
ठ्याक्कै रातको ११ बजेर ५९ मिनट गएछ,
कमरेडलाई
जन्मदिनको शुभकामना टक्र्याउने समय भएछ,
आतुर मेरा हातका औंलाहरु झटपट काम सकेर
विजय उत्सब मनाउंन थाल्छन्
मनमस्तिष्क र मुटुभरी दियो बत्ति बाल्छन्
धन्न म भन्दा अगाडी कमरेडलाई
कसैले शुभकामना दिएनछ
दिएको भए त अनर्थ हुन्थ्यो
लाभको पद पाउने मेरो आशा
अधुरै हुन्थ्यो
मेरो मन अमिलो भएर रुन्थ्यो
मन प्रफुल्ल हुन्छ
अब त कमरेड पनि खुशीले नाच्नु भयो होला
नथाकुन मेरा पि्रय कमरेडका आँखा
लाईक र कमेन्ट गनेर
फोन पनि गरेको हो कमरेडलाई
शुभकामना दिनलाई
तर फोन उठाउने कष्ट गर्नु भएन
बल्ल सम्झना भयो
कमरेड पहिले पनि फोन खासै उठाउनु हुन्नथ्यो
विषेश गरेर जब
जनताका समस्या जटिल बन्छन्
फोन उठाएर मात्र के गर्नु कमरेडले
सबैले आफ्नो गुनासो मात्र भन्छन्
चिन्ता नगर्नुस् कमरेड
केकको पैसा मै तिरौंला
कमरेड आज त ठुलो केक पनि काट्नुपर्छ
बरु बजेट सामाजिक सुरक्षा भत्तामा मिलाईदिनु होला
जनतालाई चैं ठेकेदारले दिएको भन्नपर्छ ।
स्कुल पढ्दा मेरो घरको भित्ताहरुमा
विध्ाालयको विषय तालिका टाँसिएको हुन्थ्यो
पानी पर्दा भित्ताहरु रसाउँथे
र मेरो घर बेस्सरी रुन्थ्यो,
तालिकाहरु भिजेको हुन्थ्यो
आज मेरो घरको भित्ताहरुमा चिटिक्क
कमरेडहरुको जन्मदिन टाँसिएको छ
त्यो टाँसिएको भित्ताहरुमा
मेरो आशाहरु र कमरेडको भरोसाहरु पनि गाँसिएको छ ।
हैन हैन
यो गुलामी, दलाली, चाप्लुसी केही हैन
यो त हाम्रो संस्कृती हो कमरेड
जसले हामीलाई
सुन्दर समुन्नत समाजको विकासमा
अग्रसर बनाउँछ
यसैमा हामी सबैको भविष्य रमाउँछ
यसैमा हामी सबैको भविष्य रमाउँछ ।
प्रतिक्रिया 4