Comments Add Comment

कोरोना अस्पतालको क्वारेन्टिनमै संक्रमणको त्रास

१८ असार, वीरगञ्ज । बाराको जितपुर सिमरा नगरपालिकाकी २९ बर्षीया महिला ५ असारअघि दुबईबाट नेपाल फर्किइन् । १४ दिनदेखि उनी सिमरास्थित कोरोना विशेष अस्पतालको क्वारेन्टिनमा छिन् तर यहाँ बस्न पटक्कै मन छैन ।

विदेशबाट आएको नवौं दिनमा संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । तर घर जान नपाएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

उनी गर्भवती हुन् । त्यसैले नेपाल आएकी थिइन्, तर क्वारेन्टिनको अवस्था, स्वास्थ्यकर्मी र शंकास्पद संक्रमितहरुले सावधानी नअपनाएको देखेर चिन्तित छिन् । ‘खानपान र यहाँको बसाइको आफ्नो र बच्चाको स्वाथ्य अवस्था बिग्रने हो कि भन्ने चिन्ता लागेको छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘धेरै असुरक्षित महसुस भएको छ । क्वारेन्टिनमै संक्रमण हुने हो कि भन्ने डर छ ।’

आइसोलेसनमा बसेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि चिन्ता बढेको उनले सुनाइन् । ‘हामी सबैको पीसीआर परीक्षण गर्दा भाईको मात्रै पोजेटिभ आयो’ उनले अनलाइनखबरसँग भनिन्, ‘हाम्रो नेगटिभ आयो तर पनि घर पठाएका छैनन् । संक्रमित भेटिएपछि त्यो ठाउँमा सेनिटाइजेसन पनि गरिएको छैन ।’

सिमराको कोरोना अस्पतालमा आइसोलेसन र क्वारेन्टिन गरेर ७६ बेड तयार पारिएको छ । शंकास्पद संक्रमितको संख्या बढेपछि ठूलो हललाई क्वारेन्टिन स्थलमा परिणत गरिएको छ । आइसोलेसनलाई समेत क्वारेन्टिन बनाएर विदेशबाट आएकालाई राखिएको छ ।

पछिल्लो समय क्वारेन्टिन र आइसोलेसनमा गरी २८ जना थिए । असार १४ गते सबैको स्वाब संकलन गरेर परीक्षणका लागि बाग्मती प्रदेशको प्रादेशिक प्रयोगशाला हेटौंडा पठाइयो । आइसोलेसनमा बसेका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भयो भने बाँकीको रिपोर्ट नेगेटिभ आयो । छुट्टै हल क्वारेन्टिनमा बसेका २२ जनालाई घर पठाइयो ।

संक्रमित युवकलाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसन सेन्टरमा पठाइएको छ ।

उनी भारतबाट निजी सवारीमा सिमरा आएका थिए । दिल्लीबाट आएर ६ दिनसम्म क्वारेन्टिनमा बसेका उनलाई अस्पताल लगेपछि अस्पतालमा स्यानिटाइजेसन नगरिएको गुनासो त्यहाँ बसेकाहरुको छ । ‘धेरै जनाले एउटै शौचालय, वाथरुम प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्तोमा एक जनालाई संक्रमण भएमा अरुलाई पनि सर्नसक्छ’ उनले भने, ‘क्वारेन्टिनमै असुरक्षित महसुस भइरहेको छ ।’

हाल क्वारेन्टिन, अन्य क्वारेन्टिन र आइसोलेसनका लागि छुट्टै चर्पी छ । तर सामूहिक रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । भौतिक संरचना पर्याप्त नहुँदा एक व्यक्ति एक चर्पी गर्न नसकेको उनीहरु बताउँछन् । चार टाइम खाना, काउन्सिलिङ, सामाजिक दुरी कायम र अनुशासन लगायतका विषय भने कायम गरिएको छ ।

कोरोना अस्पतालको व्यवस्थापनमा खटिएका मेडिकल अधिकृत डा. दीपक गिरीले संक्रमितले नै प्रयोग गर्ने शौचालय प्रयोग गरेका कारण ६ जनालाई थप ७ सात दिन राख्नुपरेको बताए । ‘वेडमा दुरी कायम गरेका छौं, आइसोलसनमा प्लाष्टिकले छेकेका छौं’ उनले भने ‘तर पर्याप्त पूर्वाधार नहुँदा शौचालय सामूहिक प्रयोग गर्नुपर्ने थियो । त्यसैले ६ जना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा पर्नुभयो । ७ दिन राखेर असार २१ गते पीसीआर गराउँछौं । र, त्यसको रिपोर्टको आधारमा घर पठाउने कि आइसोलेसन टुंगो लाग्छ ।’

बारामा हालसम्म १३० जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । १०२ जना डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment