Comments Add Comment

विश्व बैङ्कद्वारा नेपाल, माल्दिम्भ र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त

१७ असार, काठमाडौं । विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक फारिस हदाद जर्भोस माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैङ्कको नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त भएका हुन् ।

उनको नियुक्ति बुधबारबाट लागु भएको विश्व बैङ्कको नेपालस्थित कार्यालयले जानकारी गराएको छ । तीन मुलुकका लागि नियुक्त भएका उनको कार्यालय भने काठमाडौंमा रहन्छ।

काठमाडौं विश्व बैंकको उप-क्षेत्रीय कार्यालय समेत हो । उनले विश्व बैङ्कका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब  ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्नेछन् ।

यसअघि यी तीन मुलुकका लागि राष्ट्रिय निर्देशकको पदमा आइडा जेड. पस्वराई रिद्धीहो थिइन् । उनको विश्व बैङ्कमा नयाँ जिम्मेवारीमा नियुक्ति भएको विश्व बैङ्कले जनाएको छ ।

नयाँ राष्ट्रिय निर्देशक हदाद जर्भोस भने यसअघि नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय प्रवन्धक पदमा कार्यरत थिए । जर्भोस सन् १९९६ (वि सं २०५२) देखि विश्व बैङ्कसँग आबद्ध छन् ।

उनले यसअघि मलेसिया र बोलिभियामा समेत राष्ट्रिय प्रवन्धकको रूपमा काम गरिसकेका छन् । उनीसँग खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रवन्धक, इराकमा मिसन प्रमुख, वेस्ट बैङ्क र गाजा क्षेत्रको सञ्चालन प्रवन्धकका रूपमा काम गरेको अनुभव छ ।

कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेको तत्कालीन र दीर्घकालीन असर सम्बोधन गर्न तीनवटै देशले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको अवस्थामा उनको नियुक्ति भएको हो।

देशहरूले कोभिड १९ संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुधार र पुनर्स्थापना गर्नु सबैभन्दा महत्वपूर्ण जिम्मेवारी रहेको उनले बताए ।

विश्व बैङ्कले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रममार्फत कोभिड १९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असर कम गर्न तथा रोजगारीका अवसर सिर्जना गर्ने उनको भनाइ छ ।

यसका लागि तीन वटै राष्ट्रका सरकार, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।

विश्व बैङ्कले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढीको कोभिड १९ आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको बताएको छ ।

यो सहयोगले यी राष्ट्रमा महामारी रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्ने बैङ्कको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment