Comments Add Comment

के भिटामिन-डी कोरोनाविरुद्ध उपयोगी हुन सक्छ ?

के कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भिटामिन-डी उपयोगी हुन सक्छ ? अनुसन्धानकर्तामाझ भिटामिन-डीको प्रश्न प्रमुखताका साथ उठिरहेको छ ।

ब्रिटिश सरकारमा स्वस्थ्य र पोषणसँग सम्बन्धित काम गर्ने संस्था साइन्टिफिक एड्भाइजरी कमिसन अन न्युट्रिसन र नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड केयर एक्सिलेन्सले कोरोनामा भिटामिन-डीको भूमिकाबारे रिपोर्ट तयार गरेका छन् ।

भिटामिन-डीलाई लिएर के सल्लाह दिइएको छ ?

कोरोना महामारीको क्रममा धेरैजसो घरभित्र बसेका छन् । घर बाहिर खुला रूपमा हिँडडुल गर्ने अनुकूलता छैन । यस्तो अवस्थामा शरीरमा भिटामिन डिको कमी हुने नै भयो । सामान्य दिन हुँदो हो त मान्छेहरूले घरभित्रभन्दा बाहिर नै बढी समय गुजारिरहेका हुन्थे । यस्तो अवस्थामा घामको किरण प्राप्त हुन्थ्यो । प्राकृतिक रुपमा हाम्रो शरीरले भिटामिन-डी प्राप्त गर्थ्यो।

ब्रिटेनको नेसनल हेल्थ सर्भिसका अनुसार महामारीको यो क्षणमा हरेक दिन १० माइक्रोग्राम भिटामिन लिनु जरुरी छ। खासगरी त्यस व्यक्तिका लागि यो आवश्यक हुन्छ जो घरभित्र समय बिताइरहेका छन्। ब्रिटेनमा त महामारी नहुँदा पनि जाडोयाममा अक्टुबर महिनादेखि मार्चसम्म भिटामिन-डी अलग स्रोतबाट लिन सल्लाह दिइने गरेको छ।

अहिले पब्लिक हेल्थ इङ्ल्यान्ड (पीएचई)ले सधैंभरि नै भिटामिन डीको सप्लिमेन्ट लिनका लागि सल्लाह दिने गरेको छ । पिएचईका अनुसार जो घर बाहिर जान पाउँदैनन् वा घरभित्रै बस्ने गर्छन् उनीहरूका लागि अतिरिक्त भिटामिन डी लिन जरुरी छ।

जसलाई अतिरिक्त भिटामिन-डीको जरुरी छ

–जो अक्सर घरबाहिर जान सक्दैनन् ।

–जो केयर होममा बस्छन् ।

–जसको छाला वा शरीर अक्सर कपडाले छापिएको हुन्छ ।

उनीहरूका लागि प्राकृतिक स्रोतबाट मात्र भिटामिन-डी पर्याप्त हुँदैन । अतिरिक्त भिटामिन-डी लिनुपर्ने हुन्छ ।

स्कटल्यान्ड र वेल्सका सरकारका साथ आयरल्यान्डको पब्लिक हेल्थ एजेन्सीले लकडाउनमा यस किसिमको सल्लाह दिने गरेको छ ।

भिटामिन-डीको आवश्यक्ता ?

यो एकदमै आम तर महत्वपूर्ण तथ्य हो कि बलियो र स्वस्थ हड्डी, दाँत र मांसपेशीका लागि भिटामिन डी एकदमै जरुरी हुन्छ । यसको कमीले हड्डी कमजोर हुन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार भिटामिन डीले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले बाह्य संक्रमणसँग लड्न मद्दत गर्छ । केही अध्ययनबाट यो कुरा पनि पुष्टि भएको छ कि भिटामिन-डीको पर्याप्त उपलब्धताले सामान्य ज्वरो, फ्लुबाट बचाउँछ ।

हालै साइन्टिफिक एड्भाइजरी कमिटी अन न्युट्रिसन (एसएसीएन) ले छातीको संक्रमण रोक्नका लागि भिटामिन-डी कति उपयोगी हुन सक्छ भनेर समीक्षा गरेका छन् । अहिलेसम्म त्यस्तो ठोस प्रमाण मिलेको छैन कि छातीको संक्रमण रोक्न भिटामिन-डी उपयोगी छ वा छैन भनेर ।

के भिटामिन-डीले कोरोना रोक्छ ?

नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सलेन्सले भिटामिन डिमाथि गरेको अध्ययनको समीक्षामा भनिएको छ, ‘अहिलेसम्म त्यस्तो कुनै प्रमाण पाइएको छैन कि जसको आधारमा भिटामिन डिको सप्लिमेन्टले कोभिड-१९ रोक्न सकिनेछ।’

तर महामारीको बेला शरीरमा पर्याप्त भिटामिन-डी हुनुपर्छ भन्नेमा दुईमत छैन ।

बीएमजे न्युट्रिसन प्रिभेन्सन एन्ड हेल्थको एक रिपोर्टअनुसार ‘भिटामिन-डी खास चिजका लागि दिनुपर्छ, कोभिड–१९ कोविरुद्ध होइन । यद्यपि भिटामिन-डी हाम्रो शरीरमा पर्याप्त हुनु आवश्यक छ, यो स्वस्थ जीवनशैलीको हिस्सा हो ।’

केही अध्ययनबाट के थाहा भएको छ भने जसको शरीरमा भिटामिन-डी कमी छ र उनलाई कोरोना भाइरसको संक्रमण छ, उनीहरूको उपचारमा केही मुस्किल हुने गरेको छ।

लिभरपुल युनिभर्सिटीका मेडिसिन प्रोफेसर जन रोड्सले भनेका छन्, ‘भिटामिन-डीमा संक्रमण विरोधी ताकत हुन्छ र केही अध्ययनबाट थाहा भएको छ भाइरसको कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रभावित हुन्छ। कोरोना भाइरसको संक्रमणले गर्दा जसको फोक्सो नराम्ररी प्रभावित भएको छ, उनको हकमा भिटामिन-डी प्रासङ्गिक हुन सक्छ । तर यसका लागि अरू पनि खोज-अध्ययनको जरुरी छ ।’

आहार एवं भिटामिन-डी

एक सन्तुलित आहारले तपाईंको रोग प्रतिरोधात्मक क्षमता सामान्य राख्न मद्दत गर्छ । यस्तो स्थितिमा कुनै पनि व्यक्तिले अरू केही लिन जरुरी छैन । तर केवल आहारमा पर्याप्त भिटामिन-डी पाउन मुस्किल छ।

सन्तुलित आहार स्वस्थ जीवनका लागि एकदमै महत्वपूर्ण छ । यद्यपि सन्तुलित आहारभित्र के-के समेटिनुपर्छ भन्ने ज्ञान हुनुपर्छ । भिटामिन डि माछा र अन्डामा प्राप्त हुन्छ । यसका लागि अन्न, घिउ र दहीमा पनि पाइन्छ ।

के हामीले घाम ताप्नुपर्छ ?

घाम भिटामिन-डीको राम्रो र प्राकृतिक स्रोत हो । तर यो मात्र पर्याप्त भने छैन । घाम ताप्दा पनि केही सावधानी अपनाउनुपर्ने हुन्छ ।

यदि अतिरिक्त भिटामिन-डी आवश्यक भएमा कुनै पनि औषधि पसलबाट खरिद गर्न सकिन्छ । तर भिटामिन-डी कति लिने भन्ने सन्दर्भमा चिकित्सकको परामर्श आवश्यक हुन्छ । अत्याधिक मात्रामा भिटामिन-डी सेवन गर्दा मिर्गौलालगायतमा समस्या हुन सक्छ ।

यसअनुसार एकदेखि १० वर्षसम्मका बच्चाका लागि एक दिनमा ५० माइक्रोग्राम, शिशुअर्थात १२ महिनाभन्दा कम उमेरकालाई २५ माइक्रोग्राम र  वयस्कलाई एक दिनमा १०० माइक्रोग्राम मात्र भिटामिन-डी क्याप्सुल लिन उचित हुन्छ ।

स्रोत : बिबिसी  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment