
२८ जेठ, चितवन । आईसीयूमा राखेको कोरोना संक्रमित बिरामी रेफर गरेको बारेमा जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको नारायणी सामुदायिक अस्पतालसँग स्पष्टिकरण माग गरेको छ ।
सो अस्पतालले भरतपुर ११ घर भएका ६८ बर्षका कोरोना संक्रमित वृद्धलाई सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा रेफर गरेको थियो । उनको मंगलबार विहान मृत्यु भएको थियो ।
प्रशासनले अस्पताललाई पत्र लेखी क्रिटिकल केयरमा राखेको बिरामीलाई रेफर गर्नुको कारण माग गरेको हो । प्रशासनको पत्रमा संक्रमित बिरामी कसको सहमति र आवश्यकतामा रेफर गरिएको हो लिखित जवाफ पेश गर्न भनिएको छ । पत्रमा बिरामीको रिफर गर्दाको अवस्था के थियो ? आवश्यकता के प¥यो, कुन तहको व्यक्तिको स्वीकृति र अनुमतिमा रिफर गरिएको हो स्पष्ट रुपमा जानकारी गराउन भनिएको छ ।
भरतपुर अस्पतालमा रेफर गर्दा स्थानीय प्रशासनको स्वीकृति नलिई रिफर गरिएको भन्दैं प्रशासनले भरतपुर अस्पतालमा रेफर गरेर ल्याउने अनुमति कसले दिएको हो भन्ने प्रश्न समेत प्रशासनले गरेको छ ।
पत्रमा नारायणी सामुदायिक अस्पतालमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका लागि सुरक्षाका लागि के कस्तो प्रबन्ध र योजना बनेको छ सो बारेमा पनि लिखित विवरण पेश गर्न भनिएको छ ।
अस्पतालमा कार्यरत चिकित्सकलाई नै कोरोना संक्रमण देखिएपछि प्रशासनले स्वास्थ्यकर्मीको सुरक्षामा पनि चासो राखेको हो । साथै पत्रमा स्थानीय प्रशासन र सरकारसँग अस्पतालले गरेका अपेक्षाका बारेमा समेत खुलाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।
यता, नारायणी सामुदायिक अस्पतालले भने सरकारकै निर्देशन अनुसार बिरामीलाई सरकारी अस्पतालमा रेफर गरेको जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गरेर सरकारले संक्रमित बिरामीलाई लेभल १ र २ तोकिएका अस्पतालमा रेफर गर्नु भन्ने निर्देशनअनुसार लेभल टु को भरतपुर अस्पतालमा रेफर गरेको प्रष्टीकरण दिएको छ ।
प्रतिक्रिया 4