Comments Add Comment

पर्सामा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार

२४ असार, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका–८ मननपुरकी जैरुल नेसाको काखे बच्चा छ । श्रीमान वीरगञ्जमा अटो चलाउँछन् । कोरोना महामारीविरुद्ध ०७६ चैत ११ गतेबाट लकडाउन जारी भएपछि उनको आम्दानीको बाटो बन्द छ । अझैसम्म बजारमा अटो चलाउने वातावरण तयार भइसकेको छैन । घरमा उनको ४ वर्षको छोरा र १५ महिनाकी छोरी छन् । आम्दानीको ढोका बन्दभएपछि उनी समस्यामा थिए । तर, यही बेलामा राहत स्वरुप खाद्यान्न पाएपछि उनी दंग छिन् ।

‘वडाबाट एक पटक १० किलो चामलसहित केही राहत सामग्री पाएका थियौं, त्यसले धेरै दिन चलेन,’ उनले भनिन्, ‘जीवन निर्वाह गर्न निकै कठिनाइ भइरहेको थियो । आज पाएको राहत सामग्रीले केही दिनको गर्जो टर्छ ।’ कोरोना महामारीबाट बच्न मास्क, डिजिटल थर्मोमिटर समेत पाएको बताउँदै उनले त्यसको सदुपयोग गर्ने बताइन् ।

पकाहा मैनपुरकी कोशिला देवी रामको अवस्था झनै कठिन छ । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने उनको परिवारलाई लकडाउनले मर्नु न बाँच्नु बनाएको छ । ‘छोरो भारतमा काम गथ्र्यो, पैसा कमाउँथ्यो, अहिले घरमा आएर त्यसै बसेको छ,’ उनले भनिन्, ‘स–साना छोराछोरी छन्, सबैको हेरचाह गर्नेपर्‍यो,’ उनले भनिन्, ‘स्थानीय तहले वितरण गरेको राहत उहिल्यै सकिसक्यो । सुत्केरी बुहारीलाई दाल समेत खुवाउन सोच्नुपर्ने भएको छ ।’ दिव्य युवा क्लबले उपलब्ध गराएको राहत सामग्रीबाट केही दिन घरको समस्या हल हुने उनले बताइन् ।

कोरोना महामारीको कारणले गर्दा जनजीवन प्रभावित छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दीलाइ जारी राखेको छ । सर्वसाधरणले घरभित्रै बसेर सरकारको अभियानलाई साथ दिइरहेका छन् ।

दैनिक ज्यालादारी गर्ने मजदुर तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने वर्गहरु आर्थिक संकटको चपेटमा परेका छन् । विपद्को समयमा बढी मारमा पर्ने भनेको महिला तथा बालबालिका छन् ।
गर्भवती तथा सुत्केरील झनै मारमा छन् । एक त घरमा कामको बोझ बढीरहेको छ भने अर्कोतर्फ उनै महिलाहरुको लागि पौष्टिक आहारको कमी भइरहेको अवस्था छ ।

‘स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई लक्षित गरी राहत प्याकेज ल्याएको देखिएन,’ क्लबकी कार्यक्रम संयोजक कोपिला चौलागाईंले भनिन्, ‘संस्थाले सोही कुरालाई ध्यानमा राखेर यस्तो प्योकज ल्याएको हो ।’

बन्दाबन्दी प्रभावित अति विपन्न तथा ज्यालादारी गर्ने घरपरिवारका गर्भवती तथा सुत्केरीलाई कोरोना संक्रमणबाट बच्नको लागि सरसफाई सामग्रीहरु (कोभिड किट) तथा पौष्टिक आहार वितरण गरिएको उनी बताउँछिन् ।

पोखरिया नगरपालिका, विन्दबासिनी र पकाहामैनपुर गाउँपालिकाका ३ सय १४ जना सुत्केरी तथा १ सय ४३ जना गर्भवतीलाई कोभिड किट तथा पौष्टिक आहार वितरण गरेका उनले बताइन् । क्लव उपलब्ध गराएको कोभिड किट अन्र्तगत मास्क १५ थान, लुगा धुने साबुन २ थान, नुहाउने साबुन २ थान, सेनिटरी प्याड २ प्याकेट, डिजिटल थर्मोमिटर १ थान, तथा पौष्टिक आहारमा मसुरोको दाल २ केजी, गेडागुडी १ केजी, गहुँको पिठो ५ केजी तथा सर्वोत्तम लिटो १ प्याकेट रहेको छ ।

पोखरीया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले गर्भवती र सुत्केरी महिलालाई विशेष राहत दिनु सकारात्मक कदम भएको बताइन् । ‘ गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर राहत वितरण गर्नु एकदमै सराहनीय काम हो,’ खातुनले भनिन्, ‘पोखरिया नगरपालिकाको सबै वडाहरुमा राहत वितरण गरेका हौं, तर गर्भवती तथा सुत्केरी महिलालाई विशेष केही दिन सकेनौं । गैरसरकारी संस्थामार्फत नै भएपनि उनीहरुले राहत पाएका छन् । यो सकारात्मक काम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment