+
+
Shares

देउवा-नेम्वाङ भेटवार्ता : प्रधानमन्त्री ओलीलाई विशेष अधिवेशनको डर !

बुढानीलकण्ठमा के भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते २१:०४

२१ असार, काठमाडौं । पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताहरूले नै राजीनामा मागेको भोलिपल्ट प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुटुक्क भेटे ।

असार १७ गते राति भएको त्यो गोप्य भेटको तरंग कम भएको थिएन, प्रधानमन्त्री ओलीको दूतका रूपमा संसदीय दलका उपनेता सुवास नेम्वाङ आइतबार देउवा निवास बुढानीलकण्ठ पुगे ।

यो भेटपछि ‘सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग’, ‘कांग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव’ जस्ता शीर्षकमा समाचारहरू छाउन थालेका छन् ।

साँच्चै ओलीले देउवासँग सत्ता सहकार्यको प्रस्ताव राखेका हुन् त ? कांग्रेस नेताहरूका अनुसार नेकपामा चलिरहेको ‘प्रोप्रोगाण्डा’को अर्को एउटा अध्याय मात्र हो ।

नेताहरूका अनुसार नेकपाको शक्ति संघर्षमा रहेका ओली र प्रचण्ड-माधव नेपाल दुवै समूहले कांग्रेसलाई आफू नजिक भएको सन्देश दिन खोज्नु स्वाभाविक हो । किनकि भोलि साच्चिँकै नेकपामा फुट आएको अवस्थामा कांग्रेससँग मिलेर सरकार बनाउने चाँजोपाँचो मिलाएको सन्देश दिनसक्दा अर्को पक्षलाई दबाब पर्छ ।

त्यही उद्देश्यले ओलीले देउवालाई भेटेका थिए । उनले चाहेजस्तै प्रचण्ड-माधव नेपाल समूहमा देउवाले ओलीलाई साथ दिन खोजेकै हुन् त भन्ने त्रास कायम भएको देखिन्छ ।

स्रोतका अनुसार प्रचण्ड माधव समूहका एक नेताले कांग्रेसका एक नेतालाई बोलाएर ओली-देउवा भेटबारे सोधेका थिए । जतिबेला प्रचण्ड ओलीसँग भेटवार्ता गरिरहेका थिए, अर्का एक नेताले कांग्रेस नेतासँग कुराकानी गरिरहेका थिए । उनको मुख्य चासो ओलीले देउवासँग सहयोग मागे नमागेको थियो ।

यो भेटले प्रधानमन्त्रीतिर अर्को त्रास सिर्जना गरेको छ, कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दैछ ।  त्यही कारण प्रधानमन्त्री ओलीका विशेष दूत बनेर आइतबार नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देउवालाई भेटेका छन् ।

के भयो कुराकानी ?

केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति देउवाले गरेको ब्रिफिङअनुसार आइतबार नेम्बाङसँग भएको भेटको चाँजोपाँचो डा. मिनेन्द्र रिजालमार्फत मिलाइएको थियो । त्यसैले भेटमा रिजाल पनि सहभागी थिए । नेम्वाङ १० बजेतिर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

स्रोतका अनुसार ‘एमसीसी पास गर्न विशेष अधिवेशन बोलाउन लाग्नु भएको हो ? भन्ने चासोसहित नेम्वाङ, देउवालाई भेट्न पुगेका थिए ।

कांग्रेस नेताहरूका अनुसार नेम्वाङको संकेत भने प्रचण्ड-माधव समूहसँग मिलेर कांग्रेसले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको आशंकातिर थियो ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा भावी प्रधानमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्छ ।  ओली समूहले आशंका गरे जस्तो अविश्वासको प्रस्ताव दर्ता गर्दै कांग्रेसले विशेष अधिवेशन माग गरेमा सत्तारुढ नेकपाका अमूक नेतालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्न मिलेन।

त्यसैले एमसीसीबारे छलफल गर्न भनेर विशेष अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने ओली पक्षको आशंका थियो । भेटमा कांग्रेस सभापति देउवाले ‘कांग्रेस कसैको पक्ष विपक्षमा छैन, तपाईंहरूको कुरा चाँडै मिलाउनुस् है चाँडै’ भनेको उनी निकट स्रोतले बताएको छ ।

कुराकानीको सुरुमा नै देउवाले हतार-हतार संघीय संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका थिए । १७ गते भएको भेटमा प्रतिनिधि सभा बैठक बोलाएर एमसीसीलाई एजेण्डामा राख्न माग गरौं भन्ने र भोलिपल्ट हतारहतार संघीय संसदको अधिवेशन अन्त्य गरेर आफूलाई ओलीले ढाँटेको उनले बताए ।

देउवाले यसो भनिरहँदा नेकपा संसदीय दलका उपनेता नेम्वाङ केही बोलेनन्, हाँसेर टारिदिए ।

नेम्वाङले भने संवैधानिक अंगहरूको नियुक्तिका विषयमा प्रधानमन्त्रीले तपाईंलाई भेट्नुस् भनेकाले आएको बताए । जवाफमा देउवा केही पहिले अध्यादेश ल्याएर आफूलाई बाइपास गर्न खोजेको होइन भन्दै कडि्कएको स्रोतको दाबी छ । यद्यपि संवैधानिक परिषद्को बैठक बसेर जान सकिने उनले बताए ।

तर देउवा र नेम्वाङबीच भएको यो भेटलाई बाहिर भने सत्ता सहकार्यको प्रस्तावका रूपमा प्रचार गरिएको छ । ‘प्रधानमन्त्रीले देउवालाई गृह र अर्थ मन्त्रालयको प्रस्ताव गरेको खबरहरू सार्वजनिक गरिएको छ । यसबारे प्रश्न गर्दा भेटमा सहभागी नेता मिनेन्द्र रिजाल भन्छन्, ‘पार्टीको आन्तरिक विवादमा एउटा पक्षले अर्को पक्षलाई दबाब दिन कांग्रेस आफूसँग नजिक भएको देखाउन यस्तो प्रचार गरेको हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?