Comments Add Comment

आमामाथि कुटपिट गरेको झोकमा बुबाको हत्या !

नातिले ओछ्यानमा पिसाब फेर्दा श्रीमतीमाथि कुटपिट

१७ असार, विराटनगर । आफ्नै बुबालाई हत्या गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका ५ सन्थाल बस्तीमा ४० वर्षीय बुबालाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा १५ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

हत्या आरोपी बालक भएका कारण प्रहरीले परिचय खुलाएको छैन । शनिबार बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते ४० वर्षीय टुडु थरका पुरुषलाई परिवारका सदस्यले पैसा नभएका कारण उपचारका लागि समयमा नै अस्पताल ल्याएनन् । घरमै राखेका कारण उनको आइतबार साँझ ज्यान गएको थियो ।

नातिले ओछ्यानमा पिसाब फेर्दा श्रीमतीमाथि कुटपिट

प्रहरीका अनुसार शनिबार बिहान करिब ५ बजे आमा शौच गर्न बाहिर गएको मौका छोपी सुतिरहेकै अवस्थामा बुबामाथि छोराले बञ्चरो प्रहार गरेका थिए ।

प्रहरीका अनुसार मृत्यु भएका ती पुरुषले ९ असारमा आफ्नी जेठी छोरीको विवाह गरेका थिए । विवाहमा आएका सबै पाहुना आ-आफ्नो फर्किसकेका थिएनन् । मृतककी दिदीको सानो नातिले शुक्रबार उनी सुत्ने ओछ्यानमै पिसाब फेरेका थिए । बच्चाले पिसाब फेरेपछि मृतककी श्रीमतीले ओछ्यानमा भएको कपडाहरू धोएर सुकाएकी थिइन् । तर पानी परेका कारण कपडा सुकेन ।

राति सुत्ने बेला आफ्नो ओछ्यान नभेटेपछि मृतकले श्रीमतीलाई कुटपिट गरेका थिए । सोही निहुमा बुबाले आमामाथि कुटपिट गरेको छोराले देखेका थिए । राति विवादपछि उनीहरु सुतेका थिए । तर आमालाई कुटपिट गरेको रिसमा छोराले शनिबार बिहान करिब ५ बजे बुबामाथि बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

बुबाको हत्यापछि फरार रहेका बालकलाई पक्राउ गरी मंगलबार अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment