Comments Add Comment

कोभिड १९ ले धर्मराए ‘स्टार्ट अप’ व्यवसाय

२२ असार, काठमाडौं । उडुस, साङ्ला, मुसा, झिङ्गा, लामखुट्टेलगायतका जीवाणु नियन्त्रणका लागि नेपालमा पहिलो पटक व्यावसायिक काम थालेको कम्पनी हो, अरेन्ज बल प्रालि ।

विद्यानन्द झासहितका युवाहरू मिलेर पाँच वर्षअघि स्थापना भएको यो व्यवसाय यतिबेला कोभिड-१९ को असरले थला परेको छ । ७० प्रतिशत कारोबार हुने होटल-रेस्टुरेन्ट बन्द हुँदा व्यवसाय चौपट भएको कम्पनीका संस्थापकमध्येका एक झा बताउँछन् ।

लकडाउनमा थला परेको अर्को नवव्यवसाय हो एण्डिडोड अप्यारल । यो व्यवसायमा चाडपर्वमा महिला र पुरुषले लगाउने विभिन्न किसिमका कपडा भाडामा लगाउने गरिन्छ । विवाह तथा अन्य चाडपर्वको मुख्य सिजनमै कोभिडको असरले व्यवसाय चलाउन कठिन भएको कम्पनीका सञ्चालक मनीषजंग थापा बताउँछन् । उनी भन्छन्, ‘व्यवसायको आधार बढाउँदै गर्दा लकडाउनले मूर्छित बनायो ।’

पि्र-स्कुलका बालबालिकाको पलपलको गतिविधि शिक्षकमार्फत अभिभावकलाई जानकारी दिने कोपिला एप्सलाई पनि लकडाउनले सताएको छ । दुई वर्षमा ६२ जना ग्राहक बनाएको कोपिलाले यो असारसम्ममा ग्राहक संख्या एक सय पुर्‍याउने लक्ष्य राखेको थियो । ‘तर चैतमा लकडाउन सुरु भएपछि भएका ग्राहक पनि घट्न थाले’, कम्पनीका सञ्चालक अमित बिष्ट भन्छन् ।

ब्राण्डेड कपडाको अनलाइन सपिङ सेवा गरेको कम्पनी आटायर नेपाल पनि लकडाउनको मारमा छ । कम्पनीका संस्थापक हरि गोयल लकडाउनमा सामान डेलिभरी सेवा निषेध हुँदा व्यवसाय चौपट बनेको बताउँछन् । उनी भन्छन्, ‘हरेक महिना प्रगति गरिरहेको कम्पनी लकडाउन भएको दुई महिनामै ठूलो घाटामा गयो ।’

थोरै मौज्दात लामो संकट

कमाइ गर्न विदेश जाने विचार त्यागेर देशमै थालेको नयाँ काममा संकट आउला भन्ने कहिल्यै नसोचेको तर एकाएक भोग्न बाध्य भएको अरेन्ज बल नेपालका विद्यानन्द झा बताउँछन् ।

बचतमा रहेको पैसाले दुईमहिना धानेको तर त्यसपछि कठिनाइ काबु बाहिर जान थालेको उनको भनाइ छ । ‘सानो कम्पनी, पैसाको मौज्दात सानो थियो’, उनी भन्छन्, ‘एक्कासी आइलागेको संकट हप्ता, महिना गर्दै लगातार लम्बिदा थेग्न कठिन भयो ।’

बचत सकिएर तेस्रो महिनाबाट तलब दिन नसकेपछि छजना कर्मचारीलाई हटाउन बाध्य भएको झाले बताए ।

एण्डिडोड अप्यारलका मनीष जंग थापा थोरै ‘ब्याकप’ रकमले नयाँ कम्पनीलाई दुई महिना धानेको बताउँछन् । ‘समस्या छोटो समय रहला भन्ने ठानेको तर लम्बियो, दुई महिनापछि हामी के गर्ने कसो गर्ने भन्ने अवस्थामा पुग्यौं,’ उनी भन्छन्, ‘अहिले सञ्चालक र कर्मचारीको पारिश्रमिक आधा घटाएका छौं ।’

कम्पनी बनाउन सबैले दुःख गरेको हुनाले कसैलाई पनि नहटाउने नीति लिएको थापा बताउँछन् ।

त्यस्तै, कोपिला एपले चार महिनामा २० लाख रुपैयाँ बराबरको नोक्सानी व्यहोरेको जनाएको छ । ‘ब्याकअप’ पैसा दोस्रो महिनामै सकिएपछि सबैले थोरै तलब लिएर बसेको कम्पनी सञ्चालक विष्टले बताए ।

संकट, अवसर र बाध्यता

लामो लकडाउनका कारण उपभोक्ता अनलाइन सपिङमा अभ्यस्त भएको पाएको आटायर नेपालका हरि गोयाल बताउँछन् । गुणस्तरीय अनलाइन सपिङ गर्ने तरिका, पेमेन्ट मेथडजस्ता कुरा ग्राहकहरूले सिकेको उनको बुझाइ छ ।

‘नेपाली ग्राहकहरू लकडाउनमा स्मार्ट भएको देखिएको छ’, उनी भन्छन्, ‘आर्थिक घाटा, पीडा भए पनि केही कुरामा देखिएको राम्रो संकेतले उत्साहित पनि पारेको छ ।’

पेस्ट कन्ट्रोलको काम ठप्प भएपछि अरेन्ज बलले मास्क, पीपीई, पञ्जा र स्यानिटाइजरको सानो व्यापार सुरु गरेको छ । संकटको बेला कम्पनी बचाउने उपाय खोजेको कम्पनीका संस्थापक झा बताउँछन् ।

त्यस्तै, कोपिला एपले आफ्नो मुख्य काम रोकिएपछि अनलाइन पढाइ थालेको छ भने एन्टिडोडले ‘एन्टिडोड गो बिजनेस’ सुरु गरेको छ । ‘एन्टिडोड गो’ले पुरानो कपडा, टीभीलगायतका वस्तुहरू किन्छ ।

चारमहिनादेखि व्यापार चौपट हुँदा सरकारबाट कुनै सहयोग नपाएको स्टार्ट अप व्यवसायीहरूको गुनासो छ । ‘हामीले इमान्दारीपूर्वक कर तिर्‍यौं’, कोपिल एप्सका अमित विष्ट भन्छन्, ‘तर हामीलाई परेको बेला त्यो पैसाबाट एकरति सहयोग भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment