
४ असार, गोरखा । आइसोलेसन सेन्टर तयार नहुँदा गोरखामा बिहीबार विहान संक्रमण पुष्टि भएकालाई क्वारेन्टिनमै राखिएको छ ।
गोरखा अस्पतालको २४ आइसोलेसन बेड मंगलबार नै भरिएपछि बिहीबार देखिएका ११ संक्रमितलाई गोरखा क्याम्पसको भवनमा बनाइने आइसोलेसनमा राख्ने तय भएको थियो । तर आइसोलेसन तयार नहुँदा शहीद लखन गाउँपालिकाका ४ र पालुङटार नगरपालिकाका ७ संक्रमितलाई क्वारेन्टिनमै राखिएको छ ।
‘प्रमुख जिल्ला अधिकारीले आइसोलेसन तयार भएको छैन आज नल्याउनुहोस् भन्नुभयो,’ पालुङटारका मेयर दीपकबाबु कँडेलले भने, ‘आज एक दिनलाई यहीँ क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएका छौं ।’
पालुङटारका संक्रमितहरु वडा नम्बर २ को शारदा मावि र वडा नम्बर ७ को जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका छन् । उनीहरु भारतबाट आएका हुन् ।
शहीद लखन गाउँपालिकाका ४ संक्रमितलाई पनि बिहीबार वडा नम्बर ७ को शहीद स्मृति माविको क्वारेन्टिनमा नै राखिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । ‘आइसोलेसन तयार भइनसकेका कारण आज यही क्वारेन्टिनमा राख्ने निर्णय गर्यौं’ उनले भने ।
आइसोलेसन व्यवस्थापन समितिका सदस्य समेत रहेका थापाले संक्रमितमा कुनै लक्षण नदेखिएकाले क्वारेन्टिनमै राख्दा पनि समस्या नहुने भन्दै बचाउ गरे ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समयमा कामदार नपाउँदा गोरखा क्याम्पसको भवनमा आइसोलेसन बेड बनाउन नसकेको बताए । ‘कोषमा रकम नहुदाँ पनि समस्या भएको हो,’ उनले भने ।
गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले आइसोलेसनमा केही बेड तयार भइसकेको बताए । ‘अहिलेसम्म १८ वेड तयार भइसक्यो, भोलिसम्म २५ बेड तयार हुन्छ,’ आइसोलेसन व्यवस्थापन समितिका सदस्य समेत रहेका उनले भने, ‘विद्युत, सीसीटीभी, फ्यान जडान भइसक्यो, शौचालयको काम हुँदैछ ।’
प्रतिक्रिया 4