Comments Add Comment

काठमाडौं उपत्यकामा बढ्दो स्थानीय संक्रमण

२५ असार, काठमाडौं । पछिल्लो १० दिन (असार १५ देखि २४ गतेसम्म) उपत्यकामा २६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये १६७ जना उपत्यकामा बसोबास गर्दै आएका हुन् । बाँकी १२० जना विदेशबाट उद्धार गरिएका तथा उपचारको सिलसिलामा बाहिरी जिल्लाबाट आएका हुन् । उनीहरुमध्ये १२ जनाको त ठेगानासमेत खुलेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीडी) अनुसार उपत्यकाका १६७ स्थानीय संक्रमितमध्ये १०३ जना काठमाडौं, ५२ जना ललितपुर र १३ जना भक्तपुरका हुन् । यो पछिल्लो १० दिनको मात्र तथ्यांक हो ।

अहिलेसम्मको तथ्यांक हेर्ने हो भने योभन्दा बढी स्थानीयमा संक्रमण भेटिएको छ । जस्तो, भक्तपुरमा गएको १० दिनमा १३ वटा मात्र स्थानिय संक्रमण भेटियो । तर, हालसम्म भेटिएका सबै संक्रमितको संख्या ४५ हो । उनीहरु मध्ये ३० जना भक्तपुरका स्थानीय वा त्यहाँ बसोबास गर्दै आएकाहरु छन् ।

सरकारले समुदायमा गएर नखोज्दै धेरै स्थानीय संक्रमित भेटिनु खतराकाे संकेत हाे – डा. वासुदेव पाण्डे, ईडीसीडी, निर्देशक

ईडीसीडीका अनुसार १६७ स्थानिय संक्रमितको सामान्य ट्राभल हिस्ट्री भएपनि उपत्यका बाहिर गएको रेकर्ड छैन । संक्रमितको सम्पर्कमा पनि पुगेको भेटिएको छैन ।

र, अधिकाशंको संक्रमण स्रोत पनि भेटिएको छैन ।

तर कन्ट्याक ट्रेसिङको नेतृत्व गरिरहेको ईडीसीडीका एक अधिकारी भने अहिले प्रारम्भिक कन्ट्याक ट्रेसिङको काम भइरहेकाले संक्रमणको स्रोत नभेटिएको दाबी गर्छन् । तीन चरणको कन्ट्याक ट्रेसिङ पार गर्दा संक्रमण स्रोत भेटिने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा संक्रमितको प्रारम्भिक विवरण संकलन गर्ने र उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकालाई खोजिन्छ । र, उनीहरुको जाँच गर्दा अधिकांशको संक्रमण स्रोत पत्ता लाग्ने उनको दाबी छ ।

तर, उपत्यकामा भेटिएका अधिकांशको अहिलेसम्म संक्रमण स्रोत भने भेटिएको छैन । त्यसोभए कहाँबाट कसरी सर्‍यो त यति धेरै स्थानीयमा संक्रमण ?

ईडीसीडीका अनुसार उपचारका लागि अस्पताल पुगेकाहरुको परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । जस्तो, असार १५ गते संक्रमण पुष्टि भएका ललितपुरमा साढे दुई वर्षका बालक ट्युमरको शल्यक्रियाका लागि मेडसिटी अस्पताल पुगेका थिए । शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।

कतिपय आफैं टेष्टका लागि पुगेका हुन् भने केही केस स्थानिय कन्ट्याक ट्रेसिङबाट भेटिएको छ ।

जस्तो, १७ असारमा अल्का अस्पतालमा कार्यरत २ कर्मचारीलाई संक्रमण पुष्टि भयाे । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप केही संक्रमित भेटिए ।

तर, सरकारले समुदाय स्तरमा गएर टेष्ट गरेको छैन । बल्ल केही स्थानमा स्वाब संकलन गरिएको छ । सरकारले समुदायमा गएर नखोज्दै यति धेरै स्थानीय संक्रमित भेटिनु खतरा संकेत भएको ईडीसीडीको निर्देशक डाक्टर वासुदेव पाण्डे बताउँछन् ।

यो पनि पढ्नुहोस भक्तपुरमा कोरोना : संक्रमित दिनहुँ भेटिन्छन्, स्रोत भेटिँदैन

संक्रमित भेटिएका ठाउँहरु

अहिलेसम्म उपत्यकाको ७० भन्दाबढी ठाउँमा कोरोना संक्रमित भेटिएका छन् । तर, पछिल्लो दुई सातामा कम ठाउँमा संक्रमण भेटिएको छ, तर एउटा स्थानमा दोहोरिने क्रम बढ्दो छ ।

प्राप्त तथ्यांकअनुसार भक्तपुरमा चाँगुनारायण नगरापालिकाका केही ठाउँमा संक्रमण भेटिएको छ । सूर्यविनायक नगरपालिका र भक्तपुर क्यान्सर अस्पतालमा पनि २ जनाभन्दा बढी संक्रमित भेटिएका छन् । भक्तपुरको व्यासी, चागुनारायण, कमल विनायक, गठ्ठाघर, कौशलटार, बालकोट, बोडे, भोलाछे, बागेश्वरी, सुर्यमढी र नयाँ ठिमी लगायतका ठाउँमा संक्रमण भेटिइरहेको छ ।

त्यस्तै ललितपुरको ठैब, लुभु, बुङमती, महालक्ष्मीस्थान, हरिसिद्धी, गोदावरी, सुनाकोठी, धापाखेल, सानेपा र खुसिबुमा पछिल्लो एक सातामा संक्रमण देखिएको छ । यसबाहेक भैंसेपाटी, टीकाथली, नख्खिपोट, थसिखेल, हात्तिवन र चापागाउँमा संक्रमण एकभन्दा बढी संक्रमित भेटिएका छन् ।

पछिल्लो साता काठमाडौंमा भेटिएका अधिकांश संक्रमितहरु चन्द्रागिरि, कपन, शंखमूल, कीर्तिपुर, नयाँ बानेश्वर, शंखमूल, मैतिदेवी र पुरानो बानेश्वरका छन् । यसबाहेक साँखु, बौद्ध, बागबजार, मरुहिटी, बालुवाटार, महाराजगञ्ज, कागेश्वरी, टोखा, कपुरधारा, कलंकी, तारकेश्वर, सीतापाइला, धापासी, गोकर्ण लगायतका ठाउँमा पनि संक्रमण भेटिइसकेको छ ।

यो पनि पढ्नुहोस काठमाडौं उपत्यकामा कोरोना ‘लोकल ट्रान्समिसन’को झिल्को

स्थानीयमा संक्रमण भेटियो, अब के गर्ने ?

ट्राभल हिस्ट्री नभएका स्थानीयमा कोरोना संक्रमण भेटिनु जनस्वास्थ्यको हिसाबले राम्रो होइन । यस्तै केस विभिन्न ठाउँमा दोहोरिएपछि खतरा बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्य विज्ञहरुको सल्लाह अनुसार समुदायमा गएर संक्रमण खोज्न थालिएको ईडीसीडीका प्रमुख डा. पाण्डे बताउँछन् ।

उनका अनुसार उपत्यकामा संक्रमण पत्ता लगाउन पाँच दिनभित्र पाँच हजारको पीसीआर विधिबाट परीक्षण गर्ने तयारी छ । त्यसका लागि स्वाब संकलन सुरु भएको छ ।

बिहीबार कलंकीस्थित मालपोत कार्यालय, सहिद मेमोरियल अस्पताल, कृषि विकास बैंक, टेकुस्थित वाणिज्य बैंक, नेसनल किड्नी सेन्टर बालाजु, यातायात कार्यालय स्वयम्भू, नेपाल इन्भेष्टमेन्ट बैंक गोंगबु, नेपाल एसबीआई बैंक गोंगबु, मालपोत कार्यालय जगाती, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, क्यान्सर अस्पताल भक्तपुर, यातायात कार्यालय जगाती, चाबहिलस्थित मालपोत कार्यालय, सनराइज बैंक, ओम अस्पताल, हेल्पिङ्ग हेन्ड अस्पताल र मेडिकेयर अस्पतालका सेवा प्रदायक कर्मचारी र सेवाग्राहीको स्वाब संकलन भएको छ । अन्य स्थानमा पनि स्वाब संकलन गर्ने योजना छ ।

यो पनि पढ्नुहोस नेपालमा भेटिएको कोरोना भाइरसबारे अध्ययन सुरु

‘स्थानीयमा संक्रमण भेटिन थालेपछि हामीले समुदायमा संक्रमण खोज्ने र कन्ट्याक ट्रेसिङ गर्ने काम सुरु गरिसकेका छौं’ डाक्टर पाण्डे भन्छन्, ‘अब सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सरसफाइमा ध्यान दिने काम पब्लिकको हो ।’

तर, जनस्वास्थ्य विज्ञहरुले भने अझै पनि कन्ट्याक ट्रेसिङ चित्तबुझ्दो नभएको बताउँछन् । यसरी महामारी नियन्त्रण गर्न गाह्रो हुने संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । ईडीसीडीका प्रमुख डाक्टर वासुदेव पाण्डेले भने स्रोत साधनको कमीले गर्दा कन्ट्याक ट्रेसिङ गर्न नसकेको बताउँछन् । उनले भनेका छन्, ‘हामीले कन्ट्याक ट्रेसिङ गर्दै नगरेको होइन ।’

यो पनि पढ्नुहोस ‘उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment