Comments Add Comment

नेपालमा भेटिएको कोरोना भाइरसबारे अध्ययन सुरु

क्लिनिकल ट्रायल भने स्थगित

१८ असार, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस (कोभिड–१९) का १५ संक्रमितको ‘जीन सिक्वेन्सिङ’को काम सुरु गरेको छ ।

जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुन्छ । यसबाट संक्रमितको मुत्युदर कम हुनु र ९८ प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण नहुनुको कारण पनि पत्ता लाग्ने एनएचआरसीको अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताए ।

‘हाम्रोमा ९८ प्रतिशत केस लक्षणविहीन छन्, २ प्रतिशतमा मात्र लक्षण देखिएको छ । संक्रमितको मृत्युदर पनि अरु देशको तुलनामा कम छ,’ डा धिमालले भने, ‘किन यस्तो भइरहेको छ ? कुन देशबाट आएका संक्रमितको मृत्यु भयो ? लक्षण थियो कि थिएन भन्ने अध्ययन गर्न जीन सिक्वेन्सिङ गर्दैछौं ।’

यो अध्ययनका लागि आवश्यक पर्ने प्रयोगशाला, रिएजेन्ट तथा प्रविधिको खर्च ५० लाखसम्म लाग्ने उनले बताए । ‘हामी नेपाल सरकारको खर्चमा नै अनुसन्धान गर्छौं’ धिमालले भने ।

जीन सिक्वेन्सिङका लागि १५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका, कोरोना निको भएका फरकफरक उमेर समूह भएका व्यक्ति र विभिन्न जिल्लाका संक्रमित छनोट गरी नमुना संकलन गरिएको छ ।

डा. धिमालका अनुसार सुरुमा १५ वटा नमुनाबाट अध्ययन सुरु हुनेछ । एनएचआरसीमा कार्यरत जनशक्तिका साथै निजी ल्याबसँग समन्वय गरिने उनले बताए । यसको नतिजाका आधारमा नमुना संख्या बढाउने एनएचआरसीको तयारी छ ।

क्लिनिकल ट्रायल स्थगित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आग्रहमा गर्न लागिएको तेस्रो चरणको क्लिनिकल ट्रायल भने स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डब्लुएचओले आह्वान गरेको क्लिनिकल ट्रायलमा सहभागिता जनाउन सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम अगाडि बढाउन अनुमति दिएको थियो ।

अन्य देशमा क्लोरिक्विनको प्रभावकारितामाथि प्रश्न उठेकाले डब्लुएचओकै आग्रहमा क्लिनिकल ट्रायल रोकिएको एनएचआरसीका अनुसन्धान प्रमुख डा.  धिमालले बताए । ‘अरु देशको क्लिनिकल ट्रायलको प्रभावकारिताको रिपोर्ट सार्वजानिक भएपछि डब्लुएचओले खबर गर्छ । त्यसपछि मात्र केही होला’ उनले भने ।

अन्य रोगविरुद्ध प्रयोग भइरहेको औषधि कोभिड–१९ मा प्रभावकारी हुने सम्भावना देखेर डब्लुएचओले विभिन्न देशलाई ट्रायल गर्न आह्वान गरेको थियो । एक सयभन्दा बढी देशले ऐक्यबद्धता जनाइसकेको यो क्लिनिकल ट्रायल अभियानमा नेपाल सरकारले पनि सहभागिता जनाउने निश्चित गरेको थियो ।

डब्लुएचओले रेम्डेसिभर, क्लोरोक्विन हाइड्रोअक्साइड, लोपिनाभिरररिटोनाभिर, लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटा औषधिको नेपालमा पनि प्रभावकारिता परीक्षण गरिदिन परिषद्सँग अनुरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment