+

बालाजु डोजोमा नियमित ट्रेनिङ, नवीनलाई ओलम्पिकको प्रतीक्षा

२०७७ असार  १ गते १७:२५ २०७७ असार १ गते १७:२५
बालाजु डोजोमा नियमित ट्रेनिङ, नवीनलाई ओलम्पिकको प्रतीक्षा

१ असार, काठमाडौं । सरकारले बिहीबारदेखि लकडाउनको स्वरुप परिवर्तन गर्दै केही खुकुलो बनाउने निर्णय गर्‍यो । कम संक्रमित भएका क्षेत्रमा कार्यलय, निजी सवारीसाधन, पसलहरु खुल्ला गरिएका छन् । तर, खेलकुद क्षेत्रमा भने ‘लकडाउन’ जारी नै छ ।

खेलकुदको लकडाउन खुकुलो कहिले हुन्छ कसैलाई थाहा छैन । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद जस्ता जिम्मेवार निकायले अझै सुरक्षित रुपमा ट्रेनिङ सुरु गर्नको लागि कुनै मापदण्ड तय गर्न सकेका छैनन् । खेलाडी र प्रशिक्षकहरु भने अब ट्रेनिङमा र्फकन आतुर छन् ।

सरोकारवाला निकायले उदासिनता देखाइरहँदा काठमाडौंको बालाजुमा रहेको कराँते डोजोमा भने एक महिनायता सुरक्षित तरिकाले नियमित ट्रेनिङ भइरहेको छ । बालाजु कराँते डो एकेडेमीमा अहिले १३ औं सागका स्वर्ण पदक विजेता नवीन रसाइलीसहित करिब १० जनाले नियमित प्रशिक्षण गरिरहेका छन् । एकेडेमीका अध्यक्ष तथा मुख्य प्रशिक्षक “ध्रुव विक्रम मल्लले सुरक्षा सतर्कता अपनाएर ट्रेनिङ गरिरहेको बताए ।

‘हाम्रो डोजो बालाजु औद्योगिक क्षेत्रभित्र पर्छ । डोजो जान सुरुमा एउटा घरबाट छिर्नुपर्छ । त्यहाँ हेल्थको सिस्टम बनाएको छ । हामी त्यहीँबाट जान्छौँ,’ मल्लले भने । डोजोमा सेनिटइजर लगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रबन्ध गरिएको उनले बताए ।

लकडाउन सुरु भएपछि एक महिनासम्म डोजोमा पनि ट्रेनिङ रोकिएको थियो । त्यसबेला खेलाडीहरुलाई घरमै ट्रेनिङ गर्न मल्लले भनेका थिए । तर लकडाउन लम्बिँदै जाँदा उनलाई पनि खेलाडीको चिन्ता लाग्यो । त्यसैले डोजोमा बोलाएर सुरक्षित तरिकाले प्रशिक्षण गर्ने वातावरण मिलाएका हुन् ।

‘यो खेलका खेलाडीहरुले हप्तामा ६ दिन ट्रेनिङ र एक दिन रेस्ट गर्छन्,’ मल्लले भने, ‘ट्रेनिङ गरेन भने स्पीड कम हुन्छ । कम भएपछि काम छैन ।’

एक महिना रेस्ट हुँदा धेरै समस्या भएको उनले बताए । डोजोमा करिब १० खेलाडीले ट्रेनिङ गर्छन् ।

एक दशकभन्दा बढी समय त्यही डोजोमा ट्रेनिङ गरेका राष्ट्रिय खेलाडी नवीनले पनि गुरुकै सल्लाहमा ट्रेनिङ सुरु गरेको बताए । ‘गुरुले ट्रेनिङ रोक्नु हुन्न, नत्र गेम र शरीर दुवै बिग्रिन सक्छ भनेर ट्रेनिङ गर्न बोलाउनुभएको हो ।’

बालाजु नजिकै माछापोखरीमा बस्छन् । त्यसैले आउजाउ गर्न उनलाई खास समस्या छैन । बेलुका ५ देखि ७ बजेसम्म त्यहाँ ट्रेनिङ हुने गर्छ ।

कराँतेमा फाइट र काता गरी दुई प्रकारको इभेन्ट हुन्छ । कातामा एकअर्कालाई टच हुँदैन, भने फाइटमा टच हुन्छ । प्रशिक्षक मल्लले अहिले बेसिक वार्मअपहरु गराइरहेको बताए ।

काता गर्ने एउटा टिम छ भने फाइटको अर्को टिम छ । काताको छुट्टै ट्रेनिङ हुन्छ । फाइटमा कन्ट्याक हुने भए पनि डोजोकै मात्र भएकोले कन्ट्याक भए पनि केही नहुने मल्लले बताए ।

मल्लले खेलाडीहरुलाई ट्रेनिङमा आउनको लागि निश्चित नियमसमेत बनाइदिएका छन् । जसअनुसार घरबाट सिधा यहाँ आउनुपर्छ । बाटोमा कसैलाई छुन हुँदैन र सामाजिक दूरी कायम राख्नुपर्ने भनिएको छ । डोजोमा जानको लागि पनि ओद्योगिक क्षेत्र जानुपर्ने भएकोले व्यवस्थित तरिकाले नै ट्रेनिङ भइरहेको उनले बताए । खेलाडीहरुसंग आफ्नो लागि पनि ट्रेनिङ हुने मल्लको बुझाई छ ।

नवीनको लक्ष्य ओलम्पिक

सागका स्वर्ण विजेता नवीनको लागि पनि बालाजु कराँते डोजो एकदमै प्यारो छ । उनले त्यहीबाट कराँते सिक्न सुरु गरेका हुन् । ‘मैले हृवाइट बेल्टदेखि नै त्यहीँबाट सुरु गरेको हुँ । अहिले ब्ल्याक बेल्ट छु,’ उनलेले भने, ‘राष्ट्रिय टिममा हुँदा पनि बेलुका यही डोजोमा आउने गरेको छु ।’

२०७६ मा नेपालगन्जमा भएको आठौं सागमा स्वर्ण जित्दै राष्ट्रिय च्याम्पियन बन्दा उनले गण्डकी प्रदेशबाट खेलेका थिए । त्यसपछि भने विभागीय टोली नेपाल पुलिस क्लबले उनलाई करारमा राख्यो । अहिले राष्ट्रिय प्रतियोगिता पुलिसबाट खेल्छन् ।

नवीन ट्रेनिङ गर्न जाँदा सेनिटाइजर, मास्क, ग्लोब्स सबै साथै राख्छन् । कोचले भनेजस्तै बाटो हिँड्दा पनिसामाजि दूरी पनि कायम राख्छन् ।

डोजोमा ट्रेनिङ गर्न थालेपछि उनलाई सामान्य अवस्थामा फर्किएको अनुभव हुन थालेको छ ।

‘ट्रेनिङ पहिलेभन्दा खासै फरक छैन । जस्तो अवस्था भए पनि हामील ट्रेनिङ गर्नपर्छ भन्ने हो । हामीले अहिले भन्दा पनि पछिको लागि टार्गेट राखेर ट्रेनिङ गर्दै छौँ,’ नवीनले भने ।

निरन्तर ट्रेनिङ नगर्दा खेलाडीमा विभिन्न समस्या हुने उनी बताउँछन् ।

‘ट्रेनिङ गर्न नपाउँदा मुख्य मानसिक समस्या हुन्छ खेलाडीलाई । त्यसको साथसाथै हाम्रो बडी पनि बि्रग्रन्छ र र्फम खस्किन्छ,’ नवीनले भने ।

लकडाउन भएपछि नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकको लागि तयारी गरिरहेका खेलाडी र प्रशिक्षकहरुको लागि एक साता मनोपरामर्श कक्षा सञ्चालन गरेको थियो । त्यसमा कराँतेबाट नवीन र १३औं सागकै स्वर्ण विजेता अनु अधिकारी सहभागी थिए । ओलम्पिक कमिटीले ओलम्पिकको तयारीका लागि १२ खेलाडीलाई छनोट गरेको थियो । तर त्यो कक्षा अहिले बन्द भएको छ । त्यसैले खेलाडीहरु आफ्नै हिसाबले ट्रेनिङ गरिरहेका छन् ।

कोरोना महामारीले गर्दा टोकियो ओलम्पिक पनि एक वर्ष पछि सरेको छ । त्यसले गर्दा केही खेलाडीले अझ तयारी गर्न पाएका छन् भने केही खेलाडीले यसले झन असर गर्ने बताएका छन् । नवीनले पनि खेल सर्दा गाह्रो हुने बताए ।

‘खेल सर्दा हाम्रो समय खेर गयो । अर्को हाम्रो मनोबल घट्यो । हामीले कुन समयको लागि टार्गेट गरेको हुन्छ, त्यही समयमा खेल्न नपाउँदा गाह्रो हुन्छ,’ उनले भने ।
उनले आफ्नो लक्ष्य नै ओलम्पिकमा खेल्नु रहेको पनि बताए ।

‘मेरो लक्ष्य नै ओलम्पिक थियो । ओलम्पिक टार्गेट गरेर नै गुरुले पनि धेरै सहयोग गर्नुभएको छ,’ उनले भने ।

उनको दाई राजकुमारले पनि १३औं सागमा टिम कुमुतेमा कांस्य पदक जितेका थिए । आफ्नै दाजुसँग एउटै गेम खेल्न पाउँदा नवीन आफूलाई निकै भाग्यमानी मान्छन् । ‘एकदमै खुशी लाग्दो रहेछ । हामी सँगै हुन्छौँ भनेर सोचेको पनि थिइनँ । मेरो लागि दाई एकदमै लक्की र सपोर्टिभ छ । आफू हारे पनि मैले जितौं भनेर सोच्छ,’ नवीनले सुनाए ।

कोरोना महामारीले गर्दा अहिले धेरै खेलाडी शारीरिकका साथै मानसिक रुपमा पनि कमजोर बनेका छन् । धेरैलाई अब पुरानो अवस्थामा आउन सक्छु कि सक्दिन भन्ने चिन्ता छ । नवीनले पनि सबै खेलाडीमा अहिले र्फममा आउन गाह्रो हुने डर रहेको बताए ।

‌ओलम्पिक नवीन रसाइली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय