Comments Add Comment

सडक विभागका पूर्वइन्जिनियरविरुद्ध एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा

२२ असार, काठमाडौं । सडक विभागका पूर्वसुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले एक करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ अवैध आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भष्टाचार मुद्दा दायर गरेको हो ।

०३६ मंसिर २ गतेदेखि सार्वजनिक सेवा प्रवेश गरेका यादवले २०७४ फागुन १६ गते अवकाश पाउनुअघिसम्म २ करोड ८७ लाख ८६ हजार ४६८ रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय १ करोड २ लाख ७४ हजार ७ सय ३९ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

त्यसमध्ये एक करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।

यादवले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अवैध आर्जनको सम्पत्ति उनले घर निर्माण, जग्गा खरिद, घरको फर्निचर तथा फर्निसिङ, इलेक्ट्रोनिक सामान, छोराछोरीलाई एमबीबीएस अध्ययनका लागि खर्च गरेका अख्तियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment