+
+
Shares

उपेन्द्र यादव र बाबुराम भट्टराईलाई पत्र

तुलानारायण साह तुलानारायण साह
२०७७ असार २४ गते १४:३८

आदरणीय उपेन्द्र सर र डाक्टर साहेब ।

सादर नमस्कार ।

सर्वप्रथम म आफ्नो पोजिसन स्पष्ट गरुँ ।

व्यक्तिगतरुपमा म सरिता गिरीको फ्यान होइन । काठमाडौं बसाइको ३० वर्षमा ३ मिनेट पनि सरिता गिरीसँग भेटेर कुराकानी गरेको मलाई सम्झना छैन । हाम्रोबीच फोनमा कुराकानी भएको पनि म सम्झिन्नँ । सामाजिक सञ्जालमा उहाँ सक्रिय र म निस्क्रिय प्रयोगकर्ता रहेकाले त्यहाँ पनि खासै सम्वाद हुँदैन । सार्वजनिक जीवनमा चिनिएका दुई पात्रबीच सामान्य प्रकारको जस्तो सम्बन्ध हुन्छ, मेरो र सरिता गिरीबीच त्यस्तै सम्बन्ध छ । केही विषयमा हाम्रो धारणा समान देखिए पनि अनेकौं विषयमा मतभिन्नता रही आएको छ ।

उहाँले बेलाबेलामा सार्वजानिक गर्ने कतिपय धारणाहरु नबोलेको भए हुन्थ्यो जस्तो पनि लाग्छ । कुनै–कुनै विषयमा राख्ने धारणा गलत हुँदाहुँदै पनि अनावश्यक रुपमा सही सावित गर्न लागिपर्ने उहाँको जिद्दी बानी मलाई पटक्कै मन पर्दैन ।

ओशोको भनाइ, ‘कसैलाई सल्लाह दिनु अपमान गर्नु हो’ सम्झेर मैले उहाँलाई यसो गर्नु वा नगर्नु कहिल्यै भन्न चाहिनँ ।

पछिल्लो समय नेपालको नयाँ नक्सालाई लिएर चलेको राष्ट्रवादको बहसमा म सुरुदेखि निष्क्रिय रहेँ । त्यस बहसमा सरिता गिरीले ‘एन्टी करेन्ट’ कुरा गर्नुभएको रहेछ । त्यसक्रममा उहाँले सदनमा आफ्नो फरक धारणा मात्र राख्नुभएन, बरु सरकारी प्रस्तावमा संशोधन प्रस्ताव नै दर्ता गराउनुभयो । त्यस इपिसोडमा पार्टीको आधिकारिक लाइन नमानेका कारण उहाँमाथि कारबाही भएको सार्वजनिक भएको छ । कारबाही तपाईं दुवै जना नेताको प्रत्यक्ष अग्रसरतामा भएको छ ।

पार्टीको साधारण सदस्यता तथा सांसद पद पनि जाने गरी कुनै सांसदले उल्लङ्घन गरेको निर्देशन कस्तो थियो होला ? मलाई खुल्दुली जागेर आयो । सेलाइसकेको विषयलाई लिएर सांसदजस्तो गरिमामय पदमा पुगिसकेका ब्यक्ति विरुद्ध कारबाही गर्ने कस्तो व्यवस्थित र अनुशासित पार्टी होला ? मनमा खेल्ने प्रश्न यो पनि थियो ।

पार्टीभित्र अनुशासन हुनुपर्नेमा मेरो कुनै दुई मत छैन । नेतृत्वले निर्देशन दिने अधिकार राख्छ नै । राख्नु पनि पर्छ । नेतृत्वको निर्देशनलाई कार्यकर्ता पंक्तिले पालना पनि गर्नुपर्छ । तर, के नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्छ ?

प्रतिनिधिसभाको नियमअनुसार जसरी सरकारले प्रस्ताव दर्ता गराएको थियो, त्यतरी नै सरिता गिरीले पनि संशोधन दर्ता गराएको हुनुपर्छ । नियम थियो र त दर्ता भएको थियो होला । नियमानुसार वा सभामुखले आफनो अधिकार प्रयोग गरेर गिरीको प्रस्ताव खारेज गरेको पनि सुनियो । गिरीले संसदको बैठक बहिष्कार गरेकी थिइन् । तर, त्यस विषयलाई लिएर अहिले फेरि पार्टीभित्र जुन प्रकारले अनुशासनको कारबाही गरियो, यो अस्वाभाविक लागेको छ ।

यो यसकारण अस्वाभाविक लागेको छ कि यसअघि यस्ता प्रकारका वा यसभन्दा पनि गम्भीर प्रकारका अनुशासन उल्लङ्घन गर्ने कार्य तपाईंहरुको पार्टीमा नभएको होइन । तर, त्यसमा तपाईंहरुले कारबाहीको सट्टा पुरस्कृत गरेको प्रमाण छ ।

केही साता मात्र भएको छ । समाजवादी पार्टीका केही नेताहरु मिलेर विभाजनको षडयन्त्र गर्दै थिए । त्यस कार्यमा सहजताका लागि सरकारले अध्यादेश नै ल्याइसकेको थियो । त्यस षडयन्त्रमा लागेकाहरुको नाम नै सार्वजानिक भइसकेको छ । के ती माननीयहरुले पार्टीको अनुशासन उल्लङ्घन गरेका थिएनन् ? के ती सांसदहरुलाई अनुशासनको कारबाही गर्नुपर्दैन थियो ? के ती सांसदहरुलाई कारबाहीको सट्टा पुरस्कृत गरिएको होइन ?

विभाजनको खेलमा लागेकाहरु अधिकांशतः प्रत्यक्ष निर्वाचनबाट आएका थिए र संयोगले यादव समुदायका थिए । कुनै समानुपातिकतर्फको सांसदलाई कारवाही गरेर त्यसको ठाउँमा पार्टीले अर्को ब्यक्तिलाई पठाउने सजिलो कानुनी प्रावधान नभएको भए आज सरिता गिरीमाथि कारबाही हुन्थ्यो ? एकपटक आफ्नै छातीमाथि हात राखेर सोच्नुस् त ?

पार्टीका ह्वीप नमानेर संसद बहिष्कार गर्नेमा सरिता गिरी पहिलो ब्यक्ति होइनन् । तपाईं दुवैले आफूलाई बौद्धिक नेता मान्नुहुन्छ र तपाईं दुवैले आफूभन्दा बौद्धिक नेता मान्ने प्रदीप गिरीको प्रसंग बिर्सिनुभयो ? अहिलेको संविधान जारी हुँदा नेपाली कांग्रेसको ह्वीप नमानेर अन्तरआत्माको आवाज सुनेर प्रदीप गीरीले संसद बहिष्कार गरेका थिए । के नेपाली कांग्रेसले उहाँमाथि कारबाही गरेको थियो ? कि नेपाली कांग्रेसभन्दा पनि बढी संघर्ष गरेको अनुशासित पार्टी तपाईंहरुले बनाउन खोज्नुभएको हो ?

हाल प्रदेश नम्बर २ मा मन्त्री रहेका तपाईंहरुकै पार्टीका एक नेताले केही महिनापूर्व निजामति सेवाका एक सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका थिए । ती कर्मचारी स्वयंले रुँदै कराउँदै मन्त्रीमाथि आरोप लगाइराखेको भिडियो सार्वजनिक भएको थियो । के निजामति सेवाका राष्ट्रसेवकको बेइज्जती तपाईंहरुको पार्टी हितमा थियो ? कि पार्टीको आधिकारिक लाइन नै कर्मचारीलाई कुट्ने रहेको छ ? के ती मन्त्रीमाथि तपाईंहरुले कुनै कारबाही गर्नुभएको थियो ? भए जानकारी पाउँ ।

नियमअनुसार संसदभित्र आफ्नो कुरा राख्नु, फरक मत वा संशोधन दर्ता गराउनु वा आफ्नो अन्तरआत्माको आवाज सुनेर सार्वभौम संसदको सदस्यले बैठक बहिष्कार गर्नु यदि अनुशासनहीनता हो भने कर्मचारीमाथि हातपात गर्नु वा पार्टी विभाजनमा लाग्नु कसरी अनुशासनहीनता होइन ?

मलाई आज तपाईं दुवैजनालाई केही कुराको सम्झना दिलाउन पनि मन लागेको छ ।

सरिता गीरी नेपाली राजनीतिको कुनै नयाँ नाम होइन । आदरणीय उपेन्द्र यादवजीलाई भन्न चाहन्छु, आज तपाईं धेरै शक्तिशाली हुनुभएको छ । यसबारेमा मैले धेरै लेख्नुभन्दा तपाईंको पार्टीको संरचनाले नै प्रमाण दिइरहेको छ ।

कुनैबेला तपाईं आफैँ माओवादी पार्टीभित्र मधेशी मोर्चाको नेतृत्व पाउने आशामा उच्च नेतृत्वसँग नाराज हुनुहुन्थ्यो । संयोगले त्यसबेलाका उच्च नेतामा डा बाबुराम भट्टराई हुनुहुन्थ्यो । कुनैबेला तपाईं नेकपा एमालेको सुनसरी जिल्ला सदस्य हुँदा अशोक राई त्यस पार्टीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । तर, समयको फेर, आज तपाईंको नेतृत्वमा अशोक राई र डा बाबुराम भट्टराई दुवैजना समाहित भएका छन् । तपाईं ती पुराना दिनहरु सम्झेर रोमाञ्चित हुनु स्वाभाविक हो ।

तर, मेरो विनम्र आग्रह छ, एकपटक त्यसबेला अन्य दिनहरु पनि सम्झिनुहोस् जुनबेला नागरिकतासम्बन्धी एउटा सामान्य कार्यपत्र लेखेर तपाईं मधेशका विभिन्न जिल्लाहरुमा गोष्ठी गर्दै हिँडनुभएको थियो । तपाईंको सपना हुन्थ्यो कि गोष्ठीमा गजेन्द्रनारायण सिंह प्रमुख अतिथि बनिदिउन् । हो, त्यसबेला पनि सरिता गीरी गजेन्द्रनारायण सिंहको नेतृत्वको पार्टीको केन्द्रीय नेता थिइन् । तपाईंले आफ्नो शक्ति र सामथ्र्यले रामसहाय यादव वा विजय यादव त बनाउन सक्नुहुन्छ, आफ्नो निगाहले सिरहा र सप्तरीमा रेणु यादवहरुलाई स्थापित गराउन सक्नुहुन्छ, तर सरिता गिरी बनाउन सक्नुहुन्न ।

मधेशी समाजमा एक महिला सार्वजानिक जीवनमा स्थापित हुनुका लागि कति ठाऊँमा संघर्ष गर्नुपर्छ, कहिल्यै सोच्नुभएको छ ? घरभित्र, समाजमा र त्यसपछि सार्वजानिक जीवनमा, अनि पार्टीमा । सरिता गिरी एक दिनमा बनेको व्यक्तित्व होइन । उनले पार्टी फुटाउन षडयन्त्र गरेकी पनि होइनन् । यसअघि उनले तपाईंको पार्टीको कुनै निर्देशन उल्लंघन गरेको पनि हामीले सुनेका थिएनौँ । उनले कुनै निजामति कर्मचारीमाथि हातपात पनि गरेकी होइनन् । उनी कसैको दयाबाट पनि राजनीतिमा स्थापित भएकी होेइनन् । तपाईंले अघिल्ला दुईवटा संविधानसभामा दर्जनौं महिला र पुरुषलाई सांसद बनाउनुभयो । तर, कतिजना आज राजनीतिमा टिक्न सकेका छन् ? नक्सा विवादमा उहाँको विचारसँग असहमत हुँदैमा उहाँको संघर्ष वा ब्यक्तित्व सकिने हो र ? तपाईंले दिएको सांसद पद जाँदैमा उनको व्यक्तित्व समाप्त हुने हो र ?

डा. बाबुराम भट्टराईले पनि केही कुरा स्मरण गर्नु उचित हुनेछ ।

नक्सा प्रकरणको प्रारम्भदेखि तपाईंको सचिवालयका ब्यक्तिहरुले सरिता गिरीमाथि व्यक्तिगत आक्षेप लगाउने शैलीका ट्विटहरु गरेका थिए । तपाईंको प्रधानमन्त्रित्वकालका विवाद झिकेर सरिता गिरीसँग बदला साँध्ने काम गर्नुभएको हो भने तपाईं पनि पितृसत्तात्मक सोच र अहंकारको शिकार हुनुभएको हो ।

डा. साहेब, राजनीतिमा सबैको दिन सँधैभरि एक नासको रहँदैन । जसरी तपाईं नेपालको बाम आन्दोलनको एक स्वभाविक उत्पादन हो, त्यसरी नै सरिता गिरी (प्राविधिक रुपमा खस आर्य समुदायको रहे पनि) मधेश आन्दोलनको स्वाभाविक उत्पादन हो । घोर पितृसत्तात्मक र पराम्परावादी मधेशी समाजका राजनीति गर्न चाहने अनेकौँ महिलाका लागि उनी प्रेरणाको स्रोत रहिरहनेछिन् । तपाईं हामी सबैलाई थाहा छ, एउटा कारबाहीले राजनीतिमा कसको कसको बाटो छेक्न सकेको छ र ?

लेखक
तुलानारायण साह

मधेस मुद्दामा रुचि राख्दै अध्ययन अनुसन्धानमा क्रियाशील साह राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?