
२५ असार, काठमाडौं । भारतको उज्जैनबाट उत्तर प्रदेशका कुख्यात गुण्डानाइके विकास दुबे पक्राउ परेका छन् । गत साता आठ प्रहरीको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी महाकालको दर्शनका लागि उज्जैन गएका थिए, त्यहाँको सुरक्षा गार्डले उनलाई चिनेका थिए । त्यसपछि तत्काल प्रहरी एक्सनमा आएर उनलाई पक्राउ गरिएको बताइएको छ ।
प्रहरीलाई पनि दुबे महाकाल मन्दिरमा दर्शन गर्न गएको समाचार प्राप्त भएको थियो । उत्तर प्रदेशले विकास दुबेलाई बाहिर जान नदिन सीमा क्षेत्रमा कडाइ गरिएको बताए पनि दुबे मध्य प्रदेशको उज्जैनसम्म पुगेका हुन् ।
दुबेको गिरफ्तारीको विषयमा विस्तृत जानकारी नदिइएको भए पनि मध्य प्रदेशको प्रहरीले उनको पक्राउको पुष्टि गरेको छ ।
गत मंगलबार दुबे हरियाणको फरिदाबादको एक होटलमा देखिएका थिए । त्यहाँबाट भागेर उनी मध्यप्रदेश पुगेका हुन् । यसैबीच बिहीबार नै कानपुर र इटावामा गरी दुई इन्काउन्टर भएको छ । प्रहरीसँगको यी दुई इन्काउन्टरमा दुबेका दुई सहयोगी पनि मारिएका छन् ।
स्रोत :एनडीटीभी
प्रतिक्रिया 4