको मौकालाई उनले सदुपयोग गरे ।

शनिबारको खेलमा उनले कलर बेल्ट जुनियर क्याटेगोरीमा स्वर्ण जिते । सुरुमा सहभागिता जनाउन र अनुभव लिन नाम दर्ता गराएका दावा पछि च्याम्पियन नै भए ।

‘हामी त एकदमै अचम्भित भयौ‌ं । दावा आफैँ पनि अचम्मित थियो,’ दावासहित केही बच्चाहरूलाई राखेर मुस्कान सेवा नेपाल नामक संस्था सञ्चालन गरिरहेकी भवानी राई गुरुङले अनलाइनखबरसँग भनिन्, ‘सहभागिता नै ठूलो कुरा थियो, जितेपछि त खुसीको सीमा नै रहेन ।

मुस्कान सेवा नेपालकी भावना राई र दावा शेर्पा ।

भवानीका अनुसार प्रतियोगिताका लागि दावाले धेरै दिन तयारी गरेका थिएनन् । उनले जम्मा ३ दिन तयारी गरेका थिए । अमेरिकी समयमा खेल हुने भएकोले नेपालमा राति ११-१२ बज्थ्यो । त्यही कारण दावा शनिबार दिउँसै सुतेका थिए ।

‘मैले कति बजे खेल हुन्छ भनेर समय सोधें । मामुले राति ११ हुन्छ भनेपछि म चाँडै सुते,’ दावाले भने । मलाई ९ बजे नै निन्द्रा लाग्ने गर्थ्यो । मध्यरातमा खेल्नुपर्ने हुँदा राम्रो गर्न सकिँदैन कि जस्तो लागेको थियो । मभन्दा मामु नर्भस हुनुहुन्थ्यो,’ दावाले सुनाए ।

पहिलो पटक भर्चुअल गेममा भाग लिँदा जित्ने उद्देश्य उनको थिएन । प्रयास गरौं न भन्ने मात्र थियो । ९० सेकेण्ड खेल देखाएर उनी आफ्नो विधामा पहिलो भए । नेपालबाट ५० वर्षमुनि लक्ष्मणले अर्को स्वर्ण जितका थिए भने अर्को स्वर्ण दावाकै नाममा रह्यो ।

सुरुमा मिनु गुरुमार्फत दावाले यो प्रतियोगिताका बारेमा थाहा पाएका थिए । उनै मिनुले उनलाई भाग लिन प्रेरित गरेकी थिइन् ।
‘यो टुर्नामेन्टबारे मिनु गुरुले फोन गरेर भन्नुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन म पनि उत्साहित भएको थिएँ,’ दावाले भने ।

उनले सुरुमा पुम्से नम्बर ५ को अभ्यास गरेका थिए । तर के नमिलेको जस्तो भयो । पछि अर्को पुम्से इन्टरनेटबाट हेरेर २/३ दिन प्राक्टिस गरे । उनलाई भावनाले सहयोग गरिन् ।

९० सेकेण्डको लाइभ डेमोस्ट्रेसन देखाएपछि नतिजाको पर्खाइ थियो । अनलाइन प्रतियोगिता सकिएको १/२ मिनेटमा रिजल्ट घोषणा भयो । दावा विजेता भए । खुसीले उफ्रिए । उनीभन्दा धेरै खुसी भवानी थिइन् ।

‘मामुको हौसलाले खेलेँ र पहिलोपटक लाइभ इन्टरनेसनल तेक्वान्दो जितेँ,’ उनले गर्वसाथ सुनाए ।

इम्पेरियल वर्ल्ड स्कुलमा १० कक्षामा अध्ययनरत दावा एसईईको परीक्षाको पर्खाइमा छन् । भर्चुअल पुम्सेमा स्वर्ण जितेपछि अहिले उनको चर्चा बढेको छ । उनले मुस्कान सेवा नेपालको पनि इज्जत बढाएको भवानीले बताइन् ।

‘यहाँ भएका सबै बच्चाहरू केही न केही खेलिरहेका हुन्छन् । कोही क्रिकेट, कोही पौडी खेल्छन् । गाउँछन् नाच्छन् । एकदमै रमाइलो छ । हामी एउटै परिवार जस्तो भएका छौं‌,’ उनले भनिन् ।

तेक्वान्दो पुम्सेमा सफलता हात पारिसकेका दावा पढाइलाई महत्वपूर्ण मान्छन् ।

‘पढाइ पहिलो प्राथमिकता हो । तर, खेलकुदलाई पनि साथसाथै लिएर जाने हो,’ उनले आफ्नो योजना सुनाए । तर उनको भविष्यको लक्ष्य भने अलि फरक छ । पढाइ सकेर उनी बिजनेस म्यान बन्न चाहन्छन् ।

उनले गत वर्ष आर्ट कम्पिटिसनमा पनि जित हात पारेका थिए । स्कुलमै ४५ मिनेटको आर्ट क्लास हुन्थ्यो । त्यसमा उनले सिकेका थिए । त्यही बेला एउटा कम्पिटिसन हुने भयो । सबैले दावालाई पनि भाग लिन भने । उनले पनि ट्राइ गरौं न त भनेर भाग लिए । र, अन्तमा पहिलो नै भए । उपाधि जितेपछि उनी चीन घुमेर आए ।

आफू मात्र नभइ मुस्कान सेवा नेपालमा रहेका सबैजना प्रतिभावान र क्षमतवान रहेको दावाले सुनाए । यस संस्थामा अहिले देशका विभिन्न ठाउँबाट आएका १२ जना बच्चाहरु छन् । अहिले उनीहरुका लागि भवानीले भक्तपुरको सूर्यविनायकमा छुट्टै घर बनाइरहेकी छिन् । घर निर्माण सम्पन्न भएपछि अरु केही बच्चाहरु थप्ने उनको योजना छ ।

अहिले भवानी बच्चाहरुसँग निकै खुसी छन् । संस्था चलाउन परिवारसँगै विभिन्न डोनरहरुको साथ र सहयोग रहेको उनले बताइन् ।

सानैदेखि यस्तै संस्थामा हुर्किएका दावाको भने आफ्नो परिवारसँग सम्पर्क छैन । उनी ७ वर्षदेखि मुस्कान सेवा नेपालमा छन् । त्यसैले उनी भवानीलाई नै मामु भनेर बोलाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment