Comments Add Comment

महामारी नियन्त्रणमा हामी एकपछि अर्को गल्ती गर्दैछौं

कोभिड १९ को पछिल्लो तथ्याङ्कहरू हेर्दा नेपालको विभिन्न ठाउँमा विभिन्न चरणमा संक्रमण फैलिएको छ भन्न मिल्छ। किनकि, अहिले नेपालका सबै ठाउँको संक्रमणमा एक रूपता छैन । कुनै ठाउँमा एकदमै बढी छ भने कुनै ठाउँमा एकदम कम । कुनै ठाउँमा संक्रमण छँदै छैन। संक्रमणको चरणलाई केस हेरेर परिभाषित गर्ने पनि होइन। १० वटा केस हुँदा दोस्रो र २० वटा केस हुँदा चौथो चरण भन्ने हुन्न । संक्रमणको चरणको इपिडिमियोलोजीको हिसाबले अत्यन्तै महत्व छ। किनकि सम्पूर्ण प्लानहरू संक्रमणको चरणलाई हेरेर गरिन्छ।

मेरो बुझाइअनुसार नेपालमा संक्रमण समुदायमा संक्रमण फैलिसकेको छ। किनभने हाम्रोमा १० हजारभन्दा बढी केस पुगिसक्यो । संक्रमणको स्रोत पत्ता नलागेको बिरामीहरू धेरै नै भेटिसके । मृत्यु हुने आधा दर्जनभन्दा बढी मानिसको संक्रमण स्रोत पनि भेटिसकेको छैन । संक्रमण कहाँबाट सर्‍यो भन्ने कुरा थाहा नपाउनुको अर्थ नै समुदायमा संक्रमण फैलिइसक्यो भन्नु हो ? मलाई या तपाईंलाई संक्रमण पुष्टि भयो भने हामीलाई कहाँबाट सर्‍यो भन्ने थाहा हुनुपर्छ । कोही व्यक्ति संक्रमितसँगको सम्पर्कमा आएको छैन, भारत या तेस्रो मुलुकबाट आएको मानिससँग सम्पर्क पनि भएको छैन । संक्रमितसँग पनि भेटेको छैन भने कहाँबाट सर्‍यो त ?

एउटा मानिसलाई संक्रमण भयो भने सरदर मृत्यु हुने दिन १७/१८ दिन हुन्छ। कोरोना भाइरस संक्रमितको संख्या दोब्बर हुन लाग्ने समय ६/७ दिन हुन्छ । हरेक ६/७ दिनमा संख्या दोब्बर हुँदै जान्छ । धेरै फैलिएको ठाउँमा त २/३ दिनमै संक्रमण दोब्बर हुन्छ ।

संक्रमितको मृत्यु हुने दिन १८ लाई मानियो भने एक जना संक्रमितको मृत्यु हुँदा संक्रमण तेब्बर हुने सम्भावना हुन्छ। हाम्रो यथार्थ के हो भने हामीले पत्ता लगाएको संक्रमितको संख्या नै कम छ । कुल संक्रमितको संख्या थाहा पाउन सक्दा मात्र कोरोनाको मृत्युदर यथार्थ आउन सक्छ। अहिले मृत्युदर ‘जिरो पोइन्ट फाइभ’लाई लिँदा पनि २ सय जनामध्ये १ जनाको मृत्यु भएको हुन्छ। १८ औं‌ दिनमा मृत्यु भयो भने एक जना मर्दा १८ दिनअघि २ सय संक्रमित रहेछन् भन्ने बुझ्नुपर्छ। अघि नै भने ६/६ दिनमा संक्रमितको संख्या दोब्बर हुन्छ। पहिलो ६ दिनमा २ सयबाट संक्रमित ४ सय पुग्छन्। १२ औं दिनमा ४ सयबाट ८ सय पुग्छन् भने १८ औं दिनमा ८ सयबाट १६ सय पुग्छन् ।

एउटा समाजमा एक जना मानिसलाई संक्रमित भएर मृत्यु भइसक्दासम्म त्यो समाजमा १६ सय जना संक्रमित छन् भनेर अनुमान गर्न सकिन्छ। संक्रमित १६ सयको ठाउँमा ८ सय नै भए भने पनि यो संख्या एकदमै ठूलो हो। नेपालमा कोरोना संक्रमणको कारण मृत्यु भएको एक महिना भयो। पहिलो मृत्यु सुत्केरी महिलाको थियो। उनी गोंगबु बस्थिन्। टिचिङमा भर्ना भएकी थिइन्। भर्ना भएको १०/१२ दिनपछि उनको मृत्यु भयो। उनलाई संक्रमण गोंगबुमा भयो कि टिचिङमा ? मृत्यु त धुलिखेलमा भएको थियो। गोंगबु या टिचिङ अस्पतालबाट संक्रमण सरेको हुनुपर्थ्यो, तर पत्ता लागेन ।

पछिल्लो समय हाम्रो व्यवस्थापन झन्-झन् फितलो हुँदै गएको छ। यसका असरहरू देखिन पनि सुरु भएको छ। अबको २ हप्तामा यसको असर झन् भयानक देख्न सकिन्छ

काठमाडौंमा नै यस्ता तीन/चार जना मानिसको मृत्यु भइसक्यो । जसको संक्रमण स्रोत थाहा छैन । त्यसैगरी काठमाडौंको विभिन्न ठाउँमा यहीका मानिसमा पनि संक्रमण देखिएको छ। बाहिरबाट आएका मानिसमा पनि देखिएको छ। यो कुराले काठमाडौंमा संक्रमण छ भन्ने कुरा त्यतिकै प्रमाणित हुन्छ । धेरैवटा केस र धेरै ठाउँमा संक्रमण स्रोत देखिन छाड्यो भने त्यो नै कम्युनिटी ट्रान्समिसन हो। हामीले ठोकुवा गरेर भन्नको लागि डाटा चाहिन्छ। तर सरकारले संक्रमण स्रोत पत्ता नलागेको केसहरूको तथ्याङ्क नै दिएको छैन। तैपनि अलिक धेरै केसहरू भएको स्थानमा समुदायमा संक्रमण छ भन्न सकिन्छ।

अनलाइनखबरको एउटा लेखमा नै सरकारका सहप्रवक्ता समिर अधिकारीले इडीसीडीले संक्रमण स्रोत पत्ता नलागेका केसहरूको डाटा नदिएकाले अहिले नै समुदायमा संक्रमण देखिएको छैन भन्नुभएको रहेछ । यस्तो महामारीको बेला सरकारले यस्तो भन्ने हो त ? मन्त्रालय र इडीसीडीको समन्वयको अभाव धेरै पटक छताछुल्ल भएको छ। यसरी पनि चल्छ ? चिठी लेखेर भन्नुपर्ने हो तथ्याङ्कको लागि ? यस्तै समस्याहरू धेरै छन्।

हाम्रा विभिन्न विज्ञहरूले नबुझेको कुरा के हो भने चीनमा संक्रमण नोबेम्बरबाट सुरु भएर डिसेम्बरमा भटाभट मान्छे मर्न थालेको देखिन्छ। यो कति विश्वसनीय छ भन्न गारो छ। त्यतिबेला चीनबाट आएको तथ्याङ्कले के भनेको थियो भने अधिकांश संक्रमितमा लक्षण हुन्छ र लक्षण भएकाहरूले नै कोरोना सार्छन् । अन्य देशको उदारणबाट विज्ञहरूले सिक्नुपर्छ।

पछि के थाहा भयो भने कोरोना संक्रमितमध्येका ७० देखि ८० प्रतिशतलाई लक्षण नै नहुने रहेछ । अमेरिकामा जेलमा बसेका मानिसहरू थुप्रैमा संक्रमण छ, तर लक्षण छैन। लक्षण नभएका मानिसबाट पनि संक्रमण सर्दोरहेछ। समग्रमा लक्षण नभएकाहरूले भन्दा लक्षण भएको मानिसले नै बढी फैलाउने गर्छ । किनकि खोक्दा हाच्छिउँ गर्दा बढी भाइरस निस्कन सक्छ । तर यति भन्दै गर्दा लक्षणविहीनहरूले सार्दैनन् भन्ने होइन । यसले के प्रष्ट हुन्छ भने संक्रमण समाजमा फैलिइसक्दा पनि परीक्षणको दायरा नबढाउने हो भने थाहा हुँदैन ।

इटालीमा कोरोनाकै कारण धेरै जनाको मृत्यु भयो । त्यहाँ संक्रमण सुरु भएर मानिस मर्नुअघिको (डिसेम्बर) ढलको पानी जाँच गर्दा कोभिडको भाइरस भेटियो । त्यस्तै, अमेरिकामा पनि पहिलो बिरामी भेटिएको बेलातिर मानिस मर्न थालिसकेका थिए । पहिले नै संक्रमण फैलिइसके पनि अधिकांशलाई लक्षण नदेखिएकाले हामी थाहा पाउँदैनौं ।

सार्सका धेरैजसो बिरामीमा लक्षण देखिन्थ्यो । जसमा लक्षण हुन्थ्यो उसले मात्र सार्थ्यो। लक्षण पनि एकदम कडा हुन्थ्यो । कडा लक्षण हुने भाइरस आफ्नै हिसाबले नियन्त्रण हुन्छ। किनकि कडा लक्षण हुने भाइरसले संक्रमण गराएका मानिस सिकिस्त हुन्छ र मृत्यु हुन्छ । मानिस चाँडो सिकिस्त र मर्ने भएपछि अरूलाई धेरै सार्न नै सक्दैन। कोरोनाजस्तो लक्षण नदेखिने भाइरस भित्रभित्रै धेरै जनामा फैलिन्छ, धेरैलाई सिकिस्त पार्दैन । तर एकैपटक धेरैमा फैलिएपछि नियण्त्रण गर्न सकिन्न।

हाम्रोमा मृत्युको ट्रेण्ड पनि अन्य देशको भन्दा फरक छ भन्ने लाग्दैन । किनकि अध्ययनहरूले इटालीमा डिसेम्बरमा नै कोरोना संक्रमण सुरु हुन थालेको निष्कर्ष निकालेको छ । कोरोना फैलिएको दुईदेखि चार महिनाभित्रमा मानिस मर्न थालेका छन् । त्यहाँ र यहाँ अलिक फरक हुन सक्छ । किनकि त्यहाँ मानिस मर्न थालेपछि लकडाउन गरिएको थियो भने हामीले सुरुमा नै लकडाउन गरेका थियौं । यसले थोरै भए पनि फाइदा गर्छ ।

चीनले लकडाउन गर्नुअघि वुहान सहरबाट संसारभर कहाँ मानिस पुगे भनेर हेर्नु भो भने अहिले जहाँ बढी मानिस संक्रमित र मृत्यु भएका छन् । त्यही धेरै मानिस बढी गएको देखिन्छ । युरोप र अमेरिकामा चीनका मानिसहरू धेरै गए । हाम्रोमा ती देशको भन्दा कम चिनियाँ पर्यटक आए । त्यसले पनि धेरै फरक पार्‍यो।

त्यसैगरी युरोप अमेरिकाको सरदर आयु हाम्रोभन्दा धेरै बढी छ। यसको मतलब त्यहाँ वृद्ध मानिसहरू टन्नै छन् । जहाँ वृद्धहरू हुन्छन् त्यहाँ दीर्घरोग बढी हुन्छ। हाम्रोमा त संक्रमितको उमेर र दीर्घरोगको भार पनि कम छ । चीनबाट आएका मानिस पनि कम छन् ।

हाम्रो मृत्युको ट्रेण्डलाई यसरी पनि विश्लेषण गर्नुपर्छ, हाम्रोमा संक्रमितहरू अधिकांश युवा छन्। दीर्घरोगको भार कम छ। सुरुमा चीनबाट आएका मानिस कम छन् । लक्षण नभएका संक्रमित धेरै छन् । यसो भएपछि, सार्ने दर कम हुन्छ। सार्ने दर कम भएपछि समुदायमा फैलिने दर कम हुन्छ। अनि हामीले समयमै लकडाउन पनि गर्यौं। हाम्रोतिर सुरुमा जोखिम समूहमा पनि सरेन । तर पछिल्लो समय हाम्रो व्यवस्थापन झन्-झन् फितलो हुँदै गएको छ। यसको असरहरू देखिन पनि सुरु भएको छ। अबको २ हप्तामा यसको असर झन् भयानक देख्न सकिन्छ।

भारतबाट आउने मानिसहरूको व्यवस्थापनबारे नसोचेर पनि धेरै गल्ती भएको छ। अनि सरकारको सबैभन्दा ठूलो गल्ती अरूको अनुभवबाट नसिक्नु पनि हो

हाम्रोमा धेरै ठाउँको क्वारेण्टिनबाट नै संक्रमण सरेको छ। मृत्यु नहुनुपर्ने मानिसको मृत्यु भएको छ। टेस्टिङ प्रोटोकलका कारण धेरै मानिसले परीक्षण गर्न पाएका छैनन् । जसका कारण महामारी नियण्त्रण गर्न गाह्रो हुँदैछ।

टेस्टिङ प्रोटोकलको कारणले नै समुदायमा संक्रमण फैलिएको छ भनेर भन्न सकिएको छैन । टेस्ट भए पो संक्रमण थाहा हुन्छ र भन्नु । यो बेला त व्यापक टेस्ट गर्नु पर्ने हो । टेस्टको दायरा नै साँघुरो बनाएपछि संक्रमण कहाँ-कहाँ छ भनेर थाहा नै हुन्न । हामी कुन स्थितिमा छौं भन्ने कुरा केही घटनाले संकेत मात्र दिन्छ।

समुदायमा संक्रमण फैलिएको अवस्थामा कोही मानिस खोक्दै जाँच गराउन आयो भने उसको ट्राभल हिस्ट्री हेर्नुपर्दैन। विदेशबाट आको हुनुपर्दैन। तर उसको प्रारम्भिक सोधपुछ गर्नुपर्छ । अनि परीक्षण गर्नुपर्छ । महामारी नियन्त्रण गर्ने हो भने टेस्टको दायरा बढाउनुको विकल्प नै छैन। अहिले यहाँ कस्तो अवस्था छ भने नेपालगञ्जबाट आएको मान्छेमा केही लक्षण छैन भने जाँच गराउन पाइन्न । यस्तो नि हुन्छ ? ज्वरो आउनैपर्ने, श्वासप्रश्वासमा समस्या देखिनैपर्ने ? खोकी लागेको भरमा पनि टेस्ट गर्न नपाउने ?

गाइडलाइन भनेको सम्भावित संक्रमित नछुट्ने हुनुपर्छ । तर यहाँ के भइदियो भने सकेसम्म छुटुन्, टेस्ट गर्नै नपरोस् भनेर गाइडलाइन बनाइएको छ । खोकी पनि लाग्नैपर्ने, सास फेर्न पनि गाह्रो हुनैपर्ने यसको मतलब के ? खोकी पनि लाग्नुपर्ने ज्वरो पनि आउनुपर्ने यसको मतलब के ? टेस्ट गर्नका लागि अनिवार्य ज्वरो नै आउनुपर्ने ?

संक्रमितको तथ्याङ्कले भन्छ लक्षण भएकाहरूमध्ये पनि सुरुमा आधाभन्दा कमलाई ज्वरो आउँछ । अर्थात् आधा संक्रमित त टेस्टिङ प्रोटोकलको कारणले मिस भए । लक्षण नै नभएकाहरूको त झन् हिसाबै नगरौं। त्यसैले समुदायमा संक्रमण फैलिएको छैन भनेर बस्ने अवस्था छैन।

सरकारले टेस्टमा कञ्जुस्याइँ गर्नुको कारण भनेको जति धेरै टेस्ट गर्‍यो त्यति धेरै संक्रमित भेटिन्छ भनेर हो । किनकि संक्रमितको व्यवस्थापन र कन्ट्याक ट्रेसिङ गर्न गाह्रो छ। टेस्ट किट पुर्‍याउन सकिन्न भन्ने डर छ । यस्तो डरको कारणले महामारी नियन्त्रण गर्न गाह्रो हुन्छ। हो सबैलाई थाहा छ हाम्रो प्राविधिक क्षमता कम छ । तर प्रयास गर्न त सकिन्छ नि।

क्वारेण्टिन व्यवस्थापन गर्न त सकिन्छ नि । यति धेरै मानिसहरू बेरोजगार छन्, उनीहरूलाई खटाउन सकिन्छ। क्वारेण्टिन बनाउन र व्यवस्थापन गर्नको लागि त संसारमै नपाइने प्रविधि यहाँ चाहिन्न होला। हामीले गर्न सक्ने काम पनि गरेनौं । भएका जनशक्ति पनि खटाउन सकेनौं ।

अहिले क्वारेण्टिनमा मेडिकल निगरानी भएकै छैन । बिरामी कुन अवस्थामा छ भन्ने हेर्ने मानिस कोही छैन । जसको कारण धेरै समस्याहरू निम्तिएका छन् । त्यसैले क्वारेण्टिनमा बसेको मानिसलाई निगरानी गर्नका लागि स्वास्थ्यकर्मी खटाउनुपर्‍यो । नियमित ज्वरो नाप्नुपर्‍यो। मानिसको रगतमा अक्सिजनको मात्रा कतिको छ या छैन जाँच्नुपर्‍यो । एम्बुलेन्स राख्नुपर्‍यो। यस्तो क्लिनिकल निगरानीका लागि धेरै ठूलो प्रविधि चाहिन्न ।

अहिले हाम्रोमा कन्ट्याक ट्रेसिङको काम गतिलो भएको छैन । संक्रमण भएर केही मानिस मरिसके तर उनीहरूको संक्रमण स्रोत पत्ता लगाउन सकिएको छैन। जति चाँडो कन्ट्याक ट्रेसिङ भयो त्यति चाँडो संक्रमण सर्ने दर घट्छ। ९० प्रतिशत संक्रमित पत्ता लगाउन सकियो भने मात्रै महामारी नियन्त्रण गर्न सकिन्छ। यो कुरा बुझेर सरकारले कन्ट्याक ट्रेसिङ गर्ने जनशक्ति थप गर्नुपर्छ। कन्ट्याक ट्रेसिङ गतिलो भएन भने त भद्रगोल हुन्छ। चार/पाँच हजार कन्ट्याक ट्रेसिङ मानिस थप्यौं भने त महामारी नियन्त्रण गर्न धेरै सजिलो हुन्छ।

सरकारले एकपछि अर्को गल्ती गर्दा महामारी हाम्रो हातभन्दा बाहिर गएको छ। हामीले सक्ने काम पनि भएकै छैन। क्वारेण्टिनको व्यवस्थापन, ल्याबमा पर्याप्त जनशक्ति र कन्ट्याक ट्रेसिङमा गम्भीर गल्ती भएको छ। जसको कारण संक्रमण स्रोत पत्ता लागिरहेको छैन। कन्ट्याक ट्रेसिङ फर्म नै पूरा नभरिएको भेटिएको छ ।

सरकारको यही किसिमको व्यवस्थापन भइरहने भनेको अबको तीन चार हप्तामा बिरामीहरू थप देखिन्छन् । भिडभाड बढ्न थालेपछि मानिसमा संक्रमण सर्दै जान्छ । संक्रमण सरेको दोस्रो हप्तादेखि मानिस सिकिस्त हुन्छ । अबको दुई-चार हप्तामा संक्रमित बढ्ने, मानिस सिकिस्त हुने र मृत्युदर बढ्न जान्छ ।

यो सरकार महामारी नियन्त्रणमा धेरै ठाउँमा चुकेको छ। जसको कारण हामी यो अवस्थामा छौं। यो महामारी कति गम्भीर हुन सक्छ भनेर कम आक्नु सरकारको ठूलो गल्ती हो ।

त्यसैगरी भयावह अवस्थामा के-के गर्नुपर्छ भनेर तयारी नगर्नु अर्को गल्ती । अहिले गरेको जति टेस्ट दुई महिनाअघि गरेको भए हामी अर्कै अवस्थामा हुने थियौं । कन्ट्याक ट्रेसिङको महत्व नबुझ्नु पनि गभ्मीर गल्ती हो । भारतबाट आउने मानिसहरूको व्यवस्थापनको बारेमा नसोचेर पनि धेरै गल्ती भएको छ। अनि सरकारको सबैभन्दा ठूलो गल्ती अरूको अनुभवबाट नसिक्नु पनि हो।

(संक्रामक रोग विशेषज्ञ डाक्टर सुवेदीसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment