+
+
Shares

निकुञ्जको घाँस काटेर फाल्ने, निजी हात्ती भोकभोकै

सुवास पण्डित सुवास पण्डित
२०७७ असार ३ गते १३:११

३, असार, चितवन । सौराहाका हात्ती व्यवसायीले निजी हात्तीलाई निकुञ्ज वरपरका क्षेत्रमा चराउन दिन माग गरेका छन् । हात्ती खान नपाएर भोकभोकै परेको भन्दै उनीहरुले निकुञ्ज वरपर घाँस खेर फाल्नुभन्दा हात्ती चराउन दिन माग गरेका हुन् ।

हात्तीपालक व्यवसायीको संस्था युनाइटेड हात्ती सफारी सञ्चालन सहकारी संस्थाले बुधबार सौराहामा पत्रकार सम्मेलन गरी दुई महिनायता निकुञ्जको आसपासको क्षेत्रमा एक्कासी चराउन रोक लाग्दा हात्ती भोकभोकै मर्ने अवस्था आएको बताएको छ ।

‘वन्यजन्तुको बासस्थानलाई नै विनाश गर्ने गरी पलाएको घाँस निकुञ्जले एकातिर मेसिन लगाएर काटेर फालेको छ, अर्कोतिर पर्यटनको क्षेत्रमा यत्रो योगदान गरेका दुर्लभ हात्तीहरु खान नपाएर मर्ने अवस्था आयो’ सहकारीका अध्यक्ष ऋषि तिवारीले भने ।

कोरोना महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएसँगै दाना, घाँस, परालको समेत अभावमा हात्तीको जीवन रक्षा मुश्किल भएको उनले बताए । ‘जनकौली सामुदायिक वन नजिक घाँस छ, निकुञ्जले काटेर फाल्छ, हामीलाई सीमा तोकेर हात्ती चराउन दिए हात्ती बाँच्थे’ उनले भने ।

निकुञ्जले पुरानो पदमपुर नरकट फाँड्ने भन्दै हात्ती चराउन दिए पनि पछि रोकेको थियो । चराउन रोक लगाउँदा सौराहामा झण्डै ७० वटा निजी हात्ती मारमा परेका छन् ।

होटलमा आउने पर्यटकलाई वरपरका सामुदायिक वन क्षेत्रमा सफारीमा लैजाने हात्ती खाने कुराको अभावमा भोकभोकै पर्न थालेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

एउटा हात्तीलाई दिनमा विभिन्न खाने कुरा गरेर २५० केजी खाद्यान्न चाहिन्छ । दैनिक २० केजी त धान मात्रै चाहिन्छ । अध्यक्ष भट्टराईले भने, ‘अहिले मान्छेको भन्दा पनि चिन्ता हात्तीको हुन थाल्यो, बचाउने कसरी हो भन्ने समस्या आइलाग्यो ।’

हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती सफारी रोकिएपछि खानेकुराको अभाव हुन थालेको बताए । ‘सफारीमा जाँदा हात्तीहरु चर्थे, माहुतेहरुले पनि घाँस ल्याउथेँ तर अहिले यस्तो अवस्था छैन, हात्तीको पेट केले भर्ने भन्ने चिन्ता हुन थाल्यो’ उनले भने ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?