Comments Add Comment

चेल्सी विजयी, लेस्टर र आर्सनलले अंक बाँडे

२४ असार, काठमाडौं । प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले जित हात पार्दा अर्को लण्डन क्लब आर्सनलले लेस्टर सिटीसँग बराबरी खेलेको छ । खेलअघि चेल्सी चौथो स्थानमा थियो । क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्दै चेल्सी तेस्रो स्थानमा उक्लियो ।

लेस्टरले आर्सनललाई हराउन सकेको भए तेस्रो स्थानमा फर्कने थियो । तर बराबरीपछि लेस्टर चौथो स्थानमा रह्यो । यस नतिजापछि शीर्ष चारको होड रोमाञ्चक बनेको छ ।

प्यालेसको घरेलु मैदानमा भएको खेलमा ओलिभर जिरुडको गोलबाट चेल्सीले अग्रता लिएको थियो । २७औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा प्यालेसका विलफ्रड जहाले गोल गर्दै गोलअन्तर कम पारे ।

७१औं मिनेटमा टोमी अब्राहमले गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए । लगत्तै प्यालेसका क्रिस्टियन बेनटेकले गोल गर्दा खेल रोमाञ्चक बनेको थियो । तर त्यसपछि थप गोल नहुँदा चेल्सी ३-२ ले विजयी भयो ।

जितपछि ३४ खेलबाट ६० अंकसहित चेल्सी स्थानमा छ । ४२ अंक रहेको प्यालेस १४औं स्थानमा छ ।

अर्को खेलमा लेस्टरले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको आर्सनलसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको २१औं मिनेटमा पिएरे एमरिक ओबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७५औं मिनेटमा एडवार्ड एनकेइतहले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा झरेको थियो । त्यसैको फाइदा उठाउँदै ८४औं मिनेटमा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काउँदै लेस्टरलाई अंक दिलाए ।

बराबरीपछि ३४ खेलबाट ५९ अंक रहेको लेस्टर चौथो स्थानमा छ । समान खेलबाट ५० अंक जोडेको आर्सनल सातौं स्थानमै यथावत छ ।

लिगकै अर्को खेलमा वाटफोर्डले नर्विच सिटीमाथि २-१ को पुनरागमन जित हात पारेको छ । खेलमा नर्विचले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । यस हारले नर्विच रेलिगेसनमा पर्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment