Comments Add Comment

पाटन अस्पतालमा चोरी गरेको अभियोगमा डाक्टर पक्राउ

२८ जेठ, काठमाडौं । प्रहरीले चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् ।

महानगरीय प्रहरी परिसर, जावलाखेलले चोरीमा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा म्याद थपेर विस्तृत अनुसन्धान थालिने अनलाइनखबरलाई बताए ।

उनले भने, ‘पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन हराएको सूचना थियो, त्यसैमा उहाँहरुको संलग्नता देखिएको हो ।’

बानेश्वरबाट चोरिएको सामान बरामद

एसएसपी राईका अनुसार १७ जेठमा बिहान साढे ८ बजे अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट भन्दै दुवै जना अस्पतालमा छिरेका थिए ।

आईसीयू कक्षमा केही नर्स पनि थिए । त्यतिवेला उनीहरुले पोर्टेबल अल्ट्रासाउण्ड मेसिन हेरेर जस्तो गरे । तर, कहीवेरमै नर्सको आँखा छलेर बाहिर भाग्न सफल भए ।

लगत्तै अस्पताल प्रशासनले ललितपुर प्रहरीमा घटनाबारे जानकारी दिएको थियो ।

अस्पतालमा क्लोज सर्किट (सीसी) क्यामरा नहुँदा प्रहरीलाई अनुसन्धानमा अफ्ठ्यारो परेको थियो । यद्यपि, महिलाले दिएको हुलियाका आधारमा खोजी गर्ने क्रममा प्रहरी दुई स्वास्थ्यकर्मीसम्म पुगेको राईले अनलाइनखबरलाई बताए ।

उनका अनुसार बानेश्वरमा एक जना साथीको कोठामा उनीहरुले उपकरण लुकाएको पाइएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरुले वर्दिवासमा रहेको आफ्नो पोलिक्लिनिकमा प्रयोगका लागि उपकरण लगेको बताएको प्रहरी दाबी छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment