Comments Add Comment

२२ वर्षदेखि सञ्चालनमा रहेको विराटनगरको होटल जेनियल बन्द

२५ असार, विराटनगर । विराटनगरको पहिलो ठूलो लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको छ । २०५५ सालदेखि सञ्चालनमा रहेको जेनियल कोरोना महामारीका कारण बन्द भएको हो ।

लकडाउनका कारण व्यवसाय बन्द भएपछि असार ११ देखि होटल बन्द गर्ने निर्णय भएको होटल सञ्चालक हरिभक्त सिटौलाले बताए ।

चीनको वुहानमा कोरोनाको संक्रमण फैलिएपछि होटलमा मन्दी सुरु भएको थियो । तर चैत ११ देखि सुरु भएको लकडाउनका कारण खर्च धान्न सक्ने अवस्था नभएपछि होटल बन्द गरेको उनले बताए । ‘ कोरोना महामारीको असरले गर्दा होटल बन्द गर्‍यौं,’ उनले भने, ‘कार्यरत कर्मचारीलाई पनि बिदा गरिसक्यौं ।’

होटलको रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्र छन् । कोरोना महामारीपछि पनि पर्यटन क्षेत्रमा सुधार आउन समय लाग्ने भएकाले तत्काल होटल चलाउन सक्ने अवस्था नरहेको उनले बताए । ‘कोरोना महामारी कहिले नियन्त्रणमा आउला हेरौं,’ उनले भने, ‘होटल फेरी सञ्चालन गर्न गाह्रो पर्छ होला ।’

श्रम कार्यालय र ट्रेड युनियनका प्रतिनिधि राखेर कामदारले पाउने उपदान, सुविधासहित नियमअनुसार कर्मचारीलाई बिदा दिएको उनले बताए ।

२०५५ साल पुस ५ गतेदेखि होटल जेनियल सञ्चालनमा आएको थियो । विराटनगरमा ठूलो लगानीमा सञ्चालित पहिलो होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ वटा मिटिङ हल, एउटा स्वीमिङ पुल र दुईवटा रेस्टुरेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment