Comments Add Comment

पाकिस्तानी युवा क्रिकेटरको रोल मोडल रोहित शर्मा

५ असार काठमाडौं । पाकिस्तानका युवा क्रिकेटर हेइदर अलीले भारतीय ब्याट्सम्यान रोहित शर्मा आफ्नो रोल मोडल भएको बताएका छन् ।

युवा उमेरमै पाकिस्तानको राष्ट्रिय टिममा पर्न सफल अलीले रोहितको आरमक ब्याटिङ मन पर्ने बताएका छन् । ‘रोल मोडलको रुपमा कुरा गर्नुपर्दा मेरो रोहित शर्मा हो,’ अलीले भिडियो कन्फ्रेन्समा भनेका छन् ।

‘खेलाडीको रुपमा मलाई उनी एकदमै मन पर्छ । र उनी टिमलाई एग्रेसिभ सुरवात दिलाउन चाहन्छन् । बललाई क्लिन रुपमा हिट गर्छन्,’ १९ वर्षीय अलीले भने, ‘उनी टेष्ट, ओडीआई र टि-२० सबै फर्म्याटका लागि हुन् र तीनवटै फर्म्याटमा खेल्न सक्छन् । र अर्को मलाई मन पर्ने राम्रो पक्ष भनेको उनी ५० रन कटाएपछि १०० बनाउँछन् र १५० बनाउने सोच्छन् । र २०० पनि । र म पनि त्यस्तै गर्न चाहन्छु । म ठूलो स्कवर बनाउने बारे सोच्छु ।’

अलीले रोहित शर्माले आफ्नो साइडबाट गेम जिताउन सक्ने र साँच्चै म्यान विनर भएको बताएका छन् ।

पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको राजनीतिक तिक्तता कारण यी दुई राष्ट्रबीच सिरिज हुन सकेको छैन । सन् २०१२ मा पछिल्लो पटक यी दुई टिमले सिरिज खेलेका थिए । त्यसबाट आईसीसी विश्वकप र च्याम्पियनसिप ट्रफीहरुमा मात्र भेट भएको छ ।

यस्तो बेला पकिस्तानका युवा ब्याट्सम्यानले भारतका रोहित शर्मालाई रोल मोडल मानेका छन् ।

गत वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका अली केही दिनअघि घोषणा भएको पाकिस्तानी टोलीमा परेका छन् । इंग्ल्याण्डविरुद्ध हुने टेष्ट र टि-२० सिरिजका लागि घोषित २९ सदस्यीय टोलीमा उनी मात्र नयाँ अनुहार हुन् ।

पछिल्लो समय पाकिस्तानका लागि तीनवटै फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेका अलीलाई सम्भावना बोकेका युवा ब्याट्सम्यानको रुपमा हेरिएको छ । उनले गत सेप्टेम्बरमा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । र पहिलो सिजनमै क्वाइदे अजाम ट्रफी फाइनलमा उनले नर्दन साइडका लागि १३४ रन बनाएका थिए । त्यो उनको सिजनको दोस्रो शतक थियो । साथै उनले ३ अर्धशतक समेत बनाएका थिए ।

यु-१९ वर्ल्ड कपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । इयान बिसोपले अलीले बाबर अजामको झल्को दिएको बताएका थिए । त्यसपछि उनले पेसावर जाल्मीबाट पाकिस्तान सुपर लिगमा अवसर पाए । जहाँ उनले ९ खेलमा २३९ रन बनाएका थिए ।

हेइदर अलीले सन् २०१५ मा टेप बल प्लेअरको रुपमा अट्टोकबाट क्रिकेट करियर सुरु गरेका थिए । २०१६ मा उनले हार्ड बल खेले र यु-१६ टिमका लागि खेले । त्यसपछि उनले यु-१९ टिममा खेल्ने अवसर पाए ।

अलीले आफ्नो लक्ष्य पाकिस्तानको लागि खेल्ने बताउका छन् । उनले तीनवटै फर्म्याटमा पाकिस्तानको लागि खेल्ने इच्छा रहेको र त्यसका लागि आफूले राम्रो तयारी गरिरहेको समेत बताए ।

उनले यु-१९ विश्वकप, पाकिस्तान सुपर लिग र पछिल्लो पटक फस्ट क्लास क्रिकेट खेलेको भन्दै सबैमा राम्रो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment