+
+
Shares

सीमा विवादमा भारत आफैंले आगोमा घिउ थप्ने काम गर्‍यो : राधेश्याम अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १२:३९

४ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारीले नेपाल-भारत सीमा विवादमा भारत आफैंले घिउ थप्ने काम गरेको बताएका छन् ।

खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई विवादित क्षेत्र भनेर स्वीकार गर्दै आएको भारतले नयाँ नक्सा जारी गरेर यो विषयलाई सतहमा ल्याएको उनले बताए । नेपालले पटक–पटक वार्ताको प्रस्तााव गर्दा पनि बेवास्ता गर्दै भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि बाध्य भएर नेपालले नयाँ नक्सा सार्वजनिक गर्नु परेको उनको भनाइ छ ।

सांसद अधिकारीले भने, ‘भारतले नेपाली भूभागलाई समेत समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको संसदमा कुरा उठ्यो । नागरिकस्तबाट दबाव आयो, नागरिकले आफैं नक्सा जारी गरे । नेपालले निरन्तर कुटनीतिक वार्ताका लागि आग्रह गरिरह्यो । तर, वार्ता हुन सकेन । कोभिड १९ को महामारीको बेला दिल्लीबाट लिंक रोड उद्घाटन गर्ने काम भयो । यसरी आगोमा घिउ थप्ने काम गर्‍यो ।’

बिहीबार राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेता अधिकारीले यस्तो बताएका हुन् ।

नेता अधिकारीले भारतीयहरुले केही गलत प्रश्न गरिरहेको बताएका छन् ।

‘भारतीय मित्रहरुले एउटा प्रश्न उठाएका छन्, १७ वटा चेकपोष्ट फिर्ता हुँदा त्यो किन बस्यो ?’ अधिकारीले भने, ‘यो भारतीय जनताहरुले पनि बुझ्नुपर्छ १९६२ मा भारत र चीनका बीचमा युद्ध हुँदा भारतीय सुरक्षाकर्मी कालापानीमा आएर बस्यो । हामीले बोलाएका होइनौं, उनीहरु आफैँ आएर बसेका हुन् र उनीहरुको अहिले भोगाधिकार छ । कानुनी भाषामा भोगाधिकार र स्वामित्व भन्ने हुन्छ । भोगाधिकार हुँदैमा स्वामित्वको हक लाग्दैन ।’

लिम्पियाधुरा क्षेत्रमा भारतीय फौज आएर बस्नुअघिसम्म तिरोतिरान सबै नेपालले गरेको उनले बताए । र नेपालको १७ वटा चेकपोष्ट गएको र कालापानीको किन नगएको भन्ने विषयमा थप बुझन आवश्यक रहेको भन्दै उनी भन्छन्, ‘२००८ सालमा १७ वटा चेकपोष्ट बसेको सेनालाई नेपाली तालिम दिन । त्यो पछि फिर्ता भयो, कालापानीमा उनीहरु आफैँ आएर बसेको, फिर्ता गएनन् ।’

फिर्ता नहुनेको कारण नेपालको आन्तरिक कमजोरी रहेको र त्यो बेलाको परिस्थिति बुझ्नुपर्ने उनी बताउँछन् ।

‘जुन बेला त्यो ठाउँमा भारतीय फौज आएर बसेका थिए । त्यो बेला राजाले संसद विघटन गरेका थिए । ठूला नेताहरु जेलमा थिए । त्यसकारण त्यो बेला जुन अडान लिनुपर्ने हो त्यो हुन सकेन । तर, यो भूभाग तिम्रो हो भनेर कुनै पनि कागज दिएको छैन्’ उनले भने ।

नेता अधिकारीले पटक-पटक दोहोर्‍याएर भनेका छन्, ‘लिम्पियाधुरा क्षेत्रको स्वामित्व हाम्रो हो, भोगाधिकार उसले गर्‍यो । त्यसकारण भारतले मेरै हो भनेर नक्सा सार्वजनिक गर्न मिल्दैनथ्यो ।’ र पनि अबको बाटो वार्ता र संवाद नै भएको नेता अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?