Comments Add Comment

श्रीलंकन पूर्व खेलकुदमन्त्रीको दाबी : विश्वकप क्रिकेटको फाइनलमा फिक्सिङ

४ असार काठमाडौं । श्रीलंकाका पूर्व खेलकुदमन्त्री महिन्दानन्दा अलुथगामागेले विश्वकप क्रिकेट – २०११ को फाइनलमा फिक्सिङ भएको गम्भीर आरोप लगाएका छन् ।

श्रीलंकन अनलाइन पोर्टल न्युज फर्सटसंग कुराकानीमा पूर्व खेलकुदमन्त्रीले त्यो खेल श्रीलंकाले भारतसँग जानी जानी हारेको आरोप लगाएका हुन् । ‘म अहिले क्रिकेटरलाई यसमा संलग्न गर्न चाहन्न, तर केही समूह खेल फिक्सिङ गर्न लागेका थिए’, उनले भनेका छन् ।

२ अप्रिल २०११ मा भारतको मुम्बईस्थति वाङखडेमा भएको फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै २८ वर्षपछि विश्वकप जितेको थियो । श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर जितेको थियो ।

सन् २०१० देखि २०१५ सम्म श्रीलंकाको खेलकुदमन्त्री रहेका उनले भनेका छन्, ‘२०११ क्रिकेट विश्वकप फाइनल फिक्स्ड थियो । म आफूले भनेको कुरामा पक्का छु । म खेलकुदमन्त्री भएको बेला त्यो भएको थियो ।’

‘म देशको ख्याल गर्दै पूरा कुराहरु खोल्न चाहन्न । तर भारत विरुद्धको उक्त खेल हामीले जित्न सक्थ्यौं, उक्त खेल फिक्स्ड थियो’ अलुथगामागेले अगाडि भनेका छन्, ‘ म यो कुरा पुरा जिम्मेवारीपूर्वक भन्छु र वादविवाद गर्न समेत तयार छु ।’

पूर्वखेलकुदमन्त्री अलुथगामागे यो आरोप लगाउने दोस्रो व्यक्ति हो ।

यसअघि श्रीलंकालाई सन् १९९६ श्रीलंकालाई विश्वकप जिताएका पुर्वकप्तान अर्जुना रानातुंगाले पनि उक्त फाइनल फिक्सड  भएको बताएका थिए । सन् २०१७ मा उनले यस बारे अनुसन्धानको समेत माग गरेका थिए । ‘जब हामीले खेल हार्‍यौं, मलाई शंका लागिरहेको थियो । २०११ को फाइनलमा श्रीलंकालाई जे भएको थियो त्यसको अनुसन्धान गर्नुपर्छ’ उक्त खेलको कमेन्ट्री गरेका रानातुंगाले २०१७ मा भनेका थिए ।

तर फाइनलमा श्रीलंकन टिमको कप्तानी गरेका कुमार संगाकाराले भने आरोपलाई पुष्टि गर्न अलुथगामागेलाई चुनौती दिएका छन् । ‘उनले आफूसँग भएको तथ्य र प्रमाणबारे आईसीसी, एन्टी करप्सन र सेक्युरिटी युनिटमा लगेर जाँच गराउन, ताकि यो आरोपको सबै अनुसन्धान होस्’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment