Comments Add Comment

कोरोना महामारीले पर्सामा भाथा मेला प्रभावित

२५ असार, वीरगञ्ज । कोरोना भाइरसको महामारीले गर्दा पर्साको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरीभाथामा लाग्ने ‘साउने मेला’ प्रभावित हुने भएको छ । विशेष गरी साउनमा दुग्धेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) मा ठूलो मेला लाग्ने गर्दछ ।

विगतका वर्षमा साउन सुरु भएसँगै भाथामा मेला सुरु हुने गरेको थियो । नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतबाट समेत हजारौंको संख्यामा भक्तजन काँवर बोकेर जल चढाउन आइपुग्थे । साउने सोमबार भाथा धाममा ज्यादै भिड लाग्ने गरेको थियो । यसवर्ष तिथि अनुसार साउन सुरु भइसकेको छ । श्रावन कृष्ण चतुर्थी लागि सक्दा समेत भाथा क्षेत्र सुनसान छ ।

पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले भाथा मेला व्यवस्थापन समितिका ११ जना पदाधिकारीलाई मात्रै गएर मन्दिरमा नियमित पूजाअर्चनाका लागि अनुमति दिएको छ । राष्ट्रिय निकुञ्जको कोर एरियामा पर्ने भाथा परिसरमा दुग्धेश्वरनाथ महादेव, महादेव पावर्ती, गणेश, दुर्गा माता, भैरव बाबा लगायतका मूर्ति छन् । मेला नचल्ने भएपछि समितिका ६ जनाले गएर दैनिक पूजाअर्चना गर्दै आइरहेका छन् ।

समितिका अध्यक्ष अलखदेव महतोले मेला चल्न नसकेपनि बाबाको पूजालाई कसै गरी पनि निरन्तरता दिनुपर्छ भनेर दिनहुँ पूजा गर्ने गरेको बताए । ‘

‘विगतका वर्षमा साउनभरी पूजा हुने गरेको हो । यसवर्ष कोरोना भाइरसको महामारीले गर्दा रोक लागेका छ,’ उनले भने, ‘भाइरसको संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने नीति हामीले पनि लिएका छौं ।’

मेला लगाउने वा नलगाउने विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा, पर्सा राष्ट्रिय निकुञ्ज र भाथा मेला व्यवस्थापन समितिबीच छलफल समेत भएको थियो । विगतका वर्षमा पनि जङ्गलभित्र मेला लगाउने वा नलगाउने भन्ने विषयमा लामै बहस चल्ने गरेको थियो । पानीको समेत सुविधा भएको मुख्य बासस्थान क्षेत्र भएकोले बाजा गाजासहित मानिसहरुको भिड जम्मा हुँदा वन्यजन्तु पलायन हुने तर्क निकुञ्जले राख्दै आएको छ । मेला समिति र स्थानीयले भने परम्परादेखि चल्दै आएको मेलाले निरन्तरता पाउनुपर्ने अडान राख्ने गरेका छन् ।

यो पनि पढ्नुहोस रामभौरी भाथा मेलाबारे विवाद कायमै

भाथा धाममा वैशाख त्रयोदशीको दिन वर्षेनी मेला लाग्ने गर्छ । साउन र वैशाखको मेला भर्न जाने क्रममा भक्तालुहरुलाई जङ्गली जनावरले आक्रमण समेत गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस निकुञ्जभित्र भाथा मेला, जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

कोरोना भाइरसको महामारीका कारण यसवर्ष साउनको मेला नलगाउने नीति लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख वन संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिए ।

‘भाथा मेला व्यवस्थापन समितिसँग छलफल भयो, उनीहरु जिल्ला प्रशासन पर्सा पनि गएका थिए,’ उनले भने, ‘कोरोना महामारीका कारणभित्र मानिस जान मिल्दैन, भिडभाड गर्न मिल्दैन भनेका छौं ।’

अधिकृत महर्जनले भने, ‘अहिलेको अवस्थामा अरु भक्तजनहरुलाई जान दिन सकिदैन, भाइरस फैलन सक्ने डर हुन्छ, समितिको ११ जना मानिस पूजा आजा गर्नका लागि जानुस् भनेका छौं ।’

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले सरकारले मेला, सभा, सम्मेलन नगर्न भनेकोले त्यस किसिमको कुनैपनि भेला गर्न रोक लगाइएको जानकारी दिए ।

पर्सा राष्ट्रिय निकुञ्ज भित्र भाथा धाम पर्छ । २०४० सालमा स्थापना भएको पर्सा वन्यजन्तु आरक्षलाई नै पछि निकुञ्जमा परिणत गरिएको हो । जसको क्षेत्रफल ६ सय २७ वर्ष किमी छ । प्रदेश २ को पर्सा, बारा र बगामती प्रदेशको चितवन, मकवानपुरसम्म पर्सा राष्ट्रिय निकुन्ज फैलिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टि रहेको निकुञ्जमा ५०० देखि ९५० मिटरसम्म अग्ला चुरे पर्वतहरु छन् । भावर प्रदेश भएको कारण भौगोलिक बनौट छुट्टै प्रकारको छ । नदीनाला सुख्खा देखिन्छन् भने सतह मुनिबाट पानी बग्दछ । चुरेको उच्च भागमा सल्लाका रूखहरू पाइए तापनि ९० प्रतिशत भूमि सालको जङ्गलले ढाकेको छ । राप्ती नदीको छेउछाउमा सिसौ र खयरका रूखहरू पाइन्छन् ।

केही दशक अगाडिसम्म यो क्षेत्र ‘चारकोशे झाडी’ का नामले प्रसिद्ध थियो । प्रमुख शिकार स्थलको रूपमा प्रयोगमा ल्याइन्थ्यो । जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि निकुञ्ज क्षेत्र भित्र पाइन्छ । निकुञ्जभित्रको रामभौरी भाथा बस्ती स्थानान्तरण भएपछि त्यस क्षेत्रमा गैंडाको विचरण देखिन थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् । बस्ती सारिएकै ठाउँमा राभौरी भाथा मेला लाग्ने गरिएको छ । बस्ती सारिएपनि दुग्धेश्वर नाथ महादेवको मन्दिर त्यहीँ छ । मकवानपुर तर्फ पनि रमौली र प्रतापपुर बस्ती स्थानान्तरण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment