Comments Add Comment

भैरहवामा अस्ट्रेलियन स्याउ फलाउने प्रयास

३१ जेठ, बुटवल । स्याउ खेती भन्ने वित्तिकै हिमाली ठाउँ चाहिन्छ भन्ने धेरैको धारणा छ । तर ४५ डिग्री तापक्रमको गर्मी हुने तराईको फाँटमा पनि स्याउ खेती सफल हुन्छ भन्ने प्रमाणित गरेका छन् भैरहवाका आशा गुरुङले ।

भैरहवा पश्चिम भुजौली गाउँमा रहेको गुरुङको लुम्बिनी अर्गानिक फर्म एण्ड रिसर्च सेन्टरमा गत वर्ष लगाइएको अष्ट्रेलियन नानो जातको स्याउ फल्न थालेको छ । ७ बिघा जग्गामा तीनवटा ब्लक (खण्ड) मा आधुनिक प्रविधि प्रयोग गरेर मल्टी फार्मिङ गरेका गुरुङले तीन बिघाको एउटा ब्लकमा स्याउसहितका २८ थरि फलफूल खेती गरेका छन् । जसमध्ये अष्ट्रेलियन जातको नानो स्याउका ६ सय विरुवा छन् ।

यो ४८ डिग्री तापक्रम हुने ठाउँमा पनि फल लाग्ने प्रजातिको स्याउ भएकाले संभवतः तराई क्षेत्रमा नेपालमै पहिलोपटक जोखिम मोलेर व्यवसायिक खेती गरेको गुरुङले बताए । बिरुवा रोपेको दोस्रो वर्षमै स्याउ फल्ने प्रमाणित भएपछि यही वर्ष पुषसम्म ५ हजार बिरुवा रोप्ने उनको तयारी छ ।

पक्लिहवा माविको जग्गा २० वर्षका लागि लिजमा लिएर हालसम्म दुई करोड लगानी गरेका उनको फार्मको एउटा ब्लकमा २१ थरि तरकारीको खेती छ

अरु स्याउको सिजन सकिएपछि फल्ने प्रजातिको भएकाले बजारको समस्या नहुने गुरुङ बताउंछन् । ‘अरु जातको स्याउ असोज महिनाबाट फल्न शुरु हुन्छन्, तर यो स्याउ भने पुसको तेश्रो साताबाट फल्न शुरु भई बैसाखसम्म उत्पादन दिन्छ’–गुरुङ भन्छन्–‘फल लाग्न थालेको अर्को वर्ष प्रतिबिरुवा २५ केजी र त्यसपछिका वर्षहरुमा सय केजी तौल बराबरको उत्पादन दिन्छ ।’

आरु र स्याउलाई कलमी गरी यो प्रजातिको स्याउको बिरुवा तयार भएको र स्याउलगायत फार्मका सबै उत्पादन अर्गानिक हुने उनले बताए । जर्मनीमा रोजगारमा रहँदा गर्मी मौसमको ठाउँमा पनि स्याउ र स्ट्रबेरी खेती गर्न सकिने देखेका उनले दुई दशकपछि आफ्नै थलोमा देखेको कुरा व्यवहारमा उतारेको स्मरण गर्छन् ।

प्रति गोटा १७ सय रुपैयाँ लागतमा आफूले स्याउको बिरुवा आयात गरेको र खाल्डो खन्न, मल र मजदुर खर्च समेत गर्दा प्रतिबिरुवा करिब २ हजार रुपैयाँका दरले लगानी भएको उनले सुनाए । तर, धेरै परिमाणमा खेती गर्दा लागत सस्तो पर्न जाने उनले बताए । भविष्यमा बिरुवासमेत तयार गरी बिक्री गर्ने योजना रहेको बताए । अष्ट्रेलियन नानो स्याउको बोट बढीमा ७ फुट उचाईको मात्र हुने र त्यो भन्दा अग्लो हुनबाट रोकिने उनले बताए ।

जर्मनीको हेम्बर्गमा तीन वर्ष रोजगारी गरेर फर्किएका आशाले नेपालमै बसेर कृषि क्षेत्रमा केही नयाँ काम गर्नुपर्छ भन्ने लागेर कृषिमा लगानी गरेको बताउँछन् ।

पक्लिहवा माविको जग्गा २० वर्षका लागि लिजमा लिएर हालसम्म दुई करोड लगानी गरेका उनको फार्मको एउटा ब्लकमा २१ थरि तरकारीको खेती छ । गुरुङको फार्मलाई प्रदेश ५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १२ लाख ५० हजार र सिद्धार्थनगर नगरपालिकाले २ लाख ५० हजार अनुदान दिएका छन् ।

गुरुङसँगै फार्ममा रामप्रसाद खनालको पनि लगानी छ । तर फार्मको नेतृत्व, व्यवस्थापन र रेखदेख आशाले नै गरेका छन् । फार्ममा हाल ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्को प्लटमा बाख्रा, लोकल कुखुरा र हाँस पाल्न आधुनिक खोर तथा माछा पाल्नका लागि पोखरीहरु बन्दैछन् ।

फार्ममा ड्रागन फ्रुटका १५ सय बिरुवा लगाइएको छ भने आंपका ६ सय बिरुवा हुर्कंदैछन् । मेवा र केराका तीन–तीन हजार बोट छन् । यस्तै स्ट्रबेरीका ४ हजार पाँच सय बिरुवा छन् । स्ट्रबेरीको व्यवसायिक खेती झापा, काठमाडौं र विराटनगरपछि भैरहवामा गुरुङले भित्राएका हुन् । स्ट्रबेरी खेतीको व्यवसायिक उत्पादन शुरु भइसकेको छ ।

फार्ममा एप्पल बयर,वाटर, एप्पल, एबोकार्डो, सलिफा, सिडलेस लिची, थाई कागती, नासपाती, अमला, पहाडी उखु, कागती, गोल्डेन लेमन, ब्लु बेरी, मलबेरी, रसबेरी, नागपुरे सुन्तला, बाह्रै महिना फल्ने बंगलादेशी जातको कटहर, अनार, जमुना, पिच, मौसमी लगायत २८ जातका फलफूलका पाँच हजार बिरुवा फार्ममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment