Comments Add Comment

पूर्वपरराष्ट्र मन्त्रीहरू भन्छन्- देखिने गरी विदेशी हस्तक्षेप बढ्यो

२६ असार, काठमाडौं । पार्टीभित्र सत्तासंघर्ष चलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकपछि अर्का नेतालाई भेट्ने क्रमलाई तीव्रता दिएकी छन् । यो भेटलाई नेताहरूले आफू अनुकूल व्याख्या गर्ने गरेका छन् ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले यान्छीको भेटघाटसम्बन्धी टिप्पणी गर्नेहरूलाई लक्षित गरेर लेखेका छन्, ‘कुनै देशको राजदूतले नेताहरूलाई भेट्नासाथ आकाशै खस्न लागे जसरी प्रचारमा उत्रिनु आफैँमा कमजोर मानसिकताको उपज हो ।’

नेकपा भातृ संगठन राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेपको विरोध गरेका छन् । उनी लेख्छन्, ‘भारतीय राजदूतले गर्ने नेताको घरदैलो जति मन पर्दैन, उति नै चिनियाँ राजदूतले गर्ने घरदैलो पनि मन पर्दैन । हाम्रो आन्तरिक मामलामा चासो नदिएकै जाति ।’

यान्छीको दौडधुपबारे नेकपा नेताहरूबीच नै फरक मत रहे पनि पूर्वपरराष्ट्र मन्त्रीहरूको भने यो विषयमा लगभग एक मत देखिन्छ । पूर्वपरराष्ट्र मन्त्रीहरू भेषबहादुर थापा, नारायणकाजी श्रेष्ठ, प्रकाशचन्द्र लोहनी र प्रकाशशरण महतले आन्तरिक मामिलामा विदेशी हस्तक्षेप अस्वीकार्य रहेको धारणा राखेका छन् ।

विदेशी राजदूतसँग भेट्दा कूटनीतिक आचारसंहिता २०६८ को पालना गर्नुपर्नेमा पूर्वपरराष्ट्रमन्त्रीहरूको एक मत छ । कूटनीतिक आचारसंहितामा सार्वजनिक पदधारण गरेका र राज्यकोषबाट पारिश्रमिक वा सुविधा पाउने पदाधिकारीहरूले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसंँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्ने व्यवस्था छ ।

‘विशेष कारणवश परराष्ट्र मन्त्रालय वा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गर्न नसकिएमा कुराकानीको सङ्क्षिप्त टिपोट, महत्वपूर्ण अंश नछुटाई परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायमा पठाउनुपर्नेछ’ आचार संहितामा भनिएको छ, ‘यसैगरी परराष्ट्र मन्त्रालयको पदाधिकारीले गरेका भेटघाट, सम्पर्क, वार्तालगायतका कार्यहरूको सङ्क्षिप्त टिपोट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्नेछ ।’

राजदूत यान्छीको भेटबारे पूर्वपरराष्ट्र मन्त्रीहरूको धारणा :

भेषबहादुर थापा, पूर्वपरराष्ट्रमन्त्री

व्यक्तिगत रूपमा कसैलाई आरोपित गर्न चाहन्नँ । तर समय र सन्दर्भ हेर्दा चीनको चासो बढेको देखाउँछ । नेपाल सरकारले जारी गरेको कूटनीतिक आचारसंहिता अक्षरशः पालना हुनुपर्छ । यो आचार संहिता पालना सबैको हितमा छ ।

नारायणकाजी श्रेष्ठ, पूर्वपरराष्ट्रमन्त्री

नेपालको आन्तरिक राजनीतिका आयाम र अवयवहरूलाई आज पनि यो वा त्यो वैदेशिक शक्तिले निर्देशित गर्छ भने सबैखालको षड्यन्त्रका सिद्धान्तलाई हामी अस्वीकार गर्छौं’ प्रवक्ता श्रेष्ठले टि्वटरमा लेखेका छन्, ‘एउटा सार्वभौम राष्ट्रका रूपमा हामी आफैँ निर्णय लिन सक्षम छौं । हाम्रो मामिलामा हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्ति अस्वीकार्य छ ।

प्रकाशशरण महत, पूर्वपरराष्ट्रमन्त्री

आन्तरिक मामिलाका लागि विदेशीसँग छलफल स्वस्थ्यकर अभ्यास होइन । दुई देशको हितका लागि छलफल गर्न नसकिने भने होइन । तर त्यसका लागि परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्छ । चीनमात्रै होइन जुनसुकै देशका राजदुतहरू नेपालका पार्टी फुटाउन वा जुटाउन सक्रिय हुनुहुँदैन । यस्तो गर्नु द्विपक्षीय हितको विरुद्ध छ ।

प्रकाशचन्द्र लोहनी, पूर्वपरराष्ट्रमन्त्री

सामान्य समयमा भेट्नु आपत्तिको कुरा होइन । हामी मन्त्री भएका बेलामा पनि भेट्थ्यौं । तर अहिलेको भेट सिधै आन्तरिक राजनीतिक मुद्धाका लागि देखियो । पार्टी कलहको सन्दर्भमा भेटघाट गरेको देखियो । चाहे दक्षिण होस् वा उत्तर, यसरी भेट्नु नेपालको हितमा छैन । यस्तो भेटघाट आन्तरिक राजनीतिमा देखिने किसिमको हस्तक्षेप बढेको प्रमाण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment