Comments Add Comment
नेकपा स्थायी कमिटी बैठक :

चोचोमोचोमा ब्रेकअप !

१० असार, काठमाडौं । मञ्चमा पार्टीको झण्डा नै नराखी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्यो । विधानको प्रावधान नाघेर सात महिनाको अन्तरालमा आयोजित बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले लगभग एक/एक घण्टा मन्तव्य दिए । अध्यक्षद्वयको मन्तव्यपछि शुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी बैठक रोकियो ।

अहिलेसम्म माधव नेपाल पक्षले लगाउँदै आएको आरोप के छ भने पार्टी विधि-विधान र सिस्टममा चलेको छैन, दुई अध्यक्षको चोचोमोचोका आधारमा चलिरहेको छ ।

तर, प्रचण्डले बुधबार बालुवाटारबाट सन्देश दिएका छन्, अब चोचोमोचोको अध्याय सकियो । र, अब केपी शर्मा ओलीसँग चोचोमोचो हैन, ‘संघर्ष’ प्रधान हुनेछ ।

प्रचण्डको ‘आक्रामक’ प्रस्तुती

स्थायी कमिटीका सदस्यहरुवीच अहिले ओलीको भन्दा बढी प्रचण्डको भाषणले चर्चा पाएको छ । भलै, ती दुबै भाषण कसैले रेकर्ड गरेनन् । केही नेताले भ्याएसम्म डायरीमा नोट गरे । संसदमा जस्तै पार्टीको बैठकमा शीर्ष नेताहरुको ऐतिहासिक मन्तव्यको अर्काइभ राख्ने प्रचलन नेकपामा छैन । अध्यक्षद्वयको भाषण सुनेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘प्रधानमन्त्रीले सरकारको बचाऊमा पुरानै कुरा गर्नुभयो, तर प्रचण्डको भाषणचाहिँ आज जोडदार थियो ।’

बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । उनले २०७५ साल जेठ २ को सहमतिको पनि स्मरण गरे । सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै ओलीलाई सरकार चलाउन दिने सहमति गरेकोमा उनले पश्चाताप भाव प्रकट गरे  । ‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ । तर, त्यसले अहंकार बढ्यो’ प्रचण्डको भनाइ थियो, ‘आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ ।’प्रचण्डले बैठकमा के भने, जसलाई उनी पक्षधर नेताहरुले ‘जोडदार’ को विशेषण भिराउनुपर्‍यो ? बैठकमा सहभागी नेताका अनुसार प्रचण्डले ओलीमाथि कडा आलोचना गरेका थिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीकै सामुन्नेमा यसरी उनको निर्मम आलोचना गर्नु नै प्रचण्डको ‘जोडदार प्रस्तुती’ हो ।

सरकारले गर्न सक्ने काम पनि नगरेको विश्लेषणसहित बैठकमा प्रचण्डको संश्लेषण थियो, ‘सरकारले राम्रो काम गर्न नसक्नुको मुख्य कारण आन्तरिक नै हो ।’ ‘गुटहरु छन् तर पार्टी छैन जस्तो भएको छ’भन्दै प्रचण्डले अब नेता सामु ‘फाइट टू फिनिस’ संघर्ष गर्ने र एकतावद्ध हुने मात्र विकल्प रहेको बैठकमा सुनाए । यसको अर्थ, एक स्थायी कमिटी सदस्यका अनुसार अब केपी ओलीसँगको प्रचण्डको सम्बन्ध ‘एकता’बाट ‘संघर्ष’को चरणमा प्रवेश गरेको स्पष्ट हुन्छ ।

बैठकमा प्रचण्डले अलि कडै स्वरमा भनेका छन्, ‘मैले गल्ती गरेको भए म सच्चिनुपर्छ । उहाँले गल्ती गएको भए उहाँ सच्चिनुपर्छ र त्याग गर्न तयार हुनुपर्छ । पार्टीलाई एकतावद्ध बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीको रक्षात्मक प्रस्तुती

नेकपा अहिलेसम्म केपी ओली र प्रचण्डवीच ‘चोचोमोचो’का आधारमा चल्दै आएको थियो, बुधबारदेखि यसमा ‘ब्रेक’ लागेको छ । कम्युनिस्टको भाषामा भन्ने हो भने ओली र प्रचण्डवीचको सम्बन्धमा अब ‘संघर्ष’ प्रधान हुनेछ ।

नेताहरुका अनुसार बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रक्षात्मक एवं गुनासाहरुले भरिएको थियो । पार्टीभित्र अनुशासनहीनता र बहुमतको खेल सुरु भएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए । र, त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा झण्डै पार्टी विभाजनको संघारमा पुगेको ओलीले सुनाए ।

आफ्नो सम्वोधनमा अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमति अनुसार पार्टी नचलेको गुनासो गरे । बैठकमा उनको भनाइ थियो, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको छ ।’

प्रधानमन्त्री ओलीले नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नसमेत आग्रह गरे । बैठकमा उनले अधिकांश समय सरकारको बचाउमा खर्चिए । यो बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्ने उनको जोड थियो ।

प्रधानमन्त्री ओलीको भाषण सरकारको बचाऊ एवं गुनासै गुनासाले भरिएको थियो । पार्टीकै नेताहरुले सरकारलाई समर्थन र सहयोग नगरेको उनको गुनासो र आरोप थियो ।

मन्तव्यका क्रममा प्रधानमन्त्रीले सरकारले सीमा रक्षाका लागि ऐतिहासिक काम गरेको बताउँदै भारतको कडा आलोचना गरेको बैठकमा सहभागी नेताहरु बताउँछन् ।

माधव नेपालको सांकेतिक विद्रोह

बुधबार बालुवाटारमा आयोजित बैठकमा सचिवालयका सातजना नेताहरुलाई अग्लो मञ्चमा दुरीसहितको आसन तय गरिएको थियो । अध्यक्षद्वयका लागि ठूला सोफाहरु अरु नेताभन्दा केही अगाडि राखिएका थिए । झलनाथ खनाल र माधव नेपालका कुर्सी/टेबल अलि पछाडि थिए । सचिवालयभन्दा तलका नेताहरु मञ्चभन्दा मुनि होचो स्थानमा थिए ।

हेर्नुहोस् मञ्चको तस्वीर

तर, बरिष्ठ नेता माधवकुमार नेपालले कार्यालय सचिव ईश्वरी रिजाललाई मञ्चमा बोलाएर मेरो आसन किन पछाडि राखेको भनेर अगाडि सार्न लगाएको एक नेताले बताए ।

त्यसैगरी बरिष्ठ नेता नेपालले अध्यक्ष ओली बोलदै गर्दा वीचमा दुईपटक क्रम गरेर ओलीलाई चिढ्याएको नेताहरु बताउँछन् । ओलीले आफ्नो मन्तव्यमा पार्टी एकताको चर्चा गर्दैगर्दा नेता नेपालले सामुहिक प्रयासले पार्टी एकता भएको हो भन्दै ओलीको प्रतिवाद गरे । त्यसैगरी सरकारको प्रशंसा गरिरहेका बेला नेता नेपालले आत्मप्रशंसा नगर्न ओलीलाई भने ।

केपी ओलीले माधव नेपालसँग रिसाउँदै तपाईको बोल्ने पालो आउँछ, त्यहीबेला बोल्नुहोला, आफूले के गर्नुभयो, त्यो पनि भन्नुहोला भन्दै जवाफ दिएका थिए ।

मञ्चमै भएको ओली-नेपालवीचको भनाभन  स्थायी कमिटीका सदस्यहरुले  प्रष्टै महसुस गरेका थिए । एकजना स्थायी कमिटीका सदस्यले अनलाइखबरसँग भने, ‘अध्यक्षका लागि विशेष सोफा र अरु बरिष्ठ नेताहरु लागि बेग्लै कुर्सीहरु राखेको हामीलाई पनि मन परेन । माधव कामरेडले त्यहाँ कुर्सी-टेबलका विषयमा केही भनिरहनुभएको  तलबाट देख्यौं, तर के भन्नुभयो, सुनिएन ।’

बैठकको एजेण्डामा गलफत्ती

स्थायी कमिटीको बैठकको सुरुमा  अध्यक्षद्वयका तर्फबाट भन्दै महासचिव विष्णु पौडेलेले पाँचबुँदे एजेण्डा प्रस्तुत गरेका थिए, जसमा स्थायी कमिटीका नेताहरु भीम रावल, अष्ट्रलक्ष्मी शाक्य, लीलामणि पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे लगायतले आपत्ति जनाए । उनीहरुले सरकारका कामहरुको समीक्षा गरिनुपर्ने बताएपछि बैठकको एजेण्डा परिमार्जन गरियो ।

अब शुक्रबार बस्ने बैठकले कोरोना रोकथामबारे सरकारका काम, सीमा समस्याको समाधान, पार्टीका कामहरुको समीक्षा, एमसीसी र अन्य विविध विषयमा छलफल गर्ने गरी एजेण्डा तय भएको नेताहरुले बताएका छन् ।

अब के हुन्छ ?

नेकपाभित्रको शक्ति सन्तुलनमा प्रधानमन्त्री ओलीले भनेजस्तै अब ‘बहुमतको खेल’ का लागि मैदान तयार भएको देखिन्छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतको समूहको गणितीय गठन्धन बलियो भएकाले स्थायी कमिटीमा केपी ओली पक्ष अल्पमतमा परेको छ ।

प्रचण्डलाई वा माधवकुमार नेपाललाई आफूतिर तानेर बहुमत जुटाउने ओलीको प्रयासको अब ‘च्याप्टर क्लोज’ भएको  माधव नेपाल पक्षका एक नेताले दाबी गरे ।

नेकपाको शक्ति सन्तुलन र अन्तरविरोधले कुन रुप लिन्छ भन्ने अहिले नै अनुमान लगाउन नसकिए पनि शुक्रबारदेखि पुनः बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कडा आलोचना हुने संकेत देखिएको छ ।

त्यसो त यसवीचमा प्रधानमन्त्री ओलीले केही मन्त्री र मुख्यमन्त्रीहरु थपघट गरेर भए पनि माधव नेपाल र प्रचण्ड पक्षलाई आफू नजिक ल्याउने प्रस्ताव पनि नगरेका होइनन् । तर, माधव नेपाल पक्षका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘अब त्यो च्याप्टर पनि क्लोज भइसक्यो, किनभने, समस्या मन्त्रीमा छैन, प्रधानमन्त्रीको कार्यशैलीमा छ, त्यसैले मन्त्रीहरु फेरेर समस्या समाधान हुँदैन, अब ‘एक व्यक्ति एक जिम्मेवारी’ मा जानैपर्छ ।

यदि नेकपा ‘एक व्यक्ति एक पद’को नीतिमा गयो भने केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा प्रचण्ड प्रधानमन्त्री बन्न मिल्दैन । किनभने, ओली-प्रचण्ड दुबै पार्टीका अध्यक्ष हुन् । ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै बन्न मिल्दैन भने यो नजिर प्रचण्डमा पनि लागू हुने नेकपाका नेताहरु बताउँछन् ।

त्यो स्थितिमा केपी ओलीले प्रधानमन्त्रीमा निरन्तरता दिनका लागि अध्यक्ष पद माधव नेपाललाई हस्तान्तरण गर्ने एउटा विकल्प हुन सक्छ । यदि ओली पार्टी अध्यक्षमा कायम रहने हो भने उनले प्रधानमन्त्रीको जिम्मेवारी प्रचण्डबाहेक अरु कुनै नेतालाई दिनुपर्ने हुन सक्छ ।

तर, अब पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा आफैं बसिरहनु  केपी ओलीका लागि महंगो पर्ने नेकपाको पछिल्लो शक्ति सन्तुलनले देखाएको नेताहरु बताउँछन् ।

यसका साथै पार्टीभित्रको फेरिँदो शक्ति सन्तुलनका कारण एमसीसी र अन्य एजेण्डाहरु पनि प्रभावित हुने संकेतहरु देखा परेका छन् ।

र, यो सबै परिस्थितिको एकमात्र कारण हो- ओली र प्रचण्डवीचको चोचोमोचो ‘ब्रेकअप’ हुनु । अनि माधव नेपाल र ओली पक्षको दूरी फराकिलो हुनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment