 
																			२३ असार, काठमाडौं । गत शनिबार प्रहरीले धान रोपाइँ बिथोलेको विरोधमा खोकनावासीले ललितपुर महानगरपालिकाको २१ नम्बर वडा कार्यालयमा ताला लगाएका छन् । जनसरोकार समिति, खोकनाले मंगलबार कार्यालयमा तालाबन्दी गरेको हो ।
वडाध्यक्षले प्रशासन समक्ष बाँकी क्षेत्रमा धान नरोप्ने सहमति गरेको र धान रोप्न गएकाहरूमाथि प्रहरीले दमन गरेको विरोधमा लगाइएको जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले बताए ।
शनिबार रोपाइँ गर्न खोज्दा प्रहरीसँगको झडपमा दुर्गा डंगोल, मनोज डंगोल, राजकुमार डंगोल, मनहिरा श्रेष्ठ, दिलमाया महर्जन, सचिन डंगोल, उज्ज्वल महर्जन, विद्या श्रेष्ठ, राजाराम तण्डुकार, श्यामकृष्ण प्रजापतिलगायत घाइते भएका थिए ।
मुआब्जा नपाएको जग्गामा समेत सरकारले धान रोप्न नदिएको स्थानीय नरेश महर्जन बताउँछन् । उनी भन्छन्, ‘जनताले आफ्नो खेतमा धान रोप्न जाँदा प्रहरीले दमन गर्दा पनि वडाध्यक्षले हामीलाई साथ दिनु भएन ।’
‘रोपाइँलाई निरन्तरता दिन्छौं’
असार १५ र २० गते खुदोल फाँटमा किसानहरूले सामूहिक धान रोपाइँ गर्न लागेका थिए । त्यही बेलामा प्रहरी आएर अवरोध गरेको खोकनाका कृष्ण डंगोल बताउँछन् ।
‘अप्रत्यासित रुपमा झडपको स्थिति बन्यो, त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए त महिला, केटाकेटीलाई रोपाइँमा जानै दिन्नथ्यौं’, डंगोल भन्छन् ।
जनसरोकार समितिका अध्यक्ष डंगोल संघीय, प्रदेश र स्थानीय सरकारकै नीति अनुसार आफूहरू रोपाइँ गर्न गएको बताउँछन् । उनी भन्छन्, ‘कोभिड–१९ महामारीले खाद्य संकट पर्ला भनेर तिनै तहको सरकारले जमिन बाँझो नराख्न भनेकाले हामीले धान रोप्न गएका हौं ।’
प्रहरी अवरोधका बीच करिब २० प्रतिशत रोपाइँ भइसकेको उनले जानकारी दिए । बाँकी खेतमा पनि रोपाइँ जारी राख्ने अध्यक्ष डंगोल बताउँछन् ।
काठमाडौं तराई मधेश द्रुतमार्ग, १३२ केभी हाइटेन्सनलाईन, बाहिरी चक्रपथ, बागमती करिडोर, काठमाडौं रेलवे, पेट्रोलियम भण्डारण, स्मार्ट सिटी जस्ता आयोजनाले खोकना र बुङमती सभ्यता समाप्त पार्न लागेको भन्दै स्थानीय विरोध गर्दै आएका छन् ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4