९ असार, काठमाडौं । अन्तरजातीय प्रेमको वियोगान्त परिणामबारे रिपोर्टिङका लागि हामी जाजरकोट-रुकुम (पश्चिम) पुगेका थियौं । जाजरकोटका नवराज बिक र रुकुम (पश्चिम) की मल्ल थरकी किशोरीबीचको प्रेमले त्यहाँ नरसंहारको रुप लिएको थियो।
वियोगान्त प्रेमको रिपोर्टिङ गर्न गएका बेला हामीले रुकुममा एउटा संयोगान्त अन्तरजातीय प्रेमकथा पनि फेला पार्यौं, जुन कथाकी एक पात्र हुन्– प्रेमकुमारी सुनार ।
दशवर्षे सशस्त्र युद्धमा सैन्य पोसाकमाथि बन्दुक भिर्ने प्रेमकुमारी अहिले मुसिकोट नगरपालिका रुकुम (पश्चिम) को उपमेयरको कुर्सीमा छिन् ।
भनिन्छ, रुकुम माओवादी जनयुद्धको उद्गम स्थल हो । जातीय र वर्गीय विभेदविरुद्ध छेडिएको क्रान्तिको आधार इलाका हो । तर जातीय विभेदकै कारण भएको सामूहिक हत्याले क्रान्तिको राँको बाल्ने रुकुममाथि प्रश्न सोझिएको छ, के नवराज बिकलगायतको शवसँगै क्रान्ति पनि भेरी नदीमा बगेको हो ?’
हामी हिजोको क्रान्तिको आधार इलाका जाजरकोट पुग्दा मृतककी आमाहरू आँसु पुछ्दै विभेदको अन्त्य र न्यायका लागि आन्दोलनको मोर्चामा थिए । रुकुमचाहिँ सुनसाथ, चकमन्न थियो ।
त्यही रुकुम (पश्चिम) को सदरमुकाम खलंगा बजारमा भेटिइन् – प्रेमकुमारी ।
हिजोका कुरा
वर्गीय एवं जातीय विभेद, असमानता र अत्याचारको चंगुलबाट देशलाई मुक्त गर्न भन्दै १७ वर्षको उमेरमै रुकुम(पूर्व)बाट प्रेमकुमारी तत्कालीन माओवादीको छापामार बनिन् ।

प्रेमकुमारी ०५२ सालदेखि नै माओवादीमा लागिन् । माओवादीले सोही साल फागुन १ गते औपचारिकरुपमा सशस्त्र जनयुद्धको घोषणा गर्यो । उनी स्वयंसेवक दलको सदस्यका रुपमा पार्टीमा खटिइन् ।
माओवादीको प्रशिक्षणले प्रेमकुमारीलाई उद्वेलित बनायो । उनी विगतका ती दिनहरू सम्झँदै भन्छिन्, ‘हामीबीच जात भन्ने नै थिएन । कसैले पनि थर लेख्दैनथ्यौं । सबैको एक मात्र जात थियो – कम्युनिस्ट ।’
प्रेमकुमारी सांस्कृतिक मोर्चाको कमाण्ड गर्न पुगिन् । बन्दुकको नालमुनि कसैले पनि विभेदको घटना खुलारुपमा उप्काउन सक्दैन’थे । तैपनि विभिन्न ठाउँमा गैरदलितबाट दलितहरू कुटिएका खबर आइरहन्थे । कसैले त्यस्तो विभेद गरेको थाहा पाएमा उनीहरूलाई माओवादीले ठाउँको ठाउँ भाटे कारबाही गर्थ्यो । प्रेमकुमारी भन्छिन्, ‘जनताको बीचमा उभ्याएर माफी माग्न लगाइन्थ्यो । जनकारबाही हुन्थ्यो ।’
त्यसबेला माओवादीले रुकुम, रोल्पा, जाजरकोटजस्ता आधार इलाकाहरूमा जातीय विभेदविरुद्ध अनेक अभियान चलाएको थियो । दलितहरूलाई मन्दिर प्रवेश गराउने, दलित/जनजातिलाई गैरदलितको घरमा प्रवेश गराउनेजस्ता संघर्षका कार्यक्रमहरू हुन्थे ।
प्रेमकुमारी सम्झन्छिन्, यस्ता अभियानले मानसिकतामा जकडिएर बसेको विभेदलाई भत्काउन ठूलो सहयोग पुग्यो । जनयुद्ध चर्कँदै गएपछि मानिसहरूलाई विभेदबारे सोच्ने फुर्सदसम्म भएन ।
२९ फागुन ०५३ गते जनयुद्धको वार्षिक उत्सवको पूर्वतयारीका लागि पूर्वी रुकुमको कुचिवाङमा कार्यक्रम आयोजना गरिएको थियो । त्यहीबेला माओवादी समूह प्रहरीको घेराबन्दी पर्यो । प्रहरीले १३ जना नेता कार्यकर्तालाई गिरफ्तार गर्यो ।

हिरासतमा पाएको चरम यातनालाई प्रेमकुमारी शब्दमा व्यक्त गर्न सक्दिनन् । उनी यत्ति भन्छिन्, ‘सिस्नोपानी लगाउँथ्यो, निर्वस्त्र बनाएर कुट्थ्यो । चरम यातना दिन्थ्यो ।’
१२ दिनको यातनापछि प्रहरीले प्रेमकुमारीलाई तारेखमा रिहाइ गर्यो । तर उनले तारेख धाइनन्, फेरि पार्टीको सम्पर्कमा पुगिन् । भूमिगत हुने क्रममा उनी दाङको एउटा घर पुगेकी थिइन् । त्यो घर मगर जातिको थियो । उनी आँगनमै थिइन्, प्रहरीले घर घेराउ गर्यो ।
‘घरबेटी महिला कांग्रेस र उच्च जातकी हुनुहुन्थ्यो’, प्रेमकुमारी सम्झन्छिन्, ‘उहाँले मलाई घरभित्र भण्डार कुनामा लगेर कपडा फेराउनुभयो । अनि पानीको गाग्रो दिएर धारा हुँदै जंगलको बाटो देखाइदिनुभयो । जंगलमा पुगेपछि मात्र प्रहरीले भागेको सुइँको पायो । जंगलमा भाग्दा लडेर घाइते भएँ ।’
उपमेयर प्रेमकुमारीसँग यस्ता किस्सा धेरै छन्, सुनेरै नसकिने ।
जनयुद्धकालमा उनी विद्रोहको बिगुल फुक्दै पूर्वदेखि पश्चिमसम्म पुगिन् । यही क्रममा ०५७ मा रोल्पाको उपावाङ मा पुगिन् । अनि त्यहीँ भेटिए पार्टीका जिल्लास्तरका नेता गोप्यश्वर केसी ।
जनयुद्ध कालमा एकचोटि भेट भएको मानिससँग फेरि भेट हुन एक वर्षसम्म लाग्न सक्थ्यो । युद्धका क्रममा कहिल्यै भेट नहुन पनि सक्थ्यो । सम्पर्कका लागि मोबाइल फोनको सुविधा थिएन । गाउँ र जंगलमा हिडिँरहने भएकाले टेलिफोन सम्पर्क असम्भवप्रायः थियो । सञ्चारको एउटै माध्यय थियो हाते चिठ्ठी ।
चिठ्ठीले नै गोप्यश्वर केसी र प्रेमकुमारीको पहिलो भेटमा मौलाएको प्रेमलाई टुट्न दिएन । उपमेयर प्रेमकुमारी हाँस्दै सुनाउँछिन्, ‘ लगभग ६ महिनामा एकअर्काले चिठी पाउँथ्यौं ।’
चिठीसँगै उनीहरूको प्रेम झाँगिन थाल्यो ।
प्रेम अन्तरजातीय थियो । तर कुनै अनुभूति थिएन कि यो कुनै फरक जातबीचको प्रेम हो । प्रेमका अगाडि जात र वर्गले चियाउनसम्म पाएन । सीमारेखा नभएको प्रेम निस्फिक्री फुल्यो ।

दुवैलाई साथीहरू र पार्टीबाट सुझाव आयो, अब तपाईंहरूको प्रेमलाई विवाहको रुप दिनुपर्छ । दुवैको उमेर परिपक्व भइसकेको थियो । उनीहरूले यसबारे दोहोर्याएर सोच्नुपर्ने आवश्यकता देखेनन् ।
०५९ साल माघ २९ गते । जाडो मौसम ।
रुकुममा पार्टीले जिल्लास्तरीय कार्यक्रम आयोजना गर्यो । त्यही कार्यक्रमको ‘जनवादी मञ्च’ लाई पवित्र मन्दिर मानेर उनीहरूले एक-अर्कालाई माला लगाए ।
प्रेमकुमारी भन्छिन्, ‘थुप्रै कमरेडहरूको बिहे औपचारिक कार्यक्रमको अन्त्यमा गरिन्थ्यो । कहिलेकाँही त एउटै मञ्चमा १०/१२ जोडीको अन्तरजातीय, जनवादी बिहे गराउँथ्यौं ।’
बिहेपछि उनी रुकुमको तत्कालीन चौखावाङ गाविस ( मुसिकोट-१०)स्थित पतिको घरमा पुगिन् । गोप्यश्वरका बुबाआमाको मृत्यु भइसकेको थियो । घरमा प्रेमकुमारीका जेठाजुहरू थिए । उनीहरूले खुसी हुँदै भाइबुहारीलाई भित्र्याए ।
त्यतिबेलासम्म यस्ता जातीय सद्भावका दृश्यहरू माओवादीको लालकिल्लामा सामान्य बन्न थालिसकेका थिए । सामाजिक परिवर्तन साँच्चिकै असाधारण थियो । कथित उच्च जाति हिँडेको बाटोभन्दामाथि हिँड्न नपाउने सामाजिक परिबन्दबाट दलितहरू बुहारी भएर कथित उच्च जातिका घर दलानमा प्रवेश गर्न थालिसकेका थिए ।
पार्टीको कामले गर्दा श्रीमान्–श्रीमती घरमा बसिरहने परिस्थिति भएन । समयको वेगसँगै उनीहरूको बिहे भएको करिब ३ वर्षपछि ०६२/०६३ सालमा देशमा जनआन्दोलन भयो । माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा आयो । राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान लेखियो ।
प्रेमकुमारी पनि पार्टीको राज्य कमिटी सदस्य हुँदै केन्द्रीय सदस्य बन्न पुगिन् । अहिले उनी उपमेयरको कुर्सीमा छिन् ।
आजका कुरा
प्रेमकुमारी अहिले नगरपालिकामा मुद्दामामिला हेर्ने न्यायिक समितिको कुर्सीमा छिन् । यो कुर्सीबाट हेर्दा उनी राजनीतिक क्रान्तिपछि समाजमा विभेद घटेको हैन, बढेको देख्छिन् ।

अहिले प्रेमकुमारीका साथमा १४ वर्षीया छोरी र श्रीमान् छन् । उनीहरूको पारिवारिक जीवन खुसीसाथ नै चलिरहेको छ । तथापि कतिपय पारिवारिक/सामाजिक जमघटमा उनीहरूको परिवारलाई बोलावट हुने क्रम पातलिएको छ ।
युद्धकालका सामाजिक परिवर्तनहरू बिस्तारै पछाडितिर जान थालेको प्रेमकुमारीको बुझाइ छ । उनी भन्छिन्, ‘अहिले पनि अन्तरजातीय बिहेहरू त आक्कल–झुक्कल भइ नै रहेका छन् । तर अहिले परिवारले स्वीकार्ने परिस्थिति छैन । सकेसम्म ती जोडीलाई छुटाउने प्रयत्न गरिन्छ । यदि छुटेनन् भने उनीहरू समाजबाट विस्थापित हुनुपर्ने अवस्था छ ।’
यतिमात्र होइन, जनयुद्धकालमै अन्तरजातीय बिहे गरेका थुप्रै कार्यकर्ताहरू शान्ति प्रक्रियापछि बिछोडिएका र उनीहरूले सजातीय बिहे गरेको प्रेमकुमारीले सुनाइन् ।
चार वर्षअघि प्रेमकुमारी पश्चिम रुकुमको मुसिकोटमै क्रान्तिको हुर्मत लिने घटनाको प्रत्यक्षदर्शी बनिन् ।
दलितका छोराले मगरकी छोरीसँग बिहे गरेका थिए । उनीहरू दुवै १७/१८ वर्षका मात्र थिए । केटी पक्षले कानुनतः उमेर नपुगेको भन्दै प्रहरीमा उजुरी गर्यो  र केटीलाई छुटाएर लग्यो ।
युवती भागेर फेरि केटाको घरमा आइन् । केटी पक्षले घरमै गएर केटा र उनका परिवारलाई कुटपिट गरे ।
मुसिकोट नगरपालिकाकी उपमेयर प्रेमकुमारी भन्छिन्, ‘यस्ता कुटपिट र बहिस्कारका घटना अनगिन्ती छन् । २० वर्षभन्दा कम उमेरमा अन्तरजातीय बिहे गरेमा उमेर नपुगेको भन्दै छुटाउन खोजिन्छ । तर गाउँघरमा सजातीय बिहे प्रायः २० वर्षभन्दा कम उमेरमै स्वीकार्य हुने गरेको छ । उनीहरूको उमेरको विषयमा कुरै उठ्दैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4