Comments Add Comment

भारत-नेपालबीच तनाव स्याउप्रेमीका लागि महँगो पर्छ ?

काठमाडौं । भारतभरका ठूलो सहरहरूमा अहिले हिमाचल प्रदेशको स्याउको प्रतीक्षा छ । अबको एक महिनामा यी स्याउहरू बजारमा पनि आउनेछन् । तर यसपटक स्याउ बजारमा पुर्‍याउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा व्यवसायीहरू चिन्तित देखिएका छन् ।

करिब पाँच लाख नेपाली मजदुर हिमाचलको स्याउ बजारको मेरुदण्ड मानिन्छन् । तर उनीहरू गत अप्रिलपछि बगानमा फर्किएका छैनन् । यसअघि कोरोना भाइरस (कोभिड-१९)को कारण समस्या उत्पन्न भएको थियो । तर अहिले नेपाल र भारतको बीचमा देखिएको तनावका कारण भारतीय कारोबारीको चिन्ता बढेको छ ।

दुई मुलुकको सम्बन्ध बिग्रनुले अहिले अन्योल अवस्था सिर्जना गरेको छ । यसअघि महामारीमा नेपाल नगई बसेका मजदुरहरू पनि अहिले नेपाल गएका छन् ।

सामान्य हिसाबमा नेपाली मजदुर स्याउ टिप्ने मौसमभन्दा निकै छिटो मार्च-अपि्रलमा आइपुग्थे । नेपाली मजदुर स्याउ टिप्नेदेखि स्याउको डिब्बा प्याकिङ, ट्रकमा लोड/अनलोड गर्ने काममा पनि सिपालु हुन्छन् । उनीहरू शारीरिक रुपमा पनि फिट हुन्छन्  र पहाडमा बाक्सा बोक्ने काम पनि सहजै गर्न सक्छन् ।

प्रदेशका हार्टिकल्चर मन्त्री नरेन्द्र ब्रागाटाका अनुसार अहिले बगैँचामा मजदुरको अभाव देखिएको छ । उनले भने, ‘यो चिन्ताजनक छ । हाम्रो प्रयासको बाबजुद नेपाली मजदुरले यो सिजनमा काममा आउने इच्छा देखाएका छैनन् । व्यक्तिगतरुपमा मैले प्रयास गरिरहेको छु तर मलाई धेरै आशा भने छैन ।’

ब्रागाटाको आफ्नै बगैँचा पनि छ । उनका अनुसार मुख्यमन्त्री जयराम ठाकुरले पनि यो विषय विदेश मन्त्रालयसँग उठाएका थिए । साथै, उनले केन्द्रीय गृहमन्त्री अमित शाहसँग सम्पर्क गर्ने प्रयास राखेका थिए । राजनीतिकरुपमा केही प्रयास भएको छ । यद्यपि अहिले पनि स्थिति अनुकूल भने हुन सकेको छैन ।

केही नेपाली मजदुरको परिवार पनि यही बगैँचामा बस्छन् । उनीहरू यहीँ बसेका छन् र उनीहरूका छोराछोरी स्थानीय स्कुलमा जान्छन् र उनीहरूले सरकारी योजनाको लाभ पनि लिइरहेका छन् ।

यद्यपि यो मौसममा नेपालबाट आउने मानिसको महत्वपूर्ण योगदान रहने गरेको थियो । उनीहरू समयमा नै आउँथे र अक्टोबर नोभेम्बरसम्म काम गर्थे । लकडाउनपछि अधिकांश जिल्लामा निर्माण कार्य, खेती, फलफूल खेती वा अन्य क्षेत्रमा काम गर्ने मजदुर भारतमा नै बस्नुपर्ने हो कि भन्ने चिन्तामा थिए । उनीहरूले घर फर्किने निकै प्रयास पनि गरेका थिए । सरकारले पनि धेरै मजदुरलाई घर जानका लागि साधन उपलब्ध गराएको थियो ।

अभूतपूर्व संकट

थियोगका सीपीआई-एमबाट विधायक बनेका राजेश सिंघा भन्छन्, ‘अब उनीहरूको द्विविधा कोरोना भाइरसको संकटको विषयमा छैन । मलाई लाग्छ कि उनीहरू भारत र नेपालको बीचमा देखिएको दुस्मनीको भावनाको विषयलाई लिएर आशंकित भएका छन् । उनीहरूलाई भारत आउनबाट रोक्न कुनै सूचना जारी गरिएको पनि हुन सक्छ । हामी स्याउ उत्पादकको लागि यो एक अभूतपूर्व संकट हो ।’

यो क्षेत्रमा बस्ने जोगिन्दर चौहानले आफूले सँगै काम गर्ने नेपाली मजदुरको खातामा एडभान्समा पैसा पनि पठाएको बताए । उनलाई मजदुरको कमीको सामना गर्नुपर्दैन भन्ने लागेको थियो । तर मजदुरहरूले सीमामा लगाइएको प्रतिबन्धको कारण आफूहरू भारत आउन नसक्ने जानकारी उनलाई गराइसकेका छन् । केही मजदुरले पैसा फिर्ता गर्ने वा आगामी वर्ष मिलाउने कुरा गरेका छन् ।

मुख्यमन्त्री जयराम ठाकुरले आफू पनि स्याउ टिप्ने मजदुरको कमीबाट चिन्तित रहेको बताएका छन् । पहिला उनीहरू घर फर्केको र सीमा सिल भएको कारण अहिले फिर्ता आउन नसकेको उनको भनाइ छ ।

ठाकुरले आफूले केन्द्र सरकारसँग यो मुद्दा उठाएको र राजनीतिक माध्यमबाट सहयोगको लागि आग्रह गरेको बताएका छन् । त्यसका साथै बिहार, यूपी, हरियाणा र अन्य केही क्षेत्रबाट श्रमिक ल्याउने प्रयास पनि जारी रहेको उनको भनाइ छ । बाहिर काम गर्न जाने धेरै मजदुर पनि अहिले हिमाचलमा आएकाले उनीहरूलाई पनि काममा लगाउन सकिने उनले बताए ।

फैलिएका हल्लाहरू

बगैँचामा स्थायी रूपमा बसेका नेपाली परिवारहरू नेपालमा फैलिएको हल्लाहरूको विषयमा बताउने गर्छन् । कोटगढमा बस्ने राम बहादुरलाई सहयोगीहरूले नेपालबाट भारत आए सरकारले नेपाली नागरिकता रद्द गरिदिने र सिजन सकिएपछि घर फर्किने बेलामा सीमा बन्द गरिदिने जस्ता हल्ला फैलिएको बताउने गरेका छन् । साथै, भारतबाट बैङ्क खातामा आउने पैसा पनि जफत गरिदिने हल्ला उनीहरूले सुनाउँछन् ।

नारकंडाको एक स्याउ बगैँचाका मालिक एलसी डोगरा मानिसहरू अहिले कोभिड-१९ को कारण निकै डराएको बताउँछन् । हिमाचलमा क्वारेन्टिनको मापदण्ड पनि निकै कडा किसिमको रहेको कारण पहिला हिमाचलमा आएर व्यवसाय गर्न चाहने मानिस पनि अहिले नआएको उनको भनाइ छ । हिमाचल प्रदेशको कडा किसिमको नियमले यसपटकको स्याउ व्यापारमा नकारात्मक असर पर्नसक्ने उनको भनाइ छ ।

हिमाचल प्रदेशको क्वारेन्टिनको नियम पनि निकै कडा छ । यदि तपाईं कोरोना संक्रमण फैलिएको सहरबाट हिमाचलमा जानुपर्दा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । यस्ता सहरभन्दा बाहिरबाट आएका मानिसले पनि आफ्नै घरमा अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।

हिमाचलका कृषिमन्त्री रामलाल मरकण्डाले स्याउको बगैँचामा काम गर्न आउने मजदुरलाई क्वारेन्टिनको नियम कम गर्न सक्ने बताएका छन् । यद्यपि अहिलेको समस्या नेपालबाट मजदुर नआउनु रहेको उनले सुनाए ।

त्यसैले अहिले सबै स्याउ बगैँचाका मालिकको लागि उत्पादनको एक समस्या उत्पन्न हुन सक्ने बताइएको छ । यस वर्ष स्याउ उत्पादन पनि ४० देखि ५० प्रतिशत कम भएको छ । गत वर्ष २० किलोका चार करोड बाक्सा तयार गरिएको थियो । तर, यसपटक भने एकातर्फ उत्पादन घटेको छ भने दोस्रोतर्फ उत्पादन भएको स्याउ पनि ग्राहक समक्ष पुर्‍याउन समस्या उत्पन्न हुन सक्ने देखिएको छ ।

स्रोत : बीबीसी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment