Comments Add Comment

नेकपा स्थायी कमिटीले गर्नुपर्ने काम

लामो समयपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बालुवाटारमा जारी छ । यतिबेला लाखौं कम्युनिष्ट कार्यकर्ताहरूले यो बैठकलाई महत्व दिएर हेरिरहेका छन् । नेताहरुले पार्टीको आन्तरिक कलहलाई कसरी व्यवस्थापन गर्छन् र पार्टीलाई कसरी विधानतः पद्दतिमा लैजान सक्छन् ?

स्थायी कमिटीले कार्यसूची बनाई ७ वटा एजेन्डामा बहस गरिरहेको छ । यही सेरोफेरोमा रहेर अध्यक्षद्वयले पार्टीभित्र देखिएका समस्याहरूलाई समाधान गरी सिङ्गो देशको सफल नेतृत्व गर्ने गरी आम नागरिकहरूलाई विश्वासको वातावरण दिलाउन सक्नुपर्छ ।

तर, बैठकमा एउटा अध्यक्षले सरकारको बचाउको प्रशंसा मात्र गर्ने र पार्टीलाई दोष मात्र लाउने र अर्का अध्यक्षले सरकारको विरोध मात्र गर्ने र रोष मात्र प्रकट गर्ने किसिमको १/१ घण्टाको सम्बोधनले समस्या समाधान हुँदैन । अध्यक्षद्वयले निर्ममतापूर्वक आ-आफ्ना कमजोरीहरू स्थायी कमिटी सदस्यहरूको बीचमा राख्नु पर्दथ्यो । तर, विडम्बना फेरि पनि एकअर्कालाई घोचपेच र आत्मकेन्द्रित तवरबाट सम्बोधन गर्दा घण्टौं समय सकियो ।

कोरोना रोकथाम

कोभिड १९ को कारणले देशको अर्थतन्त्र, विकास लगायत धेरै विषयवस्तुहरूमा नकारात्मक प्रभाव परेको बेला, मानव समुदायमाथि नै संकट परेको बेला यो एजेन्डा असाध्यै महत्वपूर्ण छ । यसको नियन्त्रण, रोकथाम र उपचार गर्न नेकपाले ठोस योजना ल्याउन जरुरी छ । क्वारेन्टाइनमा रिर्पाेट कुर्दा कुर्दा मृत्यु भएका समाचार दिन प्रतिदिन सुनिरहेका छौं । तसर्थ नेकपाको यो बैठकबाट आम नेपाली समुदायलाई कोभिड १९ को रोगबाट बचाउनका लागि ठोस योजनाका साथ राहतका प्याकेज कार्यक्रमहरू घोषणा हुन जरुरी छ । जनतालाई कमसेकम कम्युनिष्ट सरकारले हामीलाई यति त राहत दियो भन्ने अनुभुति हुने निर्णय होस् । अथवा जनतालाई दुःख र विपत्ति आइपर्दा राज्य हाम्रो छ, सरकारले हामीलाई हेर्छ भन्ने अनुभूति होस् ।

नेपालको सीमा समस्या र समाधान

विगतदेखि वर्तमान सम्म नेपालको भू-भाग कुनै पनि छिमेकी देशले मिचेको छ भने अब एकैपटक घनिभूत वार्ता गर्न जरुरी छ । कुनै पटक-पटकमा नभई जति पनि सिमानाका समस्याहरू छन् ती सबैको एकै पटक वार्ता गरी समाधान गर्नुपर्छ । नेपाल सरकारले लामो समयदेखि भारतद्वारा अतिक्रमित भू-भाग कालापानी, लिम्पियाधुरा, लिपुलेक भूभागको सिमाना समेटेर नक्सा जारी गर्‍यो । यो इतिहासकै महत्वपूर्ण कदम हो तसर्थ भारतसँग वार्ता गरेर चाँडोभन्दा चाँडो सीमानाका बारेमा समाधान गर्नुपर्छ । यस एजेन्डामा स्थायी कमिटीका सबै सदस्यहरूले एकमतका साथ निर्णय गरी आफ्नो देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रियताको रक्षा गर्नु जरुरी छ ।

सरकारको कामको समग्र समीक्षा

जनताले अपार माया गरी नेकपा पार्टीलाई झण्डै दुई तिहाईको नजिकको जनमत दिएर नेकपाको सरकार बनाइदिएका छन् । त्यति मात्र होइन, स्थानीय निकायमा पनि अत्यधिक बहुमत छ । ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा सरकार बनेको छ । योभन्दा बढी नेकपाका नेताले जनताप्रति के अपेक्षा गर्ने ? सरकारले राम्रो काम गर्न नसक्दा कसलाई आरोप लगाएर उम्कने ? तसर्थ नेकपाले सरकार सञ्चालन गरेदेखि आजका मितिसम्मका गरेका राम्रा कामहरू के-के हुन्, जनतालाई छर्लङ्ग पार्ने गरी जनताका बीचमा ल्याउन जरुरी छ । त्यस्तै सरकारले गर्न नसकेका अथवा कमजोरी भएका कामहरू के के हुन् ? ती पनि जनताका बीचमा ल्याउन जरुरी छ । यी दुईटै राम्रा र नराम्रा कामहरूको समीक्षा गरी निष्कर्षमा पुग्न जरुरी छ । यदि राम्रोसँग सरकार चलाउन सकेका छैनन् भने सरकारमा गएका मन्त्री, प्रधानमन्त्रीलाई पनि पार्टीले फिर्ता बोलाउन सक्नुपर्छ । यो बैठकले गम्भीर समीक्षा गरी देशको विकासका खातिर नेपाललाई समृद्धिको दिशातिर बढाउन जस्तोसुकै निर्णय गर्न पनि पछि हटनु हुँदैन ।

पार्टी कामको समीक्षा

नेपालका दुईवटा ठूला कम्युनिष्ट पार्टीवीच एकता भएको २ बर्ष बितिसक्यो । विधानतः ३ महिनामा पार्टीको एकता सक्ने भनेको थियो । तर, हालसम्म एकताका कामहरू सकिएका छैनन् । पार्टी कामको समीक्षा गर्दा त जोसुकैले पनि नेकपा पार्टी, विधि, पद्धति नियमअनुसार चलेको छ भन्नै सक्दैन । एक प्रकारले नेकपा पार्टी लुलो नै भएको छ । लाखौं कार्यकर्ता भएको पार्टीमा कुनै जोश, जाँगर योजना कार्यक्रम केही पनि भेटिँदैन । त्यति मात्र हैन, पार्टी सदस्यता लिने र दिने काम पनि भएको छैन । पार्टी सदस्यताको नवीकरणसमेत भएको छैन ।

तसर्थ नेकपाभित्र एक व्यक्ति एक पदको अवधारणालाई कार्यकर्तादेखि नेतासम्म यही विधि लागु गरेर सबैलाई जिम्मेवारी दिन जरुरी छ । नेकपा पार्टीको हालको गतिविधिको कारणले गर्दा कम्युनिष्ट आन्दोलनमै खतराको घण्टी बजिसकेको छ । पार्टी एकता गर्दादेखि नै विधि पद्धति मिचियो । यति लामो समय दुईटा पार्टी एकता गर्ने निहुँमा समय खेर फालियो ।

अझै पनि पार्टीलाई सही तरिकाले संचालन गरयो भने नेकपा पार्टीले विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिन सक्छ हैन भने आगामी दिनमा नेकपा पार्टी प्रतिको विश्वास घट्दै जाने छ । पार्टी सञ्चालनमा कमजोरीहरू कहाँ कहाँ रहे क कसको कारणले हुन गए र किन कमजोरी भयो ? यसको गम्भीर समीक्षा नगरी, चिरफार नगरी चोचोमोचो मिलाएर अघि बढ्नु झन खतरनाक हुने छ ।

सबै नेताहरूले आत्मालोचित भई आफ्ना कमजोरीहरूमा आफ्ना गुटहरूमा आगो लगाई पार्टीलाई एक ढिक्का बनाई साङ्गठानिक एकताका कामहरू १ हप्ताभित्र पूरा गरी हालको समयमा कोरोना भाइरसबाट नेपाली जनतालाई बचाउने रणनीतिको साथ पार्टी परिचालन गर्न जरुरी देखिन्छ ।

एमसीसी

एमसीसीबारे धेरै समयदेखि निकै बहस, छलफल भएको छ । एमसीसीका बारेमा पार्टीले कार्यदल पनि बनाएको थियो । त्यो कार्यदलको रिर्पाेटको आधारमा स्थायी समितिमा घनिभूत छलफल गरी यही बैठकबाट निर्णय गर्नुपर्दछ । एमसीसी सम्झौतामा उल्लेख भएका अवधारणाहरू नेपालको राष्ट्रिय हितमा छैन भने फेरि वार्ता गरेर संशोधनसहित मात्र एमसीसी सम्झौता लागु गर्नुपर्दछ । कुनै बेलाको महाकाली सन्धिको घट्नालाई सम्झेर निर्णय गर्न उचित होला । जति पनि गलत सम्झौताहरू छन ती सबै गलत सम्झौताहरू लाई परिमार्जन गरेर मात्र एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्दछ ।

(भण्डारी नेकपाका युवा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment