Comments Add Comment

कोरोनाको कहरमा मनको बह

पहिलेदेखि नै बिहान उठ्ने बित्तिकै कागती चिया खाने मेरो बानी थियो । कोरोनाको महामारीपछि त्यो दिनचर्या केही बदलियो । कागतीको चियाको स्वाद पनि बदलियो । बिहानको चियामा मैले बाबरी, तुलसी, जिरा पनि हालेर पिउन थालेँ । रोगसँग लड्ने शक्ति आयो जस्तो लाग्यो ।

लकडाउनका बेला एक महिनाअघि एक दिन मास्क नलगाएर सडकमा हिँडेका बेला एक प्रहरीले मेरो सामु आएर भने “ए हजुरआमा तपाईंले मास्क किन नलगाउनुभएको ? यस्तो बुढी भएर अरू बालबच्चालाई सिकाउनुपर्ने, झन आफैं त्यसरी हिँड्ने हो ?”

‘हजुरआमा’ भनेको सुन्दा त एकछिन त मन चसक्क बिझ्यो । तर, अलि शान्त मनले विचार गरें, ६०/६१ वर्षको मलाई २४/३० वर्षीय युवकले हजुरआमा भनेर के पो गल्ती गरे ? बरु यो कोरोनाको महामारीका बेला ६० वर्षभन्दा बढीका मानिसहरूलाई संक्रमण भएर जटिलता हुन सक्ने सम्भावना धेरै भएकाले मैले त आफ्नो स्वास्थ्यमा बढी नै ध्यान दिनुपर्ने भयो । अब जीवन धेरै त बाँकी छैन कि भन्ने पनि लाग्यो ।

मैले त्यसपछि आफ्नो जीवनका पानाहरू पल्टाउन थालेँ । मेरो स्वास्थ्य पहिले कस्तो थियो भनेर पुनरावलोकन गरेँ । मलाई ३८ वर्षअघि कुपोषणका कारणले गर्दा क्षयरोग भएको थियो । ब्रोङकाइटिसको समस्या पनि पहिले भइरहन्थ्यो । टाइफाइड भएर ज्वरोले ग्रस्त भएर एकचोटि गाउँमा एक कार्यक्रममा जाँदा बाटैबाट फर्किनु परेको थियो ।

प्रजनन् स्वास्थ्यको समस्या भएर म जीवन र मृत्युको दोसाँधमा परेर शल्यक्रिया गरेर मात्र बाँचेको थिएँ । काठमार्डौँमा गाडीले हानेर दुर्घटना भएर म मृत्युको मुखबाट बाँचेको थिएँ । यसरी हेर्दा त मेरो अहिलेको जिन्दगी त व्याजको जिन्दगी हो भन्ने जस्तो पो लाग्न थालेको छ ।

मेरा केही साथीहरूले पनि आफ्नो जीवन र कामको पुनरावलोकन गरेका रहेछन् । ४० वर्षदेखि मेरा मित्र डा. प्रकाशराज रेग्मीले त लकडाउनका बेलामा आफ्नो काम, सफलता, असफलता संगालेर किताबै लेख्न भ्याएछन् । मलाई उनले किताबको पाण्डुलिपि पढ्न दिए । पढेपछि मनमा एक प्रकारको …मिठो ईर्ष्या’ पनि भयो ।

मैले विचार गरें, मेरो पनि जीवनका उतार-चढावसहितका किताबै लेख्नु पर्यो कि क्या हो ? तर, फेरि लाग्यो, मैले जिन्दगीमा केही त्यस्तो महत्वपूर्ण काम गरेकी छु र किताबै प्रकाशित गर्ने ? शायद अझ जिन्दगीमा बाँचेर केही सुनाउन लायक काम गरियो भने किताब पनि लेख्नुपर्ला ।

‘किताब’ किन लेख्ने भन्ने विचार गर्दा लाग्यो- मैले आफूले काम गर्दा थाहा पाएर वा नपाएर समुदायको स्वास्थ्यमा सकारात्मक कार्य गर्न सकें भने शायद ती कदमहरूचाहिँ लेख्न लायक हुनेछन् ।

डा. प्रकाशले लेखेको पाण्डुलिपि पढ्दा लाग्यो, उनले बालबालिकालाई हुने बाथ, मुटुरोगबाट बचाउन गरेका कामले वास्तवमा नै समुदायमा धेरै सकारात्मक काम भएको रहेछ । उनको किताब पढ्दा यो पनि थाहा भयो, हाम्रो स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू कति अविवेकी रहेछन् ।

प्रकाशले सम्पूर्ण नेपालभरिका बाथ, मुटुरोग भएका बालबालिकालाई उपचार गर्न वर्षमा जम्मा एक करोड रूपैयाँ लाग्ने भएकाले, स्वास्थ्य मन्त्रालयसँग त्यो पैसा मागे, कार्यक्रम दिएर । अपशोच, सरकारी कर्मचारीले मात्र होइन, अस्पतालमा काम गर्ने मुटुको बाथ रोग भएर शल्यक्रिया गर्ने डाक्टरहरूले समेत प्रकाशलाई त्यति उपलब्ध गराउन मद्दत दिएनछन् ।

वर्षभरिमा गंगालाल अस्पतालमा एक हजार बालबालिकाको सित्तैमा बाथ, मुटुको भएर, शल्यक्रिया गरिन्छ । ३० करोड रूपैयाँ लाग्ने रहेछ एक हजारजनाको शल्यक्रिया गर्न । तर, त्यही शल्यक्रिया गर्न नपरोस भन्ने बाथ मुटुरोगको नै बचावट गर्न चाहिने एक करोड सरकारले देओस् भनेर वकालत गर्न नचाहेका सर्जनहरूको व्यवहार देखेर प्रकाशले हरेस खाएछन् ।

पढेर मलाई पनि दुःख लाग्यो, तर अचम्म चाहिँ लागेन किनभने शल्यक्रिया गर्दा चाहिने उपकरणहरू किन्दा शायद कसैलाई केही फाइदा पनि पुग्दो होला । बाथ, मुटु रोग भएर मुटु बिग्रेको एक बच्चालाई शल्यक्रिया गर्ने खर्च झण्डै ३ लाख लाग्ने रहेछ । तर, बाथ, मुटु रोग नलागोस् भनेर बाथ रोग भएका बच्चालाई पेनिसिलिन सुइ दिन एक वर्षमा ४ सय रूपैयाँ भन्दा कम खर्च लाग्ने रहेछ । यस्तो समस्या भएका बच्चालाई झण्डै ५ वर्षसम्म पेनिसिलिन सुइ दिनुपर्छ । कसैकसैलाई केही बढी समय पनि चाहिन्छ । तर, सस्तो तरिकाले समाधान गर्न प्रायः स्वास्थ्य मन्त्रालयका अधिकारी चाँहदैनन् ।

त्यसैले होला एक करोड रूपैयाँ खर्च गर्नुभन्दा ३० करोड खर्च गर्नु नै सरकारले ठीक ठान्यो । यति मात्र होइन, “हामीले तपाईलाई बाथ मुटुरोगको रोकथाम गर्न पैसा दिए हामीले के पाउँछौं त ? “स्वास्थ्य मन्त्रालयमा सिधै ‘घुस’ मागेका रहेछन् ।

डा. प्रकाशसँग सम्बन्धित ‘मुटु रोग प्रतिष्ठान’ का पदाधिकारी ‘दंग’ परेर पर्केछन् । एक करोडमा के घुस दिएर के काम गर्नु ? शायद गंगाललमा शल्यक्रिया गर्दा ३० करोड पठाउँदा चाहिँ पक्कै पनि स्वास्थ्य मन्त्रालयका मानिसहरूले “माल ” पाउँछन् होला ।

प्रकाशले आफ्नो किताबमा लेखेको तथ्य पढ्दा मलाई लाग्यो ४६ सालदेखि नै सरकारले जनस्वास्थ्यमा कहिल्यै पनि ध्यान दिएको थिएन । त्यो कारणले गर्दा ‘कोरोनाका’ बेलाको दुर्दशा छताछुल्ल भएको छ ।

अहिले प्रतिपक्षले सरकारले कोरोनाको व्यवस्थापनको आलोचना गर्दा मलाई प्रतिपक्षमा बसेका नेतालाई सोध्न मन लाग्छ । “नेपालको सत्तामा अहिलेसम्म लामो समय बस्दा तपाईंले जनस्वास्थ्य, रोकथामका लागि के चाहिँ काम गर्नुभयो र ?”

गगन थापा स्वास्थ्य मन्त्री भएकाबेला पनि डा. प्रकाशले रू करोड मागेछन् स्वास्थ्य मन्त्रालयसँग, त्यसले गर्दा ३० करोड बच्ने तर्क दिएछन् । तर, गगन थापाले पनि “हात्ती आयो हात्ती आयो फुस्सा” गरिदिएछन् ।

मलाई अचम्म लागेन । कांग्रेस मन्त्रालयमा भएका बेलामा मैले र मेरा केही साथीले महिलाहरूको ‘पाठेघर झर्ने’ दुःखद अवस्थाको अन्त्य होस् भनेर रोकथामका लागि रकम स्वास्थ्य चौकीमा पठाउन वकालत गरेका थियौं । साथै समस्या भइसकेका महिलाहरूका लागि शल्यक्रिया पनि गर्नका लागि रकम छुट्याउनुस् भनेर माग गरेका थियौं । महिलाको पाठेघर झर्ने समस्या रोकथाम गर्नका लागि चाहिँ पैसाको जोहो गरिएन । तर, शल्यक्रिया गर्नका लागि करोडौं रुपैयाँ छुट्याइयो ।

महिलाको पाठेघरको शल्यक्रिया गर्छु भनेर केही संस्थाले पैसा लगे । १० महिलाको शल्यक्रिया गरेर ५० जना महिलाको शल्यक्रिया गरेको पैसा केही संस्थाले लिए । त्यो पैसामध्ये केही स्वास्थ्य मन्त्रालयका स्रोत बाँडफाँट गर्नेलाई पक्कै गएको थियो ।

यसरी ‘शल्यक्रिया’ मा ‘धाँदली’ भएपछिको कुरा पत्रिकामा आएपछि यसरी जथाभावी ‘शल्यक्रिया गर्ने’ संस्थालाई पैसा दिने कामचाहिँ रोकियो । तर, अहिलेसम्म स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्यका समस्याहरूको रोकथामका लागि स्रोत दिँदैन । मैले स्वास्थ्य मन्त्रालय किन रोकथामका लागि पैसा दिँदैन भन्ने प्रश्न गर्दिनँ । स्पष्ट छ, किनभने यसका लागि थोरै स्रोत भए पुग्छ, थोरै स्रोत बाँडफाँट गर्दा थोरै पैसा मात्र सट्टामा पाइन्छ । शल्यक्रिया गर्न, ठूला-ठूला औजार किन्न, नचाहिने ठाउँमा स्वास्थ्य चौकी वा अस्पताल बनाउने काम गर्दा केही न केही न केही ‘फाइदा’ कसैलाई त पक्कै नै हुन्छ । तर, जनस्वास्थ्यको मुद्दा चाहिँ लुक्छ ।

स्वास्थ्य मन्त्रालयले समस्याको रोकथामका लागि खासै वास्ता गर्दैन भन्ने मेरो अनुभव धेरै छ । त्योमध्ये महिला स्वास्थ्यको समस्यालाई नै लिएर भन्छु-

कैयौं वर्ष डा. रामशरण महतले अर्थमन्त्री भएर बजेट पेश गर्दा भनेका थिए “महिलालाई उपचार गर्नका लागि उच्च स्तरको रिङ पेसरी (चुरा जस्तो वस्तु, जुन पाठेघर खसेका महिलाहरूको उपचारका लागि प्रयोग हुन्छ) सबै स्वास्थ्य चौकीमा दिइने छ ।”

हामी दंग परेका थियौं । ४ सय रूपैयाँ पर्ने रिङ पेसरीको प्रयोगले धेरै महिलाहरूलाई १२ हजारदेखि १५ हजार रूपैयाँसम्म पर्ने झन्झटिलो शल्याक्रियाबाट बचाउनेछ, शल्यक्रियाबाट हुने तनावबाट पनि बचाउनेछ भन्ने हामीले विचार गरेका थियौं । तर, अपशोच, अर्थमन्त्रीको प्रतिवेदन कहिल्यै व्यवहारमा लागु भएन । तर, ‘शल्यक्रियाका लागि पैसा’ चाहिँ आएको थियो ।

लकडाउनका बेला सडकका प्रहरीले चाउचाउ र बिस्कुट’ जस्तो पत्रु खाना खाएर जनताको सुरक्षा गरिरहे । सरकारले भने कोरोनाका बेला १० अरब खर्च भयो भन्यो 

अहिलेसम्म महिला स्वास्थ्यको समस्याको रोकथामका लागि स्वास्थ्य चौकी र अस्पतालमा पैसा छैन ।

‘जनस्वास्थ्य’ एक राजनीतिक मुद्दा हो । यसको प्रत्यक्ष उदाहरण कोरोनाका बेला संयुक्त राष्ट्र अमेरिकामा पनि देखियो । नेपाल र भारतमा पनि देखियो । अमेरिकामा काला जातिका अमेरिकनहरूको बढी मृत्यु भयो ।

नेपाल र भारतमा कोरोनाको बेला समाजमा सबभन्दा थिचिएका जनताले दुःख पाए । उनीहरूको मृत्यु भयो । लकडाउनका बेला गाउँघरका महिलाहरू सुत्केरी अवस्थामा मर्न पुगे । तर, लकडाउनकै बेला राष्ट्रपतिको अफिसमा कार्पेट फेरिने प्रक्रियाको थालनी भयो । त्यहाँको चर्पीलाई सुन्दर बनाउने लहड भयो ।

लकडाउनका बेला सडकका प्रहरीले ‘चाउचाउ र बिस्कुट’ जस्तो पत्रु खाना खाएर जनताको सुरक्षा गरिरहे । सरकारले भने कोरोनाका बेला १० अरब खर्च भयो भन्यो ।

लकडाउनमा पानी र खाना नपाएर सुत्केरी छटपटिए, क्वारेन्टाइनमा राखिएकाहरूको विवशताको फोटो देखियो । तर, स्वास्थ्य मन्त्रालय चलाउने दलका नेताहरूलाई केही वास्ता भएन । किनभने, समाजका तल्लो तहका, भारतबाट फर्केका मजदूरहरूले सरकारविरुद्ध आवाज उठाउन सक्दैनन् । त्यसैले सरकार आनन्दसँग कानमा तेल हालेर बस्यो ।

तर, यस्ता समस्या अहिलेको राजनीतिक दल र सरकारले मात्र ल्याएको समस्या चाहिँ होइन भनेर बुझ्नुपर्छ सबैले । यो ३० वर्षअघिदेखिको ‘रोग’ हो । जनतालाई वास्ता नगर्ने सरकार र जनस्वास्थ्यका लागि पैसा खर्च गर्न नचाहने सरकार । यो नेपाल सरकार मात्रै होइन, भारत सरकारको पनि त्यही अवस्था हो ।

कोरोनाको कहर भएका बेला ‘क्युबा’ जस्तो देशले यो संक्रमणलई सजिलै समाधान गरेको र आफ्नो देशका डाक्टरहरू इटली र दक्षिण अफ्रिकामा सहायता गर्न पठाएको कुरा चाहिँ कतै पनि आम सञ्चारमा आउन सकेन । तर, त्यहाँ ५० वर्ष अघिदेखि नै जनस्वास्थ्यमा ध्यान दिएर त्यस्तो अवस्था आयो, अहिलेको सरकारको मात्र त्यसमा देन छैन ।

नेपालमा पनि कोरोनाको कहरमा व्यवस्थापन नभएको, १० अर्ब खर्च भएको तथ्य अहिलेको सरकारको मात्र ‘देन’ होइन । कांग्रेसको पनि ठूलो हात छ । जनस्वास्थ्यको मुद्दालाई दलका नेताहरू र सरकारले बेवास्ता गर्दा त यस्तो धेरै संक्रमण बेलाबखत आउने छन्, के गर्ने होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment