Comments Add Comment

प्राथमिक बजारमा लगानीको अवसर, धमाधम आउँदैछन् आईपीओ

२३ असार, काठमाडौं । सेयर बजारमा प्राथमिक र दोस्रो गरेर २ वटा बजार हुन्छन् । प्राथमिक बजारमा आवेदन दिएर सेयर खरिद गर्न सकिनेछ भने दोस्रो बजारमा ब्रोकर कार्यालयमार्फत सेयर किनबेच गर्न सकिन्छ ।

न्युनतम् मूल्यमा आवेदन दिइने भएकाले प्राथमिक बजारमा जोखिम कम हुन्छ । यद्यपि, आवेदन दिएर परेको सेयर पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबार हुन्छ ।

लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । लकडाउन पूर्ण रुपमा नखुल्दै २ वटा कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् भने एउटा कम्पनीको यस अवधिमा आईपीओ बाँडफाँट भएको छ ।

मुलुकको एकमात्रै पुनर्बिमा कम्पनी नेपाल पुनर्बिमा कम्पनीले लकडाउनभन्दा अगाडि सर्वसाधारणहरुका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक रहेको आरबीबी मर्चेन्टले लकडाउनकै बीच आईपीओ बाँडफाँट गरेको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर अहिले यस कम्पनीको सेयर कारोबार भइरहेको छ ।

सोमबारको मूल्य हेर्न हो भने पुनर्बिमा कम्पनीको मूल्य ४.४ गुणाले वृद्धि भएको छ । उता एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले ठूलो परिमाणमा आईपीओ जारी गर्यो । लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निस्कासन गरेको थियो ।

लघुवित्तको आईपीओमा आवेदन गर्ने ३ लाख ९७ हजार ४४१ जना योग्य आवेदकले नै न्यूनतम १० कित्ता सेयर प्राप्त गरेका छन् । यस्तै २० वा २० कित्ताभन्दा बढी सेयरको लागि आवेदन दिने ३ लाख ४१ हजार ५३६ आवेदकमध्ये ४६ हजार ५ सय ७९ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।

यतिबेला साधना लघुवित्त वित्तीय संस्थाको पनि आईपीओ जारी भइरहेको छ । यस कम्पनीले आइतबारदेखि ७ लाख ७ हजार ८०० कित्ता सेयर निष्कासन गरेको छ । जसमा ०.५ प्रतिशत सेयर १० हजार ८९० कित्ता सेयर कर्मचारीको लागि आरक्षण गरिएको छ भने सामूहिक लगानी कोषको लागि ३५ हजार ३९० कित्ता आरक्षण गरिएको छ । यो आधारमा सर्वसाधारणले ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा मात्र सर्वसाधारण आवेदन गर्न पाउँछन् । सबैले १० कित्ता सेयर पाउने भएको हुँदा यो आईपीओमा ६६ हजार १५२ जना आवेदकले मात्र गोलाप्रथाबाट सेयर पाउँछन् ।

अजोड इन्स्योरेन्सको आईपीओ खुल्दै

एनआईसी एसिया लघुवित्तको पछि साधना लघुवित्तको आईपीओ खुल्यो । यसलगत्तै फेरि अर्को बीमा कम्पनीले अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ बिक्री खुला गर्दैछ ।

कम्पनीले गत बुधवार आह्वान पत्र जारी गर्दै ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्ने जानकारी दिएको छ । सर्वसाधारणका लागि छुट्याइएको कुल ३० लाख कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत् बिक्री खुला गर्न लागिएको हो ।

छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म बिक्रीमा रहने यस आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी गर्न १७ कम्पनीको आवेदन

यसपछि पनि आईपीओ जारी गर्नका लागि कम्पनीहरु पाइपलाइनमै छन् । १७ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । केही कम्पनीहरुले धेरै पहिले नै आवेदन दिए पनि आवश्यक कागजातहरु पूरा गर्न नसक्दा अनुमति पाएका छैनन् ।

केही कम्पनीले भने चाँडै आईपीओ जारी गर्ने अनुमति पाउने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ७ कात्तिक २०७६ मै निवेदन दिएको भए पनि केही कागजातहरु पूरा नभएकाले बोर्डले अनुमति दिएको छैन ।

विन्धवासिनी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण सेयर जारी गर्न गत माघमा बोर्डसँग अनुमति माग गरेको थियो । यो पनि प्रक्रियामा नै रहेको बोर्डले जनाएको छ ।

यसैगरी पर्यटकीय गन्तव्यको रुपमा विकास भएको चन्द्रागिरी हिल्स पनि १८ लाख ४० हजार ९ सय १० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमतिको पर्खाइमा बसेको छ । चन्द्रागिरीले गत २५ जेठमा आईपीओ जारी गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

अन्य ३ वटा बिमा कम्पनीहरुले पनि बोर्डसँग आईपीओ जारी गर्न अनुमति माग गर्दै निवेदन दिइसकेका छन् । रिलायन्स लाइफ कम्पनीले ६३ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति माग गरेको छ । यस कम्पनीले गत ९ गतेमात्रै बोर्डमा निवेदन दिएको थियो ।

सानिमा जनरल इन्स्योरेन्सले ३० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति कुरेर बसेको छ । यस कम्पनीले गत १४ गते निवेदन दिएको थियो ।

यसैगरी जनरल इन्स्योरेन्स कम्पनीले पनि ३० लाख कित्ता साधारण सेयर जारी गर्न अनुमतिको पर्खाइमा छ । यस कम्पनीले गत ५ गते बोर्डमा निवेदन दिएको थियो । यसैगरी अन्य कम्पनीहरु आईपीओ जारी गर्नका लागि पाएपलाइनमा रहेका छन् ।

शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता, इमर्जिङ नेपालले ५ लाख कित्ता, सीईडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २ सय ३० कित्ता, तेह्रथुम पावर कम्पनीको १२ लाख कित्ता, मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आईपीओ जारीका लागि विभिन्न समयमा बोर्डमा अनुमति माग्दै निवेदन दिइसकेका छन् ।

के हो आईपीओ ? कसरी आवेदन दिने ?

संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । सर्वसाधारण जनताबाट उठाइएको लगानी रकम नै आईपीओ (साधारण सेयर) हो ।

सामान्यतया १ कित्ता सेयरको मूल्य एक सय रुपैयाँ हुन्छ । अहिलेको व्यवस्था अनुसार न्युनतम् १० कित्ता अर्थात एक हजार रुपैयाँको आवेदन दिन सकिनेछ । एक सय रुपैयाँमा किन्न पाइने र राम्रो कम्पनी भए एक सय रुपैयाँको सेयर मूल्य बढेर धेरै माथिसम्म पुग्ने हुन्छ । उदाहरणका लागि केही समय अघिमात्रै नेप्सेमा सूचीकृत भएको नेपाल पुनर्बिमा कम्पनीलाई लिन सकिन्छ ।

यस कम्पनीको आईपीओमा आवेदन दिनेहरुले ४० कित्ता अर्थात ४ हजार रुपैयाँसम्मको सेयर हात पारेका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य बढेर ४ सय ४० रुपैयाँ पुगेको छ । सोमबारकै हिसाब गर्ने हो भने ४ हजारको सेयर हात पार्नेहरुको पोर्टफोलियो बढेर १६ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आईपीओ जारी गर्नुभन्दा एक साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी पाउँछ । यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुँदा लगानीकर्ता विश्वसनीयतामा भर पर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment