
२५ असार, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा हुने गरेका प्रदर्शनको काउन्टरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी र युवाले बुटवलमा प्रदेश पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
पार्टी केन्द्रमा दुई पक्षबीच विवाद चर्किँदै गएर विभाजनको खरता बढेको भन्दै एकताको लागि नेतृत्वलाई दबाब दिन अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले बुटवलस्थित प्रदेश कार्यालयमा बिहीबार धर्ना दिएका हुन् ।
‘ब्यक्ति होइन नीति, ब्यक्ति होइन पार्टी’, ‘विधि पद्धति लागू गरौं, पार्टी एकता कायम गरौं’लगायतका नारा लेखेका प्ले कार्डसहित युवा र विद्यार्थीले धर्ना दिएका हुन् ।
युवा-विद्यार्थीहरुले प्रदेश ५ का पार्टी कार्यालय सदस्य नन्दीकिशोर ढकाललाई पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् ।
प्रधानमन्त्री केपी ओलीले अघिल्लो साता आफू निकट अनेरास्ववियू र युवा संघको नेतृत्वलाई बालुवाटार बोलाएर आˆनो समर्थनमा सडकमा प्रदर्शन गर्न उक्साएपछि भएका त्यस्ता प्रदर्शनले पार्टी एकतालाई कमजोर बनाउने र विभाजनलाई मलजल गर्ने भएकाले त्यसको विरुद्धमा र एकताको पक्षमा आफूहरुले धर्ना दिएको विद्यार्थी नेताहरुको दाबी छ ।
सडकमा गरिएका प्रदर्शन पार्टीको विधि पद्धतिविपरीत र व्यक्तिवादी भएको भन्दै रोकिनु पर्ने उनीहरुको माग छ ।
धर्ना कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य अमित खड्का, अनुप पोखरेल, लक्ष्मी केसी, रुपेश पौडेल, रुपन्देही जिल्ला सहसंयोजक विष्णु थापा खत्रीलगायत सहभागी थिए ।
त्यस्तै युवा नेताहरु राजु गुरुङ, सरिता श्रीस, जितेन्द्र पुनलागयत पनि सहभागी थिए । कार्यक्रममा ओली पक्षधर विद्यार्थी-युवा नेताहरु उपस्थित थिएनन् ।
प्रतिक्रिया 4