Comments Add Comment

५८ प्रतिशत औद्योगिक श्रमिकले वैशाखको तलब पाएनन्

२८ जेठ, काठमाडौं । औपचारिक क्षेत्रका हजारौं श्रमिकमध्ये ५८ प्रतिशतले वैशाख महिनामा पारिश्रमिक नपाएको एक सर्वेक्षणले देखाएको छ। समग्र उद्योग ट्रेड युनियन नेपालले गरेको अध्ययनमा सुरु भएका ४२ प्रतिशत उद्योगले मात्रै श्रमिकको नियमित पारिश्रमिक दिएको देखिएको छ।

औपचारिक क्षेत्रका श्रमिकहरूमा आंशिक पारिश्रमिक पाउने ६.७५ प्रतिशत छन् । ५/८ हजार पेस्की पाउनेको संख्या २६.५७ प्रतिशत छन् । वैशाख महिनामा कुनै पनि राहत र पारिश्रमिक नपाउनेको संख्या २४.३२ प्रतिशत छ ।

प्रदेश नं. १ मा ५७.५३ प्रतिशत, प्रदेश नं. २ मा ६० प्रतिशत, वागमती प्रदेशमा ५४.४२ प्रतिशत, गण्डकी प्रदेशमा ४५.४५ प्रतिशत र प्रदेश नं. ५ मा ८० प्रतिशत श्रमिकले वैशाख महिनामा पारिश्रमिक र राहत दुवैबाट बिमुख हुनु परेको सर्वेक्षणको निष्कर्ष छ।

सरकारले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकमा वैशाख महिनामा आधा पारिश्रमिक दिन परिपत्र गरेको थियो । वैशाख महिना सञ्चालनमा रहेका उद्योगले पूरै पारिश्रमिक दिन र आंशिक वा बन्द उद्योगले आधा पारिश्रमिक दिन सरकार मातहातका श्रम तथा रोजगार कार्यालयले उद्योग वा प्रतिष्ठानमा परिपत्र गरे तापनि नेपालका रोजगारदाताहरूले राज्यलाई नटेरी रहेको अवस्था अध्ययनको क्रममा देखिएको छ ।

जसले गर्दा यो महामारी र भोकसँग जुध्न सक्ने आत्मबल नेपाली श्रमिकको कमजोर हुन पुगेको समग्र उद्योग ट्रेड युनियन नेपालले बताएको छ।

सरकारले सञ्चालनमा रहेका आयोजना र उद्योगमा कामदारको सुरक्षाका लागि विभिन्न प्रावधान राखिए पनि त्यो मिचिएको अध्ययनको निष्कर्ष छ । अफिस क्वारेन्टिन, सामाजिक दुरी, सुरक्षात्मक उपकरणलगायतको व्यवस्था गर्न भनिए पनि त्यस्तो विधि र प्रक्रिया अवलम्बन नगरिएको ठहर समग्र उद्योग ट्रेड युनियन नेपालको छ ।

सर्वेक्षणअनुसार सरकारले निर्देश गरेको स्वास्थ्य मापदण्ड लागु गर्ने सन्दर्भमा लकडाउनमा सञ्चालित उद्योगहरूमध्ये ५.८५ प्रतिशत उद्योगले मात्र क्वारेन्टिनको व्यवस्था गरेको छ ।

अन्य ९४ प्रतिशत उद्योगले क्वारेन्टिनविना नै उच्च जोखिममा श्रमिक काम गर्न बाध्य रहेको पाइएको छ । सामान्य स्वास्थ्य सामग्रीमा मास्क, सेनिटाइजर र साबुनपानीको प्रवन्ध ५१.३५ प्रतिशत उद्योगले मात्र गरेको देखिए पनि ज्वरो नाप्ने मेसिन प्रयोग नगन्य उद्योगले मात्र गरेको देखिन्छ ।

सरकारले यो महामारीविरुद्ध अग्रभागमा क्रियाशील डाक्टर/नर्स, प्रहरी र सफाइकर्मीलाई प्रोत्साहनको व्यवस्था गरेको छ । तर उच्च जोखिममा काम गर्ने औपचारिक क्षेत्रका ६.५७ प्रतिशत श्रमिकले मात्र प्रोत्साहन भत्ता पाएका छन् ।

‘अहिले पनि ९३ श्रमिकले काम गरे पनि श्रमको उचित मूल्य पाउन सकेका छैनन् । उनीहरूले काममा आउने-जाने क्रममा प्रहरीहरूबाट धरपकड, कुटपिट र अनेक हैरानी ब्यहोर्नु परेको छ। जसले गर्दा १८ प्रतिशत श्रमिक प्रहरी/प्रशासनबाट सन्तुष्ट हुन देखिएका छन् ।

यसअघि समग्र उद्योग ट्रेड युनियन नेपालले गरेको अध्ययनमा चैत महिनामा औपचारिक श्रम क्षेत्रको ७० प्रतिशत उद्योगले पारिश्रमिक नदिएको देखिएको थियो ।

सर्वेअनुसार देशभरिमा ३८.२८ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा छन् भने वैशाख महिनामा २१.१७ प्रतिशत उद्योगहरू आंशिक रुपमा चलेका छन् । यो अवधिमा बन्द रहेका उद्योग को संख्या ४०.५४ प्रतिशत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment