
२० असार, बझाङ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ ।
केदारस्युँ गाउँपालिकाको वडा नम्बर चार बाग्थलामा नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन् । गाडीमा १५ जना सवार थिए ।
अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् ।
वडाध्यक्ष गणेशबहादुर बोहोराका अनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठाराको शव भेटिएको छ ।
राममतीकी १६ वर्षीया छोरी अस्मितासँगै १५ वर्षीया शान्ति र २२ वर्षीय गिरी जेठारा अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।
शुक्रबार रातिको वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको थियो ।
भुवनबहादुर सिंहको सहयोगमा
प्रतिक्रिया 4