Comments Add Comment

लकडाउनको फुर्सदमा त्रिभुवन विमानस्थलमा थपिए संरचना

२५ असार, काठमाडौं । लकडाउनका कारण उडान–अवतरणको चाप कम भएर मिलेको फुर्सदमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माण, स्तरोन्नति तथा विस्तारले तिब्रता पाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउन अगाडि शुरु भएका केही परियोजनाको काम पूरा गर्न पर्याप्त समय लकडाउनले दिएको छ ।

लकडाउन शुरु हुनुभन्दाअघिको तुलनामा विमानस्थलको धावनमार्ग ३ सय मिटर लामो बनेको छ । जहाज पार्किङ वे दुईवटा थपिएका छन् । जहाज चढ्नु अगाडि जहाज कुर्ने डिर्पाचर हल विस्तार भई नयाँ भवनमा सरेको छ ।

एकसाथ ५ वाइडबडी जहाज पार्किङ गर्न सकिने

त्रिभुवन विमानस्थलमा तीन वटा वाइडबडी जहाज पार्किङ गर्न सकिने क्षमता थियो । दुई वर्ष अगाडि नेपाल एयरलाइन्सले वाइडबडी जहाज खरीद गरी सञ्चालनमा ल्याएपछि दुईवटा वाइडबडी जहाज पार्किङ गर्न सकिने गरी एप्रोन निर्माणको काम अगाडि बढेको थियो ।

लकडाउन अगाडि ८० प्रतिशत काम सम्पन्न भएको यस आयोजनाको २० प्रतिशत काम यसअवधिमा सकिएको छ । मन्त्रालयका प्रवत्ता रुद्रसिंह तामाङका अनुसार अब एकसाथ ५ वटा वाइडबडी जहाज पार्किङ गर्न सकिने भएको छ । यसले उडान खुलेपछि पार्किङको अभावले आकासमा हुने ट्राफिक चाप कम गराउने छ ।

तीन सय मिटर थप भयो धावन मार्ग

३ हजार ५० मिटर लामो धावन मार्ग रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब ३ सय मिटर लामो धावन मार्ग थप भएको छ । यो धावन मार्गले भने विमानस्थलमा हवाई सुरक्षा अभिवृद्धि गर्नेछ । दुई वर्ष अगाडी मलेसिया उडानका क्रममा मालिन्दो एयरको जहाज टेकअफ लिने क्रममै धावनमार्गबाट चिप्लिएको थियो ।

चिप्लिएर घाँसे मैदानमा पुगेको उक्त जहाज निकालेर उडान सुचारु गर्न २४ घण्टा भन्दा बढी समय लागेको थियो । थपिएको धावनमार्गले यस्तै आपतकालीन समयमा सुरक्षा अभिवृद्धि गर्न काम लाग्ने विमानस्थल कार्यालयको भनाइ छ ।

यो धावनमार्ग पनि दक्षिण साइडमै थप भएको छ । लकडाउन अगाडी ८० प्रतिशत कार्य प्रगति रहेको यो आयोजनाको काम पनि लकडाउनकै बीचमा पुरा भएको विमानस्थलको विवरणमा उल्लेख छ ।

प्रस्थानमा नयाँ हल

विगतमा पानी चुहिनेदेखि साँघुरो संरचनाका कारण यात्रुको आलोचना भोगिरहेको प्रस्थानतर्फको टर्मिनल भवनमा अब नयाँ स्टेरलाइज हल निर्माण भई सञ्चालनमा ल्याइएको छ । यस हलको क्षमता साविकको तुलनामा केही बढी रहेको विमानस्थल कार्यालयको भनाई छ ।

नयाँ हल निर्माणको काम समेत केही वर्ष अगाडिबाटै निर्माण शुरु भएको थियो । त्यसलाई लकडाउनको फुर्सदमा संचालनयोग्य बनाइएको छ । अहिले विदेश प्रस्थान गर्नु अगाडि जहाज कुर्न प्रयोग हुने हलबाटै सेवा दिइएको छ ।

सामाजिक दूरी र सुरक्षाका लागि मार्किङ

विमानस्थलमा लकडाउनकै अवधिमा सामाजिक दूरी काय गर्न मार्किङको काम भएको छ । यस्तो मार्किङ प्रस्थान र आगमन दुबै तर्फ गरिएको छ । आन्तरिक टर्मिनलमा समेत यसको तयारी पुरा भएको छ ।

व्यवसायिक उडान–अवतरण प्रारम्भ भएपछि यही मार्किङलाई यात्रु तथा अन्य सरोकारवालाले पच्छ्याउनुपर्छ । उडान सुरक्षामा कुनै सम्झौता हुन नदिन यस अवधिमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट १३ वटा रिफ्रेन्स गाइड र १० वटा एडभाइजरी जारी गरिएको प्राधिकरणको भनाइ छ ।

थप भौतिक संरचना निर्माणको तयारी

विमानस्थलको धावनमार्ग र ट्याक्सीवे पुनर्निर्माणको काम यसैवर्ष सकिएको छ । थप ट्याक्सीवे निर्माणका लागि एसियाली विकास बैंकसँग सम्झौताको तयारी भइरहेको विमानस्थल कार्यालयको प्रगति विवरणमा उल्लेख छ ।

अन्तराष्ट्रिय टर्मीनलको आगमन कक्ष निर्माण भएको र यसको समेत प्राविधिक काम पुरा भएपछि संचालनमा ल्याउने तयारी छ । प्रस्थान कक्षमा टिकेटिङका लागि एक्सरे र ब्याजेग ल्याण्डिलिङ व्यागेज समेत जडान गरिएको छ । उत्तरतर्फ पार्किङ क्षेत्र विस्तार गर्न ठेक्का लगाउने कामसमेत पूरा भएको विमानस्थलको भनाइ छ ।

एक सय जना कामदारलाई निरन्तर रोजगारी

लकडाउनकै बीचमा विभिन्न काममा १ सय कामदारले निरन्तर काम पाएका छन् । विमानस्थल कार्यालयको विवरणअनुसार यसमध्ये एप्रोन निर्माणमा ४० जना कामदार खटिएका थिए । बुटिक विमानस्थल निर्माणका विभिन्न काममा भने ६० जना कामदारले काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment