+
+
Shares
यात्रानुभूति :

अलास्कातिर चरा खोज्दै बरालिंदा

अँ! अझै हेर्दै जाऊ, कस्ता–कस्ता हिमाल आउँछन्। नेपालीलाई हत्तपत्त जस्तो पाए त्यस्तै हिमालले इम्प्रेस गर्न सक्दैन। झन् अमेरिकामा त स-साना डाँडाहरूलाई पनि “माउन्टेन” भन्ने गरिन्छ। र एकैस्वरमा हाम्रो नेपाली मनले भन्छ- डाँडा हो यो त! केका माउन्टेन।

अनुज घिमिरे अनुज घिमिरे
२०८३ असोज २४ गते १६:३१
White-winged Crossbill

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अलास्काको फेरब्यांक्सबाट डेनाली राष्ट्रिय निकुञ्ज जाँदा उनीहरूले ह्वाइट विङ्गड क्रस बिल, ह्यामनड्स फ्लाईक्याचर र टाउन्सेण्ड्स वार्ब्लर देखे।
  • समिथ लेक र हर्स शु लेक आसपास हार्लिकिन डक खोजे पनि नपाएपछि उनीहरू डेनालीमा बस यात्रा गर्दै बोरियल चराहरू हेर्न गए।
  • डेनालीको बस यात्रामा उनीहरूले मूस, विलो टारमिगन र गोल्डेन इगल देखे, र यात्रालाई स्मरणीय भने।

“I now walk into the wild.”
― जोन क्राकाउर, ‘इन्टु द वाइल्ड’

क्षितिज ढाकेका आकाश चुम्ने डाँडाहरू। गाढा हरियो, त्रिकोणात्मक र समान आकार भएका सल्लाका रूख। कता-कता जाडो महसुस गरेर रङ फेरेर जाडोयामको लागि तयार हुँदै गरेका भोजपत्र, बैंस र यास्पेनका रूख। कहिलेकाहीं लाग्थ्यो म कुनै आर्ट ग्यालरीमा कुनै पेन्टिङ हेर्दैछु। सुन्दर प्राकृतिक दृश्यले सजिएको त्यो भूभाग अलौकिक देखिन्थ्यो। त्यहाँ एउटा अर्कै प्राकारको शून्यता थियो र हजारौं प्रकारको आवाज पनि। हावाको वेगमा चलिरहेका पातहरूको, लाखौं वर्षको भू-वैज्ञानिक इतिहासको, स-साना चरा तथा कीरा-फट्याङ्ग्राको। अमेरिकाको सबैभन्दा ठूलो शाकाहारी स्तनधारी जीवहरूको। अलास्काको त्यो परिदृश्य साँच्चिकै क्यामरामा कैद गर्न नसकिनेछ र सम्भवतः व्याख्या गरेर पनि नसकिने।

संसारमा थोरै मात्र त्यस्ता ठाउँ छन् होला जसलाई अहिलेको दिनमा पनि विल्डरनेस भनेर भन्न सकिन्छ। तीमध्ये केही ठाउँमा पर्छ अलास्का। र अलास्काभित्रै रहेका हजारौं अनकन्टार ठाउँहरूको त झन् के कुरा!

“यो त साँच्चिकै विल्डरनेस रहेछ” सविनाले प्लेनको झ्यालबाट बाहिर हेर्दै भनिन्।

अँ! अझै हेर्दै जाऊ, कस्ता–कस्ता हिमाल आउँछन्। नेपालीलाई हत्तपत्त जस्तो पाए त्यस्तै हिमालले इम्प्रेस गर्न सक्दैन। झन् अमेरिकामा त स-साना डाँडाहरूलाई पनि “माउन्टेन” भन्ने गरिन्छ। र एकैस्वरमा हाम्रो नेपाली मनले भन्छ- डाँडा हो यो त! केका माउन्टेन।

तर, प्लेनको झ्यालबाट बाहिर हेर्दै गरेकी सविना झन् झन् प्रभावित हुँदै गइन्।

हाम्रोमा भन्दा धेरै हिमाल छ कि क्या हो?

हाम्रोमा भन्दा धेरै त नहोला। तर, फैलिएर बसेकोले गर्दा यस्तो देखिएको हो।

रोचक कुरा त हामी अलास्काको भेगमा पुगेका पनि थिएनौं। क्यानडाको ब्रिटिस कोलम्बियाको पश्चिमी भेगमा उड्दै थियौं। विस्तारै हिमालहरू पछाडि छोड्दै प्लेन अनकन्टार बोरियल जङ्गलको माथि उड्न थाल्यो।

“जति हिंडे पनि नसकिने जस्तो ठाउँ रहेछ” सविनाले प्लेनको झ्यालबाट पर कतै देखिएको हिमनदी, खोलाले ताछेर बनाएका उपत्यका र सल्लाका रूखहरूले ढपक्क छोपेका फाँटहरूको तस्बिर लिंदै भनिन्।

आइल सिटमा बसेर म घाँटी तन्काउँदै झ्याल बाहिर हेरिरहें।

विस्तारै फाट्ट-फुट्ट घरहरू देखिन थाले। पाइलटले हामी अलास्काको फेरब्यांक्स शहरमा अवतरण गर्न लागेको कुरा अनाउन्स गरे।

फराकिलो रूपमा फैलिएको शहर हेर्दै रमाइलो देखिन्थ्यो।

शहर बजार भन्दा पनि म त चराहरूको लागि उत्साहित थिएँ। मेनल्याण्ड अमेरिकामा नपाइने केही चराहरू त्यहाँ सहज रूपमा पाइन सकिनेथियो। कम्तीमा पनि ६-७ वटा लाइफर त भेटिन्छ भन्ने आश थियो। चरा खोज्नलाई समय पो कति हुने हो भन्ने तनाव थियो।

चराहरू वासस्थान अनुसार विशिष्ट प्रकारका हुन्छन्। कुनै ठाउँमा कहिलेकाहीं झुक्किएर आउने चरा कहीं भने सयौंको सङ्ख्यामा हुन्छन्। त्यसरी नै फेरब्यांक्स पुगेर सयौंको सङ्ख्यामा ह्वाइट विङ्गड क्रस बिल देख्न पाइयो। मैले त्यस दिन भन्दा अगाडि मात्र दुई पटक देखेको चरा। नेपालीमा कैंची ठुँडे भनिने यो चराको चुच्चो कैंचीको जस्तो क्रस भएको हुन्छ। तितु चरा अर्थात् फिंन्चहरूमा पर्ने यो चरा उत्तरी गोलार्धको पनि उत्तरी भेगमा पाइन्छ। हामी बसेको एरबिएनबि बाहिर यी चराहरू प्रशस्त मात्रामा थिए। सविनाको लागि त यो चरा लाइफर नै थियो। म भने धेरैपछि देख्न पाएकोमा खुशी थिएँ।

क्यानडाको दक्षिणमा पर्ने अमेरिकाको भाग वा लोअर ४८ मा केही यस्ता प्रजातिका चराहरू छन् जुन प्रजाति खोज्न भनेर धेरै चराप्रेमीहरू मरिहत्ते गरेर मिनेसोटा राज्यको उत्तरी भेग जान्छन्। यी सबै प्रजाति बोरियल जङ्गलमा पाइने चराहरूमा पर्छन्। अलास्का त आफैंमा बोरियल क्षेत्र भएकोले गर्दा फेरब्यांक्समा भने बोरियल प्रजातिको कमी नै थिएन। मिनेसोटामा वर्षको एकचोटि झुक्किएर देखिने बोरियल चिकडी भनिने चरा त्यहाँ त घरभँगेरा जस्तो पाइने रहेछ।

हार्लिकिन हाँसको खोजीमा

फेरब्यांक्सस्थित युनिभर्सिटी अफ अलास्काको उत्तरी परिसरमा समिथ लेक नामको एउटा पोखरी रहेछ— पोखरीलाई छेउ पारेर हिंड्नको लागि राम्रो हाइकिङ ट्रेल पनि बनाइएको। त्यस लेकमा केही मानिसहरूले मैले खोजिरहेको एउटा हाँस देखेका रहेछन्। त्यो हाँस मैले खोजेको लगभग ६ वर्ष हुन लागिसक्यो, कहिल्यै भेट्दिनँ। तर, त्यस क्षेत्रमा भने त्यो हाँसले प्रजनन नै गर्ने भएकोले गर्दा योपालि पक्कै पनि हाँस भेटिन्छ भन्ने थियो। त्यही अनुसार हामी दुई जना त्यो हाँस र अन्य चराको खोजीमा ट्रेलतिर लाग्यौं।

Smith’s Lake, Fairbanks

ट्रेल कुनै जनावरहरूको वृत्तचित्रमा देखिने बोरियल फरेस्ट झैं फरेस्टभित्र नै थियो। प्रबल रूपमा सल्लाका रूखहरू भएको त्यस ट्रेलको भुईं भने झ्याउ (मस) को कार्पेटले सजिएको थियो। हिंड्दा पनि कुनै गद्दीमा हिंडेको झैं लाग्नेगरी। वरपर नयाँ नौलो वनस्पति, च्याउ र पुतलीहरू उडिरहेका थिए। म नयाँ बोटबिरुवा, वनस्पति देख्नासाथ उत्साहित हुँदै तस्बिर खिच्दैथिएँ। सविनाले यो पनि खिच भन्दै नयाँ प्रजाति देखाउँथिन्। जङ्गलभित्रको ट्रेल केहीबेरलाई सानो घाँसे मैदानको बाटोमा निस्कियो। वरपर टन्नै चराहरू कराइरहेका थिए। धेरैजसो कैंची ठुँडे नै थिए। नजिकै एउटा यास्पेनको रूखमा दुइटा चराहरू झगडा गर्दै थिए। सविना चरा देख्नमा माहिर छिन्, ऊ त्यो के हो हेर त भनेर मलाई भनिन्। मैले दूरबिन तेर्स्याएर हेरें। एक प्रकारको अर्जुनक वा फ्लाईक्याचर देखें। यो त ह्यामनड्स फ्लाईक्याचर हुनुपर्छ। मैले सविनालाई भनें र तस्बिर खिच्न थालें। त्यो चरा मैले त्यस दिन भन्दा पहिले एक पटक मात्र देखेको थिएँ, र हाम्रो क्षेत्रमा नपाइने भएकोले गर्दा खासै चिन्ने चरामा पर्दैनथ्यो। फोटो खिचेर केहीबेर अध्ययन गरेपछि थाहा भयो त्यो ह्यामनड्स नै रहेछ। सविनाको लागि लाइफर।

ऊ त्यो थोप्ला भएको वार्ब्लर (फिस्टे चरा) चाहिं के हो? सविनाले सोधिन्। मैले फेरि दूरबिन तेर्स्याएँ।

ओहो अर्को लाइफर! त्यो थियो टाउन्सेण्ड्स वार्ब्लर।

Townsend’s Warbler

विस्तारै ट्रेल फराकिलो हुँदैगयो र एउटा मोडमा पुग्यो, जहाँ लेक यता भनेर देखाइएको एउटा साइनबोर्ड थियो। त्यही साइनबोर्ड पढेर हामी लेकतिर लाग्यौं। ओहो कति सुन्दर ताल। पेन्टिङहरूमा देखिने भन्दा केही फरक थिएन त्यो परिदृश्य। मैले फोन झिकेर तस्बिर लिएँ तर फोनमा खासै राम्रो तस्बिर भने आएन। तालमा केही हाँसहरू भने देखियो। हतार–हतार म आफूले खोजेको हाँस छ कि भनेर दूरबिन र आँखा डुलाउन थालें। धेरैजसो सबै हरियो टाउके हाँस थिए। मैले खोजेको हाँस थियो हार्लिकिन डक। कालो टाउको, निधार र आँखाको छेउमा सेतो। गालामा सेतो टीका लगाएको झैं एउटा सानो थोप्लो। छाती खरानी रङको, शरीरको छेउमा कैलो रङ, पुच्छरको भाग अलि अलि कालो। हेर्दा फेरि पेन्टिङ झैं देखिने यो हर्लिकिन हाँस साह्रै नै राम्रो देखिन्छ। मात्र देख्न पाएको छैन।

आखिरमा केही घण्टा नै बिताएर त्यो तालको कुना–कुना खोज्दा पनि हाँस भने भेटिएन। ठिकै छ, डेनाली राष्ट्र निकुञ्ज जानै छ त्यहाँ पो भेटिन्छ कि भनेर चित्त बुझाएँ।

डेनाली नेशनल पार्क

ऊ जमानामा न्याटजियो र डिस्कभरी च्यानलमा ग्रिज्ली बेएरले स्यामन माछा समात्दै हिंडेको फाँट देख्न पाइन्थ्यो। त्यस दिन भने हामी त्यस्तै एउटा फाँट वरपर थियौं। आँखाले देखेसम्म सल्लाका रूखहरू। खोलाले ताछेर ठूला ठूला डाँडा बीच बनाएका सयौं उपत्यका। फेरब्याङ्क्स छोडेर केही बाहिर जान नपाई ऊ बेलामा त्यस्तै वृत्तचित्रमा देखिने झैं भू-दृश्य देखा पर्न थाले। बाटोभरिका चराहरू हेर्दै, मनमोहक दृश्यहरू बारे कुरा गर्दै हामी डेनाली राष्ट्रिय निकुञ्जतिर लाग्यौं। आधा बाटो जस्तो पुगेपछि आगलागी भएको ठूलो वन क्षेत्र आयो। बोरियल फरेस्ट र अझै आगो लागेको यहाँ एक प्रकारको रोचक काठफोर चरा पाइने गर्छ। त्यो चरा सविनाको लागि त लाइफर नै हुन्थ्यो। गाडी रोक्न मिल्ने ठाउँ खोजेर हामी रोकियौं। गाडीबाट ओर्लिएर केही बेर सुन्न मात्र के पाएका थियौं, दुई वटा चरा उडेर एउटा रूखमा गएर बसे। काठफोर चराहरू अलि भिन्न प्रकारले उड्छन् र उडानमै चिन्न सकिन्छ। काठफोर हो भन्ने त ढुक्क थियो, खोजेकै प्रजाति हो/होइन भनेर हामी त्यो चरा खोज्नतिर लाग्यौं। केहीबेरपछि भेटियो। चरा आफूले खोजेकै रहेछ- ब्ल्याक ब्याक्ड उड्पेकर !

उत्साहित भएर हामी आफ्नो बाटो लाग्यौं। नेपालतिरको झैं घुम्ती बाटो। पर कता–कता अलि–अलि फाट्ट-फुट्ट हिमाल पनि देखिने। ओहो कति मनमोहक दृश्य !

फेरब्याङ्क्सबाट ठ्याक्कै २ घण्टा २० मिनेट जस्तोमा डेनाली पुगिने रहेछ। हामी रोकिंदै गएकोले अलि ढिलो पुगियो। अझै रोचक र मन परेको कुरा त डेनाली राष्ट्रिय निकुञ्जमा आफ्नो गाडी जहाँ भन्यो त्यही लैजान नपाइने रहेछ। डुल्न मात्र गएको खण्डमा १५ माइलसम्म आफ्नो गाडी लैजान पाइने र क्याम्पिङ गर्ने खण्डमा अझै अलि भित्रसम्म जान पाइने तर घुम्न नै भने त्यहाँको बसमै जानुपर्ने रहेछ। ढिलो बुकिङ गरेकोले हामीले २:३० को बस पायौं।

हामीसँग ४ घण्टा जति थियो। त्यो समय एउटा सानो हाइक गरेर बिताउने योजना सहित हामी हर्स शु लेकतिर लाग्यौं। पोखरी आफैंमा सानो भए पनि त्यहाँसम्म जाने बाटो भने एकदम रमाइलो थियो। कता–कता नेपाली हिमाली भेगको झझल्को दिने। मेरा आँखा भने त्यहाँको पानीमै केन्द्रित थिए। कारण- लाइफर चराको आश। धेरै वर्षदेखि खोजिरहेको हार्लिकिन डक मैले त्यहाँ पाउन सक्ने सम्भावना थियो। पोखरी पुग्न माथि डाँडाबाट तल झर्नुपर्ने थियो र ठाउँ–ठाउँमा पोखरीको केही भाग देखिने आउट लुकहरू थिए। म त्यही डिलमा बसेर स्क्यान गर्दैथिएँ माथिबाट एक बथान ह्वाइट विङ्ग्ड क्रस बिल आए र हामी नजिकैको रूखमा बसे। यो ट्रिपभरि मैले सबै भन्दा नजिकैबाट देखेको क्रस बिल, मैले क्यामरा तेर्स्याएर तस्बिर खिच्न थालें।

Smith’s Lake Trail

पोखरी पुग्नु अगाडि ट्रेल केहीबेर बाहिर नदीको किनारमा पुग्ने रहेछ। निनाना नदी !

नदी किनारमा हार्लिकिन डक भेटिने आशमा मैले दूरबिन घुमाउन थालें। हाँस भने भेटिएन। हामी विस्तारै पोखरीतिर लाग्यौं। हिमाली भेगमा हिमनदीबाट आएको सङ्लो पानीले बनाएको ताल झैं हरियो देखिने त्यो ताल उही अलास्काको वृत्तचित्रमा देखिने भनेको झैं थियो। वरपर सल्लाका रूख र पानीमा कैद भएका तिनै रूखहरूका प्रतिबिम्ब। वृत्तचित्रको ब्याकग्राउण्ड म्युजिक भने त्यसबेला वरपर भएका चराहरू। धेरैजसो बोरियल चिकडीहरू नै थिए गीत गाउनेहरूमा। पोखरी पार गर्ने एउटा सानो पुलमा बसेर तस्बिर लिंदै गर्दा क्यार्र गरेको आवाज आयो। सविना र मैले एकैचोटि “किङ्फिसर” भनेर करायौं। केहीबेर पोखरी वरपर चरा खोजेर हामी विस्तारै माथि लाग्यौं।

राष्ट्रिय निकुञ्जको भिजिटर सेन्टरमा रहेको रेस्टुरेन्टमा खाजा खाएर बसस्टप जाँदा ठ्याक्कै बस आउने बेला भएको रहेछ। उत्साहित भएर हामी लाइनमा बस्यौं। लाइनमा बसिरहँदा भिजिटर सेन्टरको छतमा लामपुच्छ्रे चरा कराइरहेको थियो। केही पर अरू क्रस बिल पनि गीत गाउँदै थिए। केही बेरमै बस आयो। र हामी डेनाली राष्ट्रिय निकुञ्जको यात्रामा निस्कियौं।

जति भित्र गयो उति अनकन्टार! संसारको कुनै भेगमा पुगेको छौं झैं भान हुने। तर, जता हेरे पनि रमाइलो र मनमोहक दृश्यहरू। बस चालकले समय–समयमा केही देखेको खण्डमा बस रोक्थे र त्यस जीव वा जनावर बारे आफूलाई थाहा भएको कुरा सुनाउँथे। सबैभन्दा पहिले देखियो “मूस” – संसारको सबैभन्दा ठूलो प्रजातिको हरिण। ७ फिटसम्म उचाइ हुनसक्ने यो हरिणको तौल ७५० किलोग्राम सम्म हुन सक्छ। बसमा भएका सबैले मूस देखिसकेपछि गाडी फेरि विस्तारै आफ्नो बाटो लाग्यो।

केहीबेरपछि बस चालकले फेरि बस रोकिन् र भनिन्— “हाम्रो राज्यको राष्ट्रिय चरा- विलो टारमिगन” ! मेरा कान एक्कासि ठाडा भए र म आफ्नो सिटबाट जुरुक्क उठें। झ्याल बाहिर खोज्न थालें। त्यो चरा मेरो लागि लाइफर चरा थियो। केही बेरको सङ्घर्षपछि मैले एउटा झ्यालबाट हेर्ने मौका पाएँ। रोडको छेउमा आनन्दले बसिरहेका केही टारमिगनहरू देखें। टारमिगनहरू कुखुरा प्रजातिका चराहरू हुन्। नेपाली हिसाबले भन्नुपर्दा डाँफेको परिवारमा पर्ने तर भिन्न प्रजातिको चरा हो टारमिगन। हतार–हतार तस्बिर खिचें। लाइफर ९१४ ! अमेरिकाको लागि भने ५३८औं चरा। खुशीको सीमा नै भएन। त्यो यात्रामा मैले पाउन सक्ने चरामध्ये एउटा चरा भेटियो। हार्लिकिन डक पनि भेटिए त कति मज्जा हुन्थ्यो होला भनेर म सविनालाई सुनाउँदै, अन्य चराहरूबारे कुरा गर्न व्यस्त थिएँ।

बसले हामीलाई रोडको अन्त्यसम्म पुर्‍यायो। कुनै बेला १३५ माइल लामो हुने रोड, केही वर्ष अगाडि गएको पहिरोले गर्दा आजभोलि ४३ माइलमा सीमित रहेछ। टोलकाट खोलाको पूर्वी फोर्क पुल भनिने ठाउँ रमाइलो थियो। खुला उपत्यका भएकोले गर्दा होला हावा पनि मज्जाले चलेको थियो। चराहरू भने खासै थिएनन्, त्यही लाम्पुच्छ्रे र राज काग देखियो। बस चालकले १५ मिनेट मात्र रोक्न जानकारी दिएका थिए, त्यही अनुसार हामी पुल वरपर हेर्न निस्कियौं। त्यो बस छोडेर पछि अर्कै बसमा फर्किने विकल्प त थियो तर हामी फर्केर फेरब्यांक्स नै पुग्नुपर्ने थियो। त्यसैले आएकै बसमा फर्किने निर्णय गरियो। फर्किंदा स्याभेज रिभरतिर हार्लिकिन डक पनि खोज्नुपर्ने थियो।

फर्किंदै गर्दा बाटोमा एउटा ठूलो चरा देखें। रोक्नुस् त भनेर बस चालकलाई अनुरोध गरें। उनले रोकिन्। हेर्दा राज काग भन्दा धेरै ठूलो देखिन्थ्यो। र अमेरिकाको राष्ट्रिय चरा बाल्ड इगल भन्दा फरक। कता कता मलाई सुपर्ण महाचील वा गोल्डेन इगल हो झैं लाग्यो। भनिहालें, सबै जना उत्साहित भएर हेर्न थाले। बस चालिकाले- यहाँको लागि भेट्न गाह्रो चरा हो यो भनिहालिन्। चरा धेरै पर थियो, राम्रोसँग देख्न पाइएको थिएन। गलत पो भइयो कि भन्ने तनाव थियो। पहिलो वर्षको बाल्ड इगल र गोल्डेन इगल उस्तै उस्तै देखिन्छन्। मैले हतार हतार तस्बिर खिचें, आखिरमा गोल्डेन इगल नै रहेछ। अलास्काको लागि अर्को एउटा नयाँ चरा जम्मा गरियो। स्याभेज रोडमा हार्लिकिन डक भेटिएन, नर्दन व्हिटीयर पनि भेटिएन। तर, डेनालीले भने मन जित्यो। कुनै कुनै यात्रा सधैं स्मरणमै रहने यात्रा हुन जान्छन्, डेनाली राष्ट्रिय निकुञ्ज पनि त्यस्तै भयो। अर्को वर्ष समय लिएर हाइकिङ र बर्डिङ मज्जाले गर्ने सोच लिएर हामी फेरब्यांक्सतिर फर्कियौं।

लेखक
अनुज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?