Comments Add Comment

प्रवासी नेपालीको प्रश्न : सरकारले उद्धार गर्न खोजेको हो कि व्यापार ?

३० जेठ, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीहरुका लागि  महंगो भाडादर सार्वजनिक गरेपछि त्यसो चर्को विरोध भएको छ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारले तोकेको भाडादरले मर्माहत बनाएको प्रवासी नेपालीहरुको गुनासो छ ।

विदेशमा अनेकन सास्ती भागेर उद्धारको प्रतिक्षा गरिरहेका धेरैले सरकारले तोकेको भाडा तिर्न नसकिने बताएका छन् ।

कामबाट निकालिएका, तबल नपाएका, भिसा अवधि सकिएर अवैध हैसियतमा रहेका, घरमा आफन्तको मृत्युपछि काजकिरियामा फर्किनुपरेका, गर्भवती, सुत्केरी लगायतकालाई सरकारले तुरुन्तै टिकट काट्न भनेको छ ।

‘उद्धार’ नाममा दिइएका उडानको भाडादर भने नियमित उडानको भन्दा चारगुणासम्म महंगो तोकिएको छ । राष्ट्रिय ध्वजाबाहक विमानलाई प्रयोग गरेर गर्न लागिएका उडानमा पनि चर्को असुलीको तयारी छ । पैसा तिर्न नसक्नेलाई नल्याउने गरी नै दूतावासहरुले सूचना जारी गरेका छन् । प्राथमिकताको सूचीमा परेकाहरुले तोकिएको दिनभित्र तोकिएको मूल्य तिरेर टिकट नकाटे अरुलाई नै मौका दिने सूचनाहरुमा उल्लेख छ  ।

तर, प्राथमिकताको सूचीसमा परेकहारु नै सरकाकरो तोकेकाो भाडादर तिर्न नसक्ने अडानमा छन् । यस्तो अवस्थामा सरकारले तोकिएको दिनमा उडान गर्न नसक्ने अवस्था सिर्जना हुनसक्ने देखिएको दूतावासका अधिकारीहरु बताउँछन् ।

सरकारले समस्यमा परेपनि टिकट नभएकालाई नल्याउने स्पष्ट निर्देशन दिएको यूएईस्थित दूतावासका एक अधिकारीले बताए । सरकारको यस्तो शैलीलको विदेशमा नेपाल फर्किन प्रतिक्षा रहेकाहरुले विरोध गरिरहेका छन् ।

उनीहरुले सरकारसँग सयौं प्रश्नहरु तेर्साएका छन् । नियमितभन्दा निकै महंगो भाडादर तोक्नुलाई उनीहरुले भ्रष्टाचार भनेका छन् । सरकारको निर्णयले दुःखमा परेकाहरु उतै मर्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

विदेशबाट टिकटको दरविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउनेहरुको एउटा साझा प्रश्न छ,’सरकारले उद्धार गर्न खोजेको हो कि व्यापार ?’

लुटन खोजेको हो ?

-पवन ढकाल, मलेसिया

६/७ सय रिंगेटको टिकेटलाई २२ रिंगेट तिर्नुपर्ने भयो । हामी यत्रो महँगो टिकट काटेर जानू पर्ने भनिएको छ । हामी आफ्नै जबर्जस्ती अनि रहरले हामी जान लागेको भन्ने ठानेको पो हो कि ? हामी समस्यामा परेर आफ्नो देश जान खोजेका हौं ।

नेपाल सरकारले उद्धार गर्न लागेको हो कि लुट्न ? सरकारले हामीलाई नेपाल फर्काउँछु भनेर लुट्न खोजेको हो ? के हामीलाई ब्यापारको साधन बनाउन लागेको हो ?

उद्धार कि ब्यापार ?

-ईश्वर गिरी, मलेसिया


टिकटको मूल्य धेरै नै बढी भयो, कोरोनाले गरेर मलेसियामा अबस्थित प्रायः जसो कम्पनीहरु बन्द भएको छन् । खुलेको भएता पनि उचित तनखा नदिएको अवस्थामा छन् ।

अब भन्नुस्, यस्तो अवस्थामा २२ रिंगेट कसरी जुटाउन सकिन्छ र ? म दोधारमा परेँ यो नेपाल सरकारले उद्धार गर्न खोजेको हो कि ब्यापार ?

मर्नु न बाँच्नु बनाए

-प्रशान थुलुङ, मलेसिया

हाम्रो यस्तो बिजोग अवस्था छ । नेपाल सरकारले ८/९सय मलेसिया रिङगेट टिकटलाई २२२० रिंगेट भनेको छ । यो धेरै दुःखको कुरा भयो, हामीलाई कामबाट पनि निकालिएको छ ।

यस्तो अवस्थामा हामीलाई लुट्न खोजेर मर्नु न बाँच्नु बनाएका छन् । पछिका दिनमा नेपाल एयरलायन्स र हिमाल एयरलाइन्सको विमानलाई कहिले पनि टिकट नलिउँ । नेपाल चलेको नै हामीले रिमिटेन्स पठाएर हो ।

किन यति निर्दयी ?

-उमेश परियार, कुवेत

समस्या परेको बेला सरकारले जनतालाई हेर्ने होकि लुट्ने हो ? आज हामी कोहि पनि तोकिएको भाडादर असुल गर्ने अवस्थामा छैनौं । आफैले अति जटिल समस्या हरुको सामना गरिरहनु परेको छ भने घरदेखि पैसा मगाउने कुरै भएन ।

उल्टै यतैको आस गरेर बसेको परिवारलाई कुन मुखले पैसा पठाउन भन्नु । खै आज सरकार किन यति निर्दयी भएको हो ? हामीलाई भाडामा यति धेरै ठगी नगरियोस् । अहिले नागरिकसँग उठाएर खाने हैन, खुवाउने बेला हो चेतना होस् ।

ऋण माथि ऋण थुपार्नु ?

-केवल थापा, कुवेत

मासिक ६०-७० डिनार कमाइ गर्ने म , त्यो पनि लगातार ३ महिनादेखि कम्पनीले टर्मिनेट गरेको छ । सरकारको आशा गरी बसेका सयौं हामी गरिब दाजुभाइले यत्रो भाडा कहाँबाट ल्याएर तिर्ने अनि घर जाने ?

बरु घर जाँदिनँ, म जुन दिन मेरो सरकारले तोकिएको शुल्क तिर्न सक्ने हुन्छु तब जान्छु । गरिब मान्छेलाई ऋण माथि ऋण थुपारेर कति गरिबलाई जिउँदै मार्ने योजना बनाउँदैछ सरकार ? तत्काल यो प्लेन भाडा सकिन्छ निःशुल्क गर्नुस्, हैन भने हाल तोकिएको भाडामा ६० प्रतिशत घटाउनुस् ।

भाडा तिर्न नसक्ने विदेशमै मर्ने हो ?

-प्रयाङ्क भण्डारी, कुवेत

यो तोकिएको भाडा तिर्न नसक्ने विदेशमै मर्ने हो सरकार ? अप्ठ्यारोमा परेकाहरूले यती अचाक्ली महंगो भाडा तिर्न सक्लान् ? जसले भोक टार्न मात्रै पनि विभिन्न संघ सस्था र एम्बेसीको सहयोग माग्नुपरिरहेको छ ।

दूतावासले एकमानो चामल दिएको छैन यहाँ । त्यत्रो पैसा भएको भए यहिँ बसेर खान्थ्यौं । सामान्य भएपछि नेपाल जान्थ्यौं, खानैको समस्या भएर पो हार गुहार गरेको हो । भाडादर यति महंगो कहिल्यै तिरेको मात्रै होइन, सुनेको पनि थिएनौं । अत्याचार नगर सरकार ।

कल्याणकारी कोषको पैसा कहिले काम आउँछ ?

-सुजन घिमिरे, बहराइन

कम्पनीले हातमा थमाइसकेको टिकट काम नलाग्ने भयो । अब घर फर्किन्छु भन्यो भने अपराध नै गरेजस्तो गरी चर्को मोलको टिकट काट्नुपर्ने रे । चार्टर्ड उडान नै भए पनि भाडा डेढ-२ गुणासम्म महंगो हुन्छ । तर, यहाँ त ४ गुणा महंगो टिकट किन भनेर ‘खाए खा नखाए घिच’ भनेजस्तो व्यवहार गरियो ।

हामीले विदेश आउने बेलामा जम्मा गरेको कल्याणकारी कोषको पैसा कहिले काम आउने हो ? विदेशी भूमिमा रोग र भोकसँग लडिरहेका नेपालीलाई सम्झेर अलिकति पनि दया लाग्दैन सरकार ?

देशले केही गर्ला भनेर ३ महिना कुरिसकेका हामीलाई प्रयोग गरेर तिम्रो घरमा करोडको गलैंचा बिछ्याउने हो कि सुनको धुरी हाल्ने हो ? अस्ति संसदतिर भनेजस्तो भयो, सरकारको यस्तो काम गराइ देखेर त ‘लाज’लाई पनि ‘लाज’ भयो होला ।

घाउमा मलम लगाएको हो या नुन दलेको ?

-भद्र घर्ती, साउदी अरेबिया

सरकार भन्छ, विदेशी भूमिमा अलपत्र परेकालाई उद्धार गर्दैछौं । उद्धार गर्ने तरिका यही हो त ? लकडाउन सुरु भएदेखि रोजगारदाता कम्पनीहरुले धेरैलाई बेतलबी बिदामा राखेका छन् ।

बेखर्ची भएर बसिरहेका छन् यो आशामा कि नेपाल सरकारले हाम्रो उद्धार गर्छ भनेर । २/३ महिनादेखि बिनातलब अलपत्र परेकालाई सरकारले कुनखालको उद्धार गर्दैछ ? यो उद्धार हो या ब्यापार ? सरकारले पिीडतहरुको घाउमा मलम लगाएको हो या नुन दलेको हो ? सरकार चलाउनेहरुले मेरो भ्रम मेटाई दिनुहोला ।

दुःख नदेखेको कि नाटक गरेको ?

-सरिन ख्युङ्वा तामाङ, साउदी अरेबिया

साउदीमा नेपाली श्रमजीवीहरुको अवस्था कस्तो छ भन्ने कुराको हेक्का दूतावास साउदीलाई किन भएन ? भएर बुझ पचाएको हो कि ? बल्ल नेपाल सरकारले कमाउने समय पायो भनेर उद्धारको नाउँमा शोषण गर्न खोजेजजस्तो देखियो ।

कम्पनीहरुले निकालेकादेखि लिएर अकमा सकिएर अलपत्र परेका श्रमिक युवाहरूले खाना नपाएर एनआरएनए साउदीले रासन वितरण गरेर हिडिँरहेको छ । यो कुरा साउदी दूतावास देखेन कि निदाएको नाटक गरेको ?

योबेला मानवता नभएको र निर्लज्ज सरकारले त देखेन-देखेन, दूतावासले त्यहाँको युवाहरुको बारेमा राम्रोसँग बि्रफिङ गर्नुपर्ने हो ।

ब्रम्हलुट नमच्चाओस्

-बिरस कटुवाल, साउदी अरेबिया

खबरदार म बोल्छु । जोसँग पैसा छैन, काम छैन, कम्पनीले तलब नदिई रूम बाट निकल्देको छ, जो बिरामी भएर बर्षौंदेखि हस्पिटलमा कुजिएर बसेका छन्, उनीहरूको के हालत होला सरकार ? जसरी चीनाट नेपाली विद्यार्थीलाई नेपाल ल्याएको थियो, त्यसरी नै खाडीबाट पनि उद्धार होस् ।

उद्धारका नाममा ब्रम्हलुट नमच्चायोस् । हिजो त्यहीँ बाहिर भएका जनताले रेमिट्यान्स पठाउँदा तपाईंहरुलाई भ्रष्टाचार गर्न सहज थियो । त्यही देशका जनता घर फर्किंदा महंगो मूल्यमा टिकट किनेर जानुपर्ने ?

फर्किंदा पनि बेच्नुपर्ने घर खेत बेचौं ?

-बलवीर घर्ती, साउदी अरेबिया

यसरी पैसा उठाएर मात्रै फर्काउने भए किन तीन महिना अल्झाएको ? २८ सय रियालको कुरा छौं, यहाँ हामीसँग २८ रियाल रियल पनि छैन । साबुन र मञ्जन त मागेर चलाउनुपरेको छ ।

विदेश आउँदा नि घर-खेत बेचियो, अब फर्किंदा पनि बेच्नुपर्ने ? अनि नेपाल पुगेपछि कसले, कहाँ आन्दोलन गरेको छ, त्यहाँ खान पाइन्छ भन्दै हिँड्ने हो सरकार ?

लुट गर्ने तहसम्म नपुगेको भए हुने !

-रवीन थुलुङ, साउदी अरेबिया

उद्धार गरिने भनेर हुईया ठोकेको थियो निकम्मा सरकारले । साउदी अरबको मात्र कुरा गर्ने हो भने यहाँ कोरोना भाइरसका कारण साना कम्पनीहरु बन्द भइसकेका छन् भने ठूला कम्पनीहरु पनि कामदार कटौतीका क्रममा छन् ।

यो विषम परिस्थितिमा आज हजारौं नेपाली श्रमिकहरु रोजगारविहीन भएर बिचल्ली परेका छन् । दैनिक गुजारा गर्न पनि अरुहरुसँग हात थाप्नु परिरहेको अबस्था छ । कसरी उनीहरु यति महँगो टिकट खरिद गरि स्वदेश र्फकन्छन ?

हो, नियमित उडान हुन सक्ने स्थिति छैन । तर, पनि सरकारले केही सहुलियत दिनु त सकिन्छ नि । लुट गर्ने तहसम्म सरकार नपुगेको भए हुने थियो ।

नाटक बन्द गर हैन भने विदेशमै मर्न देउ

-प्रकाश संग्रौंला, साउदी अरेबिया

यस्तो कठिन समयमा कम्पनीमा कामै छैन । पैसा छैन । यस्तो अवथामा आफ्नो ज्यान बचाएर आफ्नो परिवारसँग बसेर एक छाक खाने मौका दिलाइदेउ सरकार । हामी मृत्युसँग लड्दै गर्दा यस्तो मरुभूमिमा कसरी त्यत्रो पैसा तिरेर आउन सक्छौं ?

यो कस्तो किसिमको उद्धार हो ? टिकटको ७०-८० हजार कसले दिन सक्छ ? पैसा नभएर खान नपाएको अवस्था छ । कोरेन्टाइन लगायत यातायातको खर्च पनि आफैंले तिर्नुपर्छ । त्यति धेरै पैसा तिर्नसक्ने हैसियत भए किन उद्धारको गुहार माग्थे होला ।

बरु यो भन्दा त केही दिनको नियमित उडान सुचारु गरिदिएको भए टिकट पनि सस्तो हुने थियो । दुख परेका र नाम टिपाएका सस्तोमा र्फकन पाउने थिए । होइन भने नाटक बन्द गर, विदेशमै मर्न देउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment