+
+
Shares

व्यङ्ग्य : आफ्नो गाउँ पावरफूल होइन, टावरफूल बनाउँ !

शैलेश भट्टराई शैलेश भट्टराई
२०७७ असार १४ गते १३:३६

गणतन्त्र आएपछि, अझ यसो भनौं- गाउँ गाउँमा सिंहदरबार छिरेपछि अधिकांश गाउँ नगरमा धमाधम भ्यू टावर बन्न थालेका छन्। कोरोना कहरले त्यसमा अलिकति ब्रेक लाए भिन्दै कुरा नत्र भ्यू टावरको जोडमा एक किसिमको होड नै छ। यहाँ केही भएन भन्नेहरूका लागि यो गतिलो तोड हो। देशलाई समृद्धिपथमा लैजाने निर्णायक मोड पनि हो।

उन्नतिको यस्तो महान् रफ्तारलाई खिसी गर्दै कतिपय महानुभावले ‘मुखमा मोही छैन, डँडाल्नुमा घिऊ’ भनेर व्यङ्ग्य पनि गरे। हो, त्यस्तै अद्भूत चेत भएका आत्माहरूका लागि पंक्तिकार यस विषयमा केही प्रकाश पार्ने अनुमति चाहान्छ ।

सरसर्ती हेर्दा पनि जनतालाई पावरफूल बनाउनु भन्दा गाउँ नगरलाई टावरफूल बनाउने काम धेरै हिसाबले सजिलो, उपयुक्त र लाभकारी छ। जनतालाई पावरफूल बनाउन गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजिरोटीको दिगो र दरिलो व्यवस्था गर्नुपर्यो। गरिबी हटाउनुपर्यो। अन्याय, अत्याचार, शोषण, उत्पीडन, दमन उन्मूलन गर्नु पर्यो। यी सबको लागि पहिला आफैं सुध्रिनु पर्यो। सत्तरी करोडबाट शून्यमा झर्नुपर्‍यो। सिंगापुरको उपचार कान्तिपुरमा गर्नुपर्‍यो। छोराछोरी पढाउन पद्मोदय, जुद्दोदय, दरबार, महेन्द्ररत्न वा रत्नराज्य वा यस्तै स्कूल/कलेज रोज्नु पर्‍यो। रोज्नु भन्दा अघि यिनलाई जरैदेखि सुधार्नु पर्‍यो। अनेकौं नाममा खोलिएका विद्यार्थी र शिक्षकका राजनीतिक संगठन उन्मूलन गर्नुपर्यो| ओहोहोहो! यति झन्झटिलो, पट्यारलाग्दो,खतरनाक, प्रतिगामी र आत्मघाती बाटो हिंड्नु सट्टा टक्क टावर ठड्यायो, दुनियाँलाई देखायो। धेरै सहज छ।

हाम्रा टावरले दुबईको बुर्ज खलिफालाई उछिन्दिए भने त झन् गिनिस बूक भन्ने जिनिसमा नाम लेखिनेछ। त्यसपछि त पर्यटक ओइरोको पहिरो! अनि हामी कमाएको कमायै, बिचरा दुबई हेर्‍या हेर्‍यै।

टावर बनाउने पैसा अस्पताल, स्कुल, कलेज इत्यादिमा लगानी गर्नु नि´ भनेको पनि सुनियो। सरकारले अस्पताल, स्कूल,कलेज आदिमा लगानी ओइर्‍याए निजी अस्पताल र निजी स्कूल कलेजका स्रोत साधन बेरोजगार हुँदैनन् ? तिनको ग्यारेन्टी कसले लिने ? तपाईंले लिनुहुन्छ ? पक्कै लिनुहुन्न । त्यसकारण टावरमात्र बनायो भनेर चिच्याउनु हुन्न ।
लोकतन्त्र र गणतन्त्रका त्यत्रा त्यत्रा अभूतपूर्व उपलब्धिहरू जस्तै आम्दामी, क्रयशक्ति, रोजगारी, उत्पादन, न्याय आदिमा भएको प्रगति भ्यू टावर नचढी देखिंदैनन्। किनभने ती शायद आकाशतिर नै देखिँदा हुन्। भुइँमा भए पनि ती कोरोना भन्दा साना हुँदा हुन् | त्यसैले ती भुइँमा देखिंदै देखिँदैनन्। भुइँमा त खाली गरिबी, बेरोजगारी, अन्याय, अत्याचार, शोषण, उत्पीडन, जाम, प्रदुषण, खाल्डाखुल्डी मात्रै देखिन्छ। स्वाभाविक हो, भुइँमा देखिने यस्ता कुरा कसैलाई हेर्न मन लाग्दैन। टावर चढे त्यस्ता अवाञ्छित कुराहरू हेर्नुपर्दैन। त्यसैले टावरको महत्त्व छ।

जहाँ गयो, जता गयो हाम्रा नायक, महानायकज्यूहरूलाई यिनै गरीब र यिनका झुप्राले पिछा छोड्दैनन्। त्यसैले वहाँहरूलाई त्यस्ता चीज देख्नु र हेर्नु नपरोस् जस्तो लाग्छ। वहाँहरूलाई मात्रै होइन, सबै मान्छेलाई यस्तै लाग्छ। यो मानवीय स्वभाव हो। यसको सम्मान गरौं।

पिर्कैमा उभिएर सही, सलामी लिन मन लाग्छ। भुइँमा खुटटा टेक्नै मन लाग्दैन। सकेसम्म हेलिकोप्टर, नभए पनि पजेरोमा सुलुलु गुड्ने मनोकाङ्क्षा हुन्छ। पालिका प्रमुखकी मित छोरीको बिहे होस् वा आफ्नो विदेश भ्रमण जेमा पनि पुरै पालिका विदा दिन कत्ति आनन्द लाग्छ। क्रान्तिकालमा झैं अहिले पनि रातो कपडाप्रतिको मोह रत्तिभर घटेको छैन।बरू बढ्दो छ। फरक यत्ति हो- क्रन्तिकालमा ती राता कपडा कपडा भुइँभन्दा माथि प्रयोग हुन्थे अहिले ती भुइँमा प्रयोग हुन्छन् । महाराजाकालीन सवारीलाई माथ दिने गरी लर्के सवारी चलाउनुहुन्छ। अब एकाध दशैं धैर्य गर्ने हो भने स्थानीय तहका जनप्रतिनिधिले पनि राजतन्त्रकालमा महाराजले झैं लाम लाएर `प्रजा´लाई टीका बक्सेको दृष्य पनि आम हुनेछ। यो पनि मानवीय स्वभाव नै हो । यसको पनि सम्मान गरौं।

हो, यी र यस्तै प्रवृत्तिको मानक हो भ्यू टावर, जहाँबाट धनाढ्य र नवधनाढ्यका गगनचुम्बी महल, शपिङ मल,अनेकौं खुद्रा टावर र कम्प्लेक्सहरूको सुन्दर दृश्यावलोकन गर्न खूब स्वाद आउँछ। डोजरे विकासका दामी दृश्य हेर्न झन् मज्जा आउँछ । आफ्नो एकतले घरको छतमा उक्लेर दृश्यावलोकन हेर्दा त कति आनन्द आउँछ भने झन् त्यत्रो अग्लो टावर चढ्दा कति आनन्द आउँदो हो त्यसको हिसाबकिताब गरेर साध्य नै छैन।

त्यसैले पंक्तिकार त भन्छ, स्थानीय सरकारको कार्यालय नै यस्तो भ्यू टावरको सबैभन्दा माथि राख्नु पर्छ ताकि बेला बखत `खै सरकार ?´ भनेर व्यङ्ग्य कस्ने व्यङ्ग्यात्माहरूलाई ‘त्यति अग्लो ठाउँमा अवस्थित सरकार पनि नदेखेको’ भन्दै मजाले जवाफ दिन पाइयोस्।

टक्क भ्यूटावरमा चढेर मनभित्र घाउ नै घाउ भए पनि जुँगामा ताउ र आँखामा दूरवीन लाउँदै गाउँ, शहर, डाँडाकाँडा, गढी, गौंडा, गोश्वारा हेर्नुको मजा भिन्दै हुन्छ। किनभने भ्यू टावरको वरिपरि सबै लिलिपुट हुन्छन्। खान नपाएका, फोहोरी, रोगी, राले, सिंगाने मान्छेको चित्कार,रोदन सबै म्यूट हुन्छन्। आफ्नो पालिका र त्यसका सब वडाहरू क्यूट देखिन्छन्। स्मार्ट देखिन्छन् ।

पृथ्वीनारायण शाहको जमानामा टावरको चलन थिएन । त्यसैले ती चन्द्रागिरी चढे । त्यहींबाट नेपाल एकीकरणको रणनीतिक ज्ञान लिए। तर, अहिले भ्यू टावरको जमाना छ। चन्द्रागिरीभन्दा अग्लो भ्यू टावर बनाई त्यसमाथि चढेर भ्यू हेर्दा पृथ्वीनारायण शाहलाई भन्दा उन्नत कुनै दूरगामी महत्वको तत्वज्ञान फूर्न सक्छ। आर्थिक सामाजिक एकीकरणको साइत जूर्न सक्छ। यसरी सयौं पृथ्वीनारायण जन्माउन सक्ने क्षमता बोकेको टावर निर्माणको विरोधको कुनै तुक छैन।

टावर नचढी भुइँमै बसेर भुइँफुट्टे तालले त गहन अध्ययन हुँदै हुँदैन। व्यष्टी अध्ययन मात्र हुन्छ| समष्टि अध्ययन हुँदैन। यो अनुभव पंक्तिकारको पनि हो।अर्थात् जे छ उचाइमै छ। सूर्य,चन्द्र,तारा,हिमाल, पहाड सबै। दिल्ली, बैंकक, सिंगापुर जाने जेट पनि उचाईमै हुन्छ। त्यसैले पनि उचाईको एउटा प्रतिनिधि मानक भ्यू टावरको महत्व छ।

कसै कसैले अरूले घोडा चढे भनेर हामी धुरी चढ्नु ठीक होइन पनि भने। तर, हामी घोडा पनि चढ्छौँ र धूरीजस्तै टावर पनि चढ्छौं।

कसरी ?

विकास बजेट यसरी भ्यू टावरमा ओइर्‍याएपछि नयाँ-नयाँ सडक बनाउने सम्भावना कम हुँदै जान्छ भने भएका सडक पनि स्तरोन्नति र मर्मत सम्भार गर्न सकिने छैन। भलै प्रमुख र वडाप्रमूखज्यूका डोजरहरूलाई भने बाटो खन्न खाँचो पर्ने छैन। ती डोजरे बाटोमा हामीले यातायातको साधनको रूपमा घोडा प्रयोग गर्नुपर्ने दिन नआउला भन्न सकिन्न। अनि त्यही घोडा चढेर भ्यू टावर जान पाइनेछ। घोडा चढेर भ्यू टावर घुम्न जानुको फेरि अर्कै मज्जा। मज्जा माथि मज्जा थप्ने यस्तो भ्यू टावरको विरोध चाहिँ केका मज्जाले गर्नु भन्या ?

सतहको विकास सतही हुन्छ। कसैले देख्दै देख्दैन। देखे पनि लेख्दै लेख्दैन। अग्ला अग्ला भ्यू टावर बन्ने समाचार देखेर नै पंक्तिकारलाई यति लेख्ने जाँगर चल्यो। स्कुल, अस्पताल खोलेको भए, उद्योग धन्दा खोलेर बेरोजगारी घटाएको भए कहाँबाट आउनु नि यति जाँगर र यतिका शब्द !

सतही ज्ञान, सतही प्रेम जस्ता कुरा जति खतरनाक हुन्छन् त्यति नै खतरनाक हुन्छ सतही विकास। सतहमा विकास खोजेर समृद्धि कदापी आउँदैन। हाम्रो समाजमा सतही घर अर्थात् भुइँतले घर हुने र टावरे घर अर्थात् चार/पाँच तले घर हुने कसको इज्जत उँचो हुन्छ ? हेलिकप्टरमा उड्ने हेलिफुट्टा मनुवा र भुइँमा कुद्ने भुइँफूट्टा मनुवा कसको मान बढी हुन्छ ?

हिमाल चढ्ने र थुम्को चढ्ने कसलाई धेरैले चिन्छन् ? जेट उडाउने पाइलट र गाडी गुडाउने पाइलट कसको समृद्धि सूचकाङ्क उच्च हुन्छ? हाइटको जग्गा भनेपछि भाउ नै अर्को हुन्छ ।

यी तथ्यहरूले पनि टावरको महत्त्वलाई नै ‘टावरीकृत’ गर्दैनन् र ? त्यसैले अब हरेक स्थानीय सरकारले ‘हाम्रो पावर: गाउँ गाउँमा भ्यू टावर’ भन्ने नारा तय गरी अघि बढ्नुपर्छ | भुइँचालोमा भत्किएका जनताका घर बनून् वा नबनून्, भीमसेन टावर ठडिनु पर्छ। सार्बजनिक बसहरू जहाँसुकै बसून् ,बसपार्कमा अर्को समानान्तर टावर खडा हुनुपर्छ। यही त हो लोकतान्त्रिक विकासको समृद्धि सूचक सुन्दरता।

अन्त्यमा,

न्याय अन्याय छुट्याई हेर्न भगवान् स्वयम्भूनाथ त्यत्रो अग्लो डाँडामा बस्नुभएको छ। पृथ्वीनारायण शाह चन्द्रागिरीको अग्लो डाँडो नचढ्नु भएको भए नेपाल एकीकरणले मूर्तरूप लिन्थ्यो कि लिन्नथ्यो भन्न गाह्रो छ। बहत्तरे भुइँचालोले काठमाडौंको भीमसेन टावर ढल्नु केही महिना अघि भीमसेन टावर जत्तिकै अग्ला व्यक्तित्व त्यसमाथि चढेर काठमाण्डौ उपत्यकाको वृहत् अवलोकन नगर्नु भएको भए नेपाली जनताको सत्तरी बर्ष देखिको सपना अर्थात् संविधान सभाबाट संविधान बनाउने सपना पूरा हुन्थ्यो कि हुन्नथ्यो भन्न गाह्रो छ।

संविधान बनेपछि ती अग्ला व्यक्तित्वले त्यतिकै अग्लो आसनमा विराजमान हुन पाउनुभो। यो संयोग नहुन सक्छ। संयोग होइन भने अग्लो टावरको आरोहण पछि अग्लो पदमा विराजमान हुन पाउनु भो भन्न मिल्छ।त्यसैले वहाँमा गज्जबको ‘टावरीय लगाव’ छ| यी धार्मिक, ऐतिहासिक र राजनीतिक तथ्यले पनि त भ्यू टावरको महत्त्वलाई पुष्टि गर्दछन् । देउतादेखि नेतासम्म अनि राजादेखि रंकसम्म सबैमा टावर वा त्यस्तै अग्लो ठाउँमा बस्ने, दृश्यावलोकन गर्ने यस किसिमको `टावरीय चेत´ ले भ्यू टावरको महत्व दर्साउँदैन र ?

लेखक
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?