Comments Add Comment

चार महिनापछि भएको पहिलो क्रिकेट प्रतिस्पर्धा

१० असार, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रतिस्पर्धात्मक क्रिकेट खेल गत मार्च महिनापछि पहिलो पटक इंगल्याण्डको म्यानचेस्टरमा खेलिएको छ ।

वेस्ट इन्डिजको क्रिकेट टिमको अभ्यासका लागि दुई टिम बनाएर प्रतिस्पर्धात्मक क्रिकेट खेलिएको हो ।

अर्को महिनादेखि सुरु गर्ने तयारीका साथ अहिले इंग्ल्याण्ड र वेष्ट इन्डिजका खेलाडीहरु सुरक्षित तरिकाले प्रशिक्षण गरिरहेका छन् ।

त्यसैका लागि इंग्ल्यान्ड पुगेको वेस्ट इन्डिज क्रिकेट टिमले म्यानचेष्टरमा दुई साता लामो अनिवार्य क्वारेन्टिन बसेपछि मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ ।

११ रिजर्भ खेलाडीसहित वेष्ट इन्डिजका २५ खेलाडी इंग्ल्याण्डमा  छन्  । यीनै खेलाडीलाई दुई समूहमा विभाजन गरेर तीन दिवसीय अभ्यास खेल खेलाइएको हो ।

अभ्यास खेलमा ज्यासन होल्डर र कार्लोस ब्रेथवेइटलाई दुई टिमको नेतृत्व दिइएको छ ।

ब्रेथवेइट ११ ले अभ्यास खेलको पहिलो दिन २७५ रन बनाएको छ । जसमा कप्तान ब्रेथवइटले सर्वाधिक ८४, साई होपले ८३ र रोस्टन चेसले ३७ रन बनाए । होल्डर ११ को तर्फबाट अल्जारी जोसेफले ४ र शानन गाब्रियलले ३ विकेट लिए ।

पहिलो अभ्यास खेलपछि वेष्ट इन्डिजले आन्तरिक रुपमा म्यानचेष्टरमा चार दिवसीय अभ्यास खेल पनि खेल्नेछ । इंग्ल्याण्डले जुलाई १ मा आन्तरिक रुपमा तीन दिवसीय खेल खेल्नेछ ।

कोरोना महामारीपछि पहिलो पटक हुन लागेको टेष्ट क्रिकेटमा इंग्ल्याण्ड र वेष्ट इन्डिज खेल्दैछ । तीन खेलको टेष्ट सिरिज जुलाई ८ मा साउथह्याम्पटनमा सुरु हुँदैछ । उक्त सिरिजलाई राइज द ब्याट सिरिजको नाम दिइएको छ । खेल दर्शकबिनाको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment