Comments Add Comment

जब हाम्रो भान्साको खानेकुरा विषाक्त बन्छ

मानौं अहिले हामीले कुनै खानेकुरा पकाएर खायौं । उक्त खानेकुरा स्वादिलो, स्वस्थ्यकर र पोषिलो छ । अर्थात यो खानेकुराबाट हामीले स्वास्थ्य–लाभ लिन्छौं । पेटमा कुनै गडबडी हुँदैन । न अपच हुन्छ, न पेट दुख्छ ।

त्यही खानेकुरा १२ घण्टापछि खाने हो भने के होला ?

त्यसको असली स्वाद हराइसकेको हुन्छ । बास्नाको गन्ध आउन थाल्छ । उक्त खानेकुरा सेवन गरेपछि पेट दुख्न थाल्छ ।

अति सामान्य कुरा हो, पकाएको कुनैपनि खानेकुरा लामो समयपछि सेवन गर्दा त्यसले हानी गर्छ । हामी धेरैजसो खानेकुरा पकाएर खान्छौं । यसरी पकाएर खाने जतिपनि खानेकुरा छन्, त्यो निश्चित अवधिभित्रै सेवन गर्नुपर्छ ।

पकाएको खानेकुरा जति जति समय गुज्रिदै जान्छ, उत्तिनै खराब हुँदै जान्छ । निश्चित अवधीपछि उक्त खानेकुरा सड्ने, गल्ने प्रक्रियामा जान्छ । त्यसपछि खानेकुरामा हानिकारक जीवाणुहरु बढ्न थाल्छ । यस्ता खानेकुरा शरीरमा नपच्ने मात्र होइन, हानिकारक समेत हुन्छ । खाना खराब हुँदै जाँदा त्यसमा रहेको ब्याक्टेरिया सात घण्टापछि एक लाख गुना बढ्न पुग्छ । यसले खानामा टक्सिन अर्थात विषाक्त तत्व बढाइदिन्छ ।

यसैगरी हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ । तर, त्यही सागलाई लामो समय पकाइयो भने त्यसको पोषक तत्व नष्ट हुन्छ । दुधमा पनि क्याल्सियम, भिटामिन डि जस्ता थुप्रै किसिमका पोषक तत्व पाइन्छ । तर, दुधलाई निश्चित समयभन्दा बढी पकाइयो भने त्यसमा रहेको पोषक तत्व रहँदैन ।

कुनैपनि खानेकुरा कति समय पकाउने वा कसरी पकाउने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । हरेक खानेकुरा पकाउने खास विधी र तौरतरिका हुन्छन् । उचित ढंगले निश्चित समयसम्म पकाएको खानेकुरा पोषिलो हुन्छ । तर, त्यही खानेकुरा लामो समयसम्म पकाउने हो भने त्यसमा रहेका पोषक तत्व नष्ट हुन्छ । यस्ता खानेकुराले पेट त भरिन्छ तर शरीरलाई फाइदा पुग्दैन ।

कुनैपनि खानेकुरा कसरी पकाइन्छ वा त्यसमा के मिश्रण गरिन्छ भन्ने कुराले पनि पोषक तत्व कति प्राप्त हुन्छ भन्ने कुरा निर्क्यौल गर्छ ।

खानेकुरालाई सही ढंगले भण्डारण गर्ने, पकाउने र खाने गर्नुपर्छ । यसरी खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले ग्रहण गर्छ । अन्याथा, खानेकुरा रोगको स्रोत बन्छ । भनिन्छ नि, संसारमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा दोब्बर खान नजानेर मर्छन् ।

हामीले खाने खाना यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक विभिन्न पोषक तत्व प्राप्त हुन्छ । प्रोटिन, क्याल्सिमय, भिटामिन, फाइबर, फलाम आदि तत्वहरु खानेकुराको माध्यामबाट प्राप्त हुन्छ । यी पोषक तत्व हाम्रो शरीरका लागि अनिवार्य हुन् ।

त्यसैले खानेकुरा सेवन गर्नु भनेको त्यसमा रहेको विभिन्न पोषक तत्व ग्रहण गर्नु हो । जब कुनैपनि खानेकुरा पकाएर लामो समय राखिन्छ, त्यसमा रहेको पोषक तत्व क्रमस नष्ट हुँदै जान्छ । त्यती मात्र होइन, रासायनिक प्रतिक्रियाद्वारा त्यो विषाक्त बन्दै जान्छ । त्यसैले निश्चित अवधीभन्दा लामो समय राखेर खाइएको खानाले शरीरलाई रोगी, जीर्ण बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment