२९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ललित कृष्ण श्रेष्ठको स्मृतिमा गर्दै आएको यु-१८ युवा फुटबल प्रतियोगितालाई राष्ट्रियस्तरमा आयोजना गरिने जनाएको छ ।
श्रेष्ठको पाँचौ स्मृति दिवसको अवसरमा बिहीबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिले कोरोनाभाइरस महामारीको कारण स्थिति असहज भएकोले प्रतियोगिता आयोजना गर्न असहज भएको परिस्थिति सहज पश्चात गरिने बताएका हुन् ।
‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ रोगको संक्रमणले गर्दा असहज परिस्थिति सिर्जना भै समयमा नै प्रतियोगिता आयोजना गर्न असमर्थ भएकोले परिस्थिति सहज भए पश्चात प्रतियोगितालाई अझै व्यवस्थित र व्यापक रुपले राष्ट्रियस्तरमा नै ललित स्मृति युवा फुटबल प्रतियोगितालाई सञ्चालन गर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले व्यक्त गरे,’ एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै एन्फा कम्प्लेक्समा रहेको स्वर्गीय श्रेष्ठको अर्धकदका प्रतिमालाई आगामी वर्ष स्मृति दिवसको दिन ढलोटको प्रतिमा बनाई स्थापना गर्ने योजना रहेको एन्फाले जनाएको छ ।
एन्फाले श्रेष्ठको स्मृतिको अवसरमा बिहीबार एन्फा कम्प्लेक्समा श्रद्धान्जली कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पासहित पदाधिकारिहरु थ्री स्टार क्लबका कार्याबहाक अध्यक्ष अरुणमान जोशीसहित पदाधिकारीहरु उपस्थित थिए ।
एन्फा सहमहासचिवसमेत रहेका जोशीले स्वर्गीय श्रेष्ठले नेपाली फुटबलको व्यवसायिक विकास र विस्तारमा योगदान पुर्याएको विषयमा चर्चा गरेका थिए ।
एन्फाका कार्याबहाक अध्यक्ष तथा थ्री स्टारका अध्यक्ष रहेका श्रेष्ठको २०७२ सालमा घरमै काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया 4