
समान्यतः हरेक राजनीतिक पार्टी र संगठनका नेता कार्यकर्ताहरुले प्रस्तुत गर्ने राजनीतिक व्यबहार र कार्यशैली उक्त पार्टीले अवलम्बन गर्ने बैचारिक तथा दार्शनिक पक्षले निर्धारण गर्दछ र गर्नुपर्दछ भन्ने आम मानिसको बुझाई हुन्छ । तर, वास्तविक जीवन व्यवहारमा यसले विल्कुल मेल खाएको देखिँदैन ।
एउटा समान्य व्यक्तिले राजनीतिक जीवनमा प्रवेश गर्नुभन्दा पहिले उसको पारिवारिक तथा सामाजिक संरचना र संस्कारले उसको व्यक्तिगत चरित्र र कार्यशैली निर्माणमा सहयोग गरिरहेको हुन्छ । त्यसरी नै उक्त व्यक्ति राजनीतिक प्रक्रियामा सहभागी हुने पृष्ठभूमि र उक्त राजनीतिक पार्टी वा संगठनले अवलम्बन गर्ने बैचारिक दृष्टिकोण, वर्गीय पक्षधरता, संगठनात्मक पद्धति तथा राजनीतिक संस्कारले उक्त नेता कार्यकर्ताको कार्यशैली र व्यवहार निर्धारण भइरहेको हुन्छ ।
हरेक राजनीतिक पार्टीहरुले सामाजिक बनावट तथा उक्त पार्टीले अवलम्बन गर्ने सैद्धान्तिक र दार्शनिक पक्षलाई आधार बनाएर आफ्नो राजनितिक तथा संगठनात्मक कार्यदिशा निर्माण गर्ने गर्दछन् । पार्टीको आन्तरिक जीवनका नियमित बहस, छलफल र अन्तरसंघर्ष पनि यसकै वरिपरि घुमिराखेको हुन्छ ।
नेपालको सन्दर्भमा जत्ति पनि राजनीतिक पार्टीहरु अहिले भूमिकामा छन् । ती सबै राजनीतिक पार्टीहरु सामन्तवादी संरचनाको पृष्ठभूमिबाट नै हुर्केको देखिन्छ । कोही सामन्तवादको अन्त्य गर्ने उद्देश्यबाट प्रेरित भएर होस् या कोही सामन्तवादको रक्षा कवजको रुपमा होस् । सबैको तत्कालीन पृष्ठभूमि सामन्तवाद नै हो । जसको परिणामस्वरुप हरेक राजनीतिक दलहरुको आन्तरिक जीवनमा निरन्तर चलिरहने बहस, छलफल र अन्तरसंघर्षमा समेत सामन्तवादी मनोवृत्ति अभिव्यक्त भइरहेको देखिन्छ ।
राजनीतिक नेता, कार्यकर्ताहरुको व्यवहार र कार्यशैलीमा अभिव्यक्त हुने सामान्तवादको राजनीतिक मनोवृत्ति एकातिर चरम महत्वाकाक्षी हुँदै अहंकारको शिकार हुने खतरा हुन्छ भने अर्काेतिर कुण्ठित, आलोचनात्मक तथा विद्रोही मनोविज्ञानको रुपमा प्रकट हुने गर्दछ ।
शक्तिमा पुगेकाहरुमा चरम महत्वाकांक्षा र अहंकारी प्रवृत्ति हावी हुँदै जान्छ अनि त्यसलाई टिकाउन सम्पूर्ण शक्ति र श्रोतहरुको प्रयोग गरिरहेको पाईन्छ । अर्काेतिर शक्तिमा पुग्न नसकेकाहरुमा कुण्ठा र विद्रोहको भावना बढोत्तरी हुने गर्दछ ।
यस प्रकृतिको मनोवृत्ति समाजका स–साना इकाइदेखि सामाजिक संगठन तथा राजनीतिक पार्टीहरु हुँदै राज्यका हरेक संरचनाहरुमा समेत अभिव्यक्त हुने गर्दछ ।
समाजमा अभिव्यक्त हुने यस प्रकृतिको अन्तरविरोधले राजनीतिक संघर्ष र प्रतिस्पर्धाको स्वरूपमा विकास गर्दछ भने पार्टीभित्र देखा पर्ने मतभिन्नताहरुले अन्तरसंघर्षको स्वरूप ग्रहण गर्दछ ।
खासगरी राजनीतिक पार्टीहरुको राजनीतिक कार्यदिशा, संगठनात्मक पद्धति, अन्तरसंघर्ष सञ्चालनको विधि र राजनीतिक संस्कारमार्फत नेता कार्यकर्ताहरुको कार्यशैली र व्यवहार प्रस्तुत भइरहेको हुन्छ ।
राजनीतिक संगठनको आन्तरिक जीवनमा चलिरहने अन्तरसंघर्षको बनावट र अन्तरसंघर्ष सञ्चालनको विधीले पनि नेताकार्यकर्ताको चरित्र र व्यवहार निर्माणमा सहयोग पुर्याईरहेको हुन्छ । आजभोलिका प्रायः सबै राजनीतिक संगठनहरुमा विभिन्न प्रकृतिका प्यानल, विचार समूह र गुटबन्दीको रुपमा अन्तरसंघर्ष संगठित र परिचालन गर्ने गरिरहेको देखिन्छ ।
प्रायजसो मासबेसमा सञ्चालित गैरकम्युनिष्ट पार्टीहरुले सम्मेलन र महाधिवेशन मार्फत नेतृत्व निर्वाचित गर्ने प्रयोजनमा प्यानल निर्माण गरेर अन्तरसँघर्षलाई संगठित गर्ने गर्दछन् । यस प्रकृतिका पार्टीहरुमा सही नेतृत्व निर्वाचित गरेपछि सही नेतृत्वबाट सही विचार र कार्यदिशाको निर्माण हुन्छ भन्ने अवधारणाबाट नेतृत्व र संगठन निर्माण गर्ने पक्षधरतामा पार्टी र उसका भातृ संगठनहरुलाई परिचालित गरिरहेका हुन्छन् । हरेक महाधिवेशनमा पार्टी र पार्टीका भातृ संगठनहरु समूहगत रुपमा विभाजित हुने र प्रतिस्पर्धा गरेर हारजीतको परिणाममा पुग्दछन् । उक्त हारजितको मनोदशा कहिलेकाहीँ अहंकार र विद्रोही तथा प्रतिशोधको इगो हुँदै ध्वंसात्मक गुटबन्दीसम्म पुग्छ । संगठन र नेतृत्व निर्माणको सन्दर्भमा गठित यस प्रकारका प्यानल र समूहहरु स्थायी समूहको रुपमा पार्टीभित्र सक्रिय भइरहेको देखिन्छ । निर्वाचित प्रणालीबाट नेतृत्व निर्माण गर्ने संगठनात्मक पद्दति अवलम्बन गरेका कम्युनिष्ट पार्टीहरु पनि यसबाट अछुतो रहन सकेनन् ।
यसरी सञ्चालित अन्तरसंघर्षमा विचार, कार्यदिशा र योजनामा होइन कि नेतृत्व र त्यसको क्षमता, कार्यशैली र प्रभाव केन्द्रित हुने गर्दछ । यस प्रकारको प्यानलवाइज अन्तरसंघर्ष र प्रतिस्पर्धा नेतृत्व र संगठन निर्माण गर्ने महाधिवेशन सम्मेलन र बैठकहरुमा अभिव्यक्त हुने र त्यसपछि बिस्तारै अर्काे अन्तरविरोधमा परिणत हुने गर्दछन् । यद्यपि कतिपय प्यानलगत समीकरण अन्तहीन गुटबन्दीको रुपमा विकास हुने र पार्टीभित्र वर्चस्व कायम गर्ने साधनको रुपमा समेत प्रयोग भइरहेको देखिन्छ ।
अन्तरसंघर्ष नै कम्युनिष्ट पार्टीको जीवन हो भन्ने अवधारण बोकेका सबै कम्युनिष्ट पार्टीहरुमा विचार समूहहरु सक्रिय भइरहेको देखिन्छ । कम्युनिष्ट पार्टीहरुले व्यवहारमा जेसुकै गरे पनि सिद्धान्त त पहिले विचार र कार्यदिशा निर्माण गर्ने अनि त्यसको आधारमा संगठन र नेतृत्व निर्माण गर्ने संगठनात्मक प्रणाली अवलम्बन गर्दै आएको पाइन्छ । यसरी स–साना राजनैतिक एजेण्डा तथा घटनाहरुदेखि लिएर विचार र कार्यदिशा निर्माण गर्ने प्रक्रियासम्म देखिने मतभिन्नताहरु पनि विचार समूहको रुपमा अभिव्यक्त हुने गर्दछन् ।
त्यतिमात्रै होइन, कहिले काहीँ नेतृत्व र व्यक्तिको इन्ट्रेष्टले समेत विचार समूहको गठन हुने मनोरोगबाट पनि कम्युनिष्ट आन्दोलन गुज्रिदै आएको छ ।
सामान्यतया पार्टीभित्र बैचारिक मतभिन्नता भएको बेला बढी सक्रिय रुपमा देखा पर्ने यस्ता विचार समूहहरु कहिलेकाहीँ नेतृत्व तथा संगठन निर्माण निर्माणको प्रक्रियामा समेत प्रभावकारी देखिने गर्दछन् । अमूक नेतृत्व र समूहको इन्ट्रेष्टमा निर्माण गरिएका कतिपय विचार समूहहरु वाह्य रुपमा विचार समूह तर सारमा निश्चित स्वार्थमा निहित गुटबन्दीका झुण्डहरु पार्टीभित्र बर्चस्व कायम गर्ने चेष्टा गरिरहन्छन् ।
कुनै सैद्धान्तिक र बैचारिक आधार बिना नै अमुक नेता वा व्यक्ति लाई केन्द्रमा राखेर पार्टीभित्र चल्ने संघर्ष नै गुटबन्दी हो । गुटगत स्वार्थपूर्तिका लागि यस्तो गुटबन्दीले कहिले काहीँ विचार समूहको मुकुण्डो लगाउने र आम कार्यकर्ता जनतालाइ भ्रमित पार्ने चेष्टा गरिरहेको हुन्छ भने संगठन र नेतृत्व निर्माणको सन्दर्भमा प्यानल को रुपमा प्रस्तुत भएर पार्टीको नेतृत्व र संगठन कब्जा गर्ने अन्तरनिहित उद्देश्यमा समेत परिचालित हुने गरेको देखिन्छ ।
समय र सन्दर्भ अनुसार पार्टीभित्र अल्पमतमा परेको विचार समूह र नेतृत्वको समूह पनि पार्टीभित्र शक्ति आर्जन गर्न गुटबन्दीको शाहारा लिने गर्दछन् । तर, यस्तो गुटबन्दीमा नेतृत्व सदस्यहरुको उद्देश्यमा भने केही भिन्नताहरु देखा पर्दछन् ।
गुटको नेतृत्वले पार्टी र सत्तामा पुग्न गुटको प्रयोग गर्ने अनि त्यसपछि समग्र पार्टी र सत्ताको नेतृत्व गर्ने संस्थापन भुमिका निर्वाह गर्न खोज्दछ । तर, गुटका सदस्य र सल्लाहकारहरुको दबावले कहिले पनि संस्थापन भुमिका र संस्कारमा पुग्न दिँदैन । गुटको भर्याङबाट धुरीमा पुगेको नेतृत्वका वरीपरि पनि गुटका योग्य चाकडहरुबाहेक अरु पुग्न सक्दैनन् ।
सत्तामा नपुग्दासम्म गुटको नेतृत्वले गुट सञ्चालन गर्ने र सत्तामा पुगेपछि गुटका सदस्य र सल्लाहकारको योजनामा नेतृत्व चल्नुपर्ने गुटबन्दीको डरलाग्दो संस्कारले अन्ततः पार्टी र गुट दुबैलाई विघटन गरिरहेको हुन्छ । यद्यपी गुटबन्दीको कालो चस्माले समय रहदासम्म यो परिस्थितिलाई देख्न र आँकलन गर्न सकिदैन ।
आज कम्युनिष्ट अथवा गैरकम्युनिष्ट पार्टीहरुमा सबैभन्दा हाबी भईरहेको अन्तरसँघर्षको माध्यम नै गुटबन्दी हो । यसो हुनुका पछाडि पनि केही वस्तुगत र आत्मगत कारणहरु विद्यमान छन् । मूख्यतः राजनीतिक पार्टीहरु रणनैतिक कार्यदिशा र विचार निर्माण गर्ने अनि उक्त विचार र कार्यदिशाका आधारमा पार्टी संगठन परिचालन गर्ने विधिबाट विचलित हुनु र सत्ता स्वार्थमा सीमित प्रतिस्पर्धाको चक्रव्यूहमा घुमिरहनु नै हो । सत्तास्वार्थको राजनीतिक प्रतिस्प्रधामा शक्ति आर्जन गर्ने र पार्टी कब्जा गर्ने सबै भन्दा सजिलो साधन गुटवन्दी बनेको छ ।
विचार समूहको जस्तो विधिमा रहेर बहस, छलफल, अध्ययन र अनुसनधान गरेर तथ्यहरको खोजीमार्फत सत्यमा आधारित तर्कहरु प्रस्तुत गर्नु गुटवन्दीमा जरुरी छैन । पार्टी संगठन निर्माण गर्ने र व्यवस्थित गर्ने दिर्घकालिन योजना निर्माण गर्ने र परिचालन गर्ने मेहनतको पनि कुनै महत्व छैन ।
गुटबन्दीमा अमुक नेता र समूहलाई केन्द्रमा राखेर देवत्वकरण गर्ने र तलसम्म त्यसका भक्तजनहरु उत्पादन गरेर भक्तिभाव गर्ने अनि भक्तजनहरुलाई गुटको प्रसाद बाँड्ने सिन्डिकेड प्रणालीमा नै सीमित छ । गुटबन्दीको झुण्ड परिचालन गर्न कुनै विधी, पद्धति र तहको जरुरी पर्दैन माथिदेखि तलसम्म गुटबन्दीको ट्याग लगाउने अनि जताततै यही ट्याग देखाएर भँजाउन सक्ने चाकडहरु निर्माण गर्ने विधिमा सीमित रहन्छ ।
यस्तो गुटगत मनोवृत्तिले आजभोली सुचना प्रविधिको सहारा लिएर भर्चुअल गुटवन्दी प्रणालीमा अगाडि बढेको देखिन्छ । गुट अनुसारका मिडिया हाउस निर्माण गर्ने, प्रेस सल्लाहकार र आईटी विज्ञहरु नियुक्त गरेर सामाजिक सञ्जालमा विभन्न ग्रुप तथा एप्सहरु निर्माण र परिचालन गरेर सिधै एउटा एडमिनबाट गुटका सुचनाहरु केन्द्रित र सम्प्रेषण गर्ने भर्चुअल गुटबन्दी प्रणालीमा अभ्यस्त भइरहेका देखिन्छन् । यसरी गुटको प्रभाव र गुटबन्दीको योग्यता मापन गर्न पनि निकै सजिलो भइरहेको देखिन्छ ।
सामाजिक सञ्जालमार्फत को कसले गुटको पक्ष र विपक्षमा उत्कृष्टता हासिल गर्न सक्छ ? सामाजिक सञ्जालमार्फत को कसले गुटको पक्षमा सबैभन्दा बढी पोष्ट, शेयर, कमेण्ट र लाइक गरिरहेको छ ? अनि को कसले विपक्षमा बोलिरहेको र छ लेखिरहेको छ ?
त्यस्ता अडियो र भिडियो क्लिप तथा स्की्रनसटहरुलाई वायोडाटाको रुपमा केन्द्रित गरी पुरस्कार र दण्डित गर्ने जस्ता डिजिटल प्रणालीमा गुटहरुको विकास भएको देखिन्छ ।
जतिबेला पार्टी र संगठनको मूल नेतृत्व नै गुटबन्दीको संस्कारबाट माथि उठ्न नसक्ने स्थिति पैदा हुन्छ र, गुटका उत्कृष्ट चाकडहरुलाई प्रमोसन गर्दै महत्वपूर्ण भुमिकामा जिम्मेवारी र नियुक्ति प्रदान गर्ने अनि गुटमा सहभागी नहुने तथा गुटको विरुद्धमा उभिने नेता कार्यकर्ताहरुलाई दण्डित गर्दै पाखा लगाउने विडम्वनापूर्ण परिस्थिति सिर्जना हुन्छ । त्यतिबेला पार्टी संगठनको हितमा निरन्तर सक्रिय रहने तर गुटमा आवद्ध नहुने नेता कार्यकर्ताहरु समेत अस्तित्व रक्षाको चरण पुगिसकेको हुन्छ ।
त्यसपछि उक्त पार्टी र गुटका सबै सदस्यहरुले यो पनि बुझ्न जरुरी हुन्छ कि उक्त पार्टीको अवसान पनि नजिकिँदै छ । न रह्यो बाँस, न रह्यो बाँसुरी । कसैको पार्टी र व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र सम्झनु उपयुक्त हुनेछ ।
(लेखक नेकपाका कार्यकर्ता हुन्)
प्रतिक्रिया 4